महानगर कसैलाई हराउने खेलमा छैन — प्रमुख शाह 

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर कसैलाई हराउने खेलमा नलागेको बताउनु भएको छ । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले झेलेका दुःखको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।’ आज स्यानिटरी ल्याण्डफिल साइडमा फोहोर ढुवानी र अन्तिम व्यवस्थापनका विषयमा जानकारी दिँदै प्रमुख शाह भन्नुहुन्छ, ‘२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो । केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास भयो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’

अहिलेसम्म भोगेका र देखिएका समस्या सतही मात्र भएको उल्लेख गर्दै प्रमुख शाहले गहिरा कारण अरुपनि भएको उल्लेख गर्नुभएको छ । ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ? सुरक्षाकर्मीलाई स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ प्रमुृख शाहको प्रश्न छ । 

‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहो¥याएर अपराध गर्ने छैनौँ ।’ प्रमुख शाह आफ्नो प्रतिवद्धता व्यक्त गर्दै भन्नुहुन्छ, ‘यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’ 

सम्बन्धित समाचार

Facebook Comments