वडास्तरीय समस्याका विषयमा जानकारी लिन प्रमुख शाह निरीक्षणमा 

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वडा स्तरीय निरीक्षण अवलोकनलाई निरन्तरता दिनुभएको छ । यस क्रममा आज वडा १ का विभिन्न स्थानमा पुग्नुभयो । 

भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी हुनुहुन्थ्यो । 

कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर (नन्दीकेश बगैँचा) नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो । 

त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो । भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । यसैगरी वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुननिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको थियो । 

अवलोकनका क्रममा प्रमुख शाहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताउनुभयो । 

वडाध्यक्ष श्रेष्ठले, सरसफाइका लागि वडासँग पुग्नेजति जनशक्ति नभएको बताउँदै यसमा महानगरले सहयोग गर्नुपर्ने बताउनुभयो ।  

तस्विर : विनय शाक्य 

सम्बन्धित समाचार

Facebook Comments