स्वीकृत प्रयोजनविपरीतका बेसमेन्ट पार्किङ्का लागि खुल्ला गराउँदै महानगर

काठमाडौँ । आफू बस्ने सहरको व्यवस्थापनमा जिम्मेवार बन्नका लागि काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अनुरोध गर्नुभएको छ । पार्किङ् प्रयोजन देखाएर महानगरबाट स्वीकृत भएका भवनको वेसमेन्ट, सेमी बेसमेन्ट र तमिन तला अर्कै कामका लागि सञ्चालन भएको विषय सुधारका लागि उहाँले यस्तो अनुरोध गर्नुभएको हो । 

‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आफैँ सुधारको संकेत नदेखिएपछि हामीले बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेका छौँ । यो सहरका सबै ठाउँमा पुग्नेछ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘कारबाहीमाभन्दा पनि तपाईँको महानगरप्रतिको जिम्मेवारीमा हाम्रो विश्वाश छ । त्यसैले पार्किङ्का लागि छुट््याइएको ठाउँमा पार्किङ् नै गरिदिनुहोला । यसबाट हामीलाई पार्किङ् समस्याको वास्तविकता पहिचान हुनेछ । सडकमा पार्किङ् गर्नुपर्ने वाध्यता कम हुनेछ । त्यस्तै हामीलाई पार्किङ् व्यवस्थापन योजना बनाउन सहयोग पुग्नेछ ।’

कारबाहीमाभन्दा पनि तपाईँको महानगरप्रतिको जिम्मेवारीमा हाम्रो विश्वाश छ — प्रमुख शाह 

बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न महानगरले प्रकाशन गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि भदौ ६ गते बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरिएको छ । त्यस क्रममा प्रमुख शाह, महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, वडा १० का अध्यक्षसहित पदाधिकारीहरु बानेश्वर पुग्नुभएको थियो । 

बानेश्वर क्षेत्रबाट कारवाही थालेका छौँ । यो निरन्तर चल्छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार महानगरको भौतिक पूर्वाधार र सहरी सुव्यवस्था विभागसँगको समन्वयमा कारवाहीको दायरा फराकिलो बनाउँदै लगिनेछ । 

भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङ्को व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हो । सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यकाअनुसार, मापदण्ड सम्बन्धित आफैँले पालना गर्नु पर्ने हो । नभएपछि कारवाहीमार्फत पालना गराउन थालिएको हो । 

अण्डरग्राउण्डमा विभिन्न सर्भिसेज र पार्किङ्का लागि बनाइने घरको हकमा सर्भिसेज र पार्किङ् बनाउने क्षेत्रको फ्लोर एरिया रेसियो (फार) गणना गरिँदैन । बार्दली वा गारो बाहिर निकालेर वा घरभित्र घुसाएर बनाइएको क्षेत्र पनि फारमा गणना हुँदैन ।

यस्तै प्रयोजनका लागि लिफ्ट राखिएको छ भने छानामाथि निर्माण हुने लिफ्ट मेसिन कोठाको पनि फार गणना हुँदैन । 

नक्सा स्वीकृत गर्ने समयमा यस्ता सुविधा लिने तर उद्देश्यअनुसार उपयोग नगर्ने परिपाटी देखिएको छ । 

तस्विर : विनय शाक्य/उमेश कार्की

 

 

सम्बन्धित समाचार

Facebook Comments