राहदानी विभागको बेसमेन्ट खाली गराइयो : बेसमेन्टलाई प्रयोजनअनुरुप सञ्चालन गराउने क्रम जारी 

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागले आज एक सूचना जारी गर्दै भदौ १२ गते आइतबारदेखि बेसमेन्टमा सेवाग्राहीले पार्किङ् गर्न सक्ने जनाएको छ । अहिले आवेदकहरुको होल्डिङ् क्षेत्रका रुपमा प्रयोग गरिएको बेसमेन्ट काठमाडौँ महानगरपालिकाले पार्किङ्का लागि खाली गराएकोले आइतबारदेखि यस ठाउँलाई पार्किङ्कै रुपमा प्रयोग गरिने विभागका प्रवक्ताको हस्ताक्षरमा जारी सूचनामा उल्लेख छ । 

व्यवसायिक तथा सार्वजनिक सेवा प्रदायक भवनका बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला पार्किङ् र स्टोरबाहेकको प्रयोग रोक्न महानगरले अनुगमन गरिरहेको छ । 

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले जुन प्रयोजनका लागि संरचना बनेको छ, त्यही प्रयोजनअनुरुप प्रयोग होस् भन्ने आफूले चाहेको बताउनुभएको छ । 

यो कुरालाई पहिलेदेखि नै व्यवहारिक रुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ ।’ अभियान र नागरिक दायित्वका विषयमा प्रमुख शाह भन्नुहुन्छ, ‘महानगरको यो अभियान सधैँ रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ । कृपया नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अपरिहार्यता महसुस गरिदिनुहोला ।’

महानगरको यो थालनीपछि कतिपय बेसमेन्ट, सेमीबेसमेन्ट भएका भवनहरुमा मर्मत हुँदैछ भन्ने सूचना देखिन थालेका छन् ।

पार्किङ् प्रयोजन देखाएर महानगरबाट स्वीकृत भएका भवनको वेसमेन्ट, सेमी बेसमेन्ट र तमिन तला पार्किङ् प्रयोजनमा ल्याउन महानगरका प्रमुख शाह भदौ ६ गतेदेखि आफैँ फिल्डमा निस्कनुभएको थियो । यसअघि प्रयोजनअनुरुप प्रयोग गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । 

भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङ्को व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ । 

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । 

 

सम्बन्धित समाचार

Facebook Comments