कुमारी रथ यात्रा सुरु : राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुबाट अवलोकन 

काठमाडौँ । इन्द्रजात्राका ८ दिने कार्यक्रमअन्तर्गत आजबाट कुमारी रथ यात्रा सुरु भएको छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डउन मन्त्री जीवनराम श्रेष्ठ, प्रधान सेनापति प्रभुराम शर्मा, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहित विशिष्ट व्यक्तिहरु जात्रा अवलोकनमा सहभागी हुनुहुन्थ्यो । 

यस्तै काठमाडौँ महानगरका वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु जात्रामा सहभागी हुनुहुन्थ्यो । 

जात्रामा पुलुकिसी, मजिपाट लाखे, सवःभक्कुसहित देवी देवता गणसहित श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा भएको छ ।    

यस बर्षको जात्राका सांस्कृतिक कार्यक्रमहरु भदौ १३ गते सोमबारबाट सुरु भएका हुन् । यस दिन विहान ९ बजेर १७ मिनेटको साइटमा बन प्रस्थान गरेर सोही दिन बेलुका ८ बजेर ९ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भएको थियो । १९ गते आइतबार विहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइयो । भदौ २२ गते बुधबार विहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिएको थियो । 

आज सुरु भएको कुमारी रथ यात्रा तल्लो टोलमा रथ घुमाइँदैछ । भोलि माथिल्लो टोलमा रथ घुमाइनेछ । 

भदौ २९ गते नानिचा यात्रा रहेको छ । यसै दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षको जात्रा सकिनेछ ।

महानगरका निम्तालुबाट रथयात्राको अवलोकन 

काठमाडौँ महानगरले यस बर्षको इन्द्रजात्रा हेर्न राष्ट्रिय अन्तरराष्ट्रिय भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख उपप्रमुखलाई निम्ता गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोविड संक्रमणका कारण अन्तरराष्ट्रिय नगरबाट सहभागीको संख्या कम रह्यो । यस्तै नेपालका महानगरहरुमा  विराटनगरका प्रमुख नागेश कोइराला, पोखराका प्रमुख धनराज आचार्य, वीरगञ्जका प्रमुख राजेशमान सिंह, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन प्रतिनिधिसहित आउनुभएको छ । यस्तै भगिनी सम्बन्ध भएका नगरहरुतर्फ जुम्लाको चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायत, नवलपरासी वर्दाघाट पश्चिम, रामग्राम नगरका प्रमुख धनपत यादव, सिन्धुपाल्चोकको मेलम्ची नगरका प्रमुख आइतमान तामाङ्,  धनकुटाको पाख्रीबास नगरबाट ज्ञानबहादुर गुरुङ्सहित उपप्रमुख तथा पदाधिकारीसहित अवलोकनका लागि आउनुभएको छ । 

उहाँहरु इन्द्रजात्राको अवलोकनमा सहभागी हुनुहुन्थ्यो ।

निम्तालुहरुलाई सम्पदा क्षेत्रको अवलोकन गराउन आज विहान महानगरले स्थलगत अवलोकन भ्रमण आयोजना गरेको थियो । जुद्ध शालिकबाट सुरुभएको सम्पदा पद यात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै बसन्तपुर फर्किएको थियो । त्यस क्रममा इन्द्रजात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति,  पुलुकिसी घर, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गरिएको थियो । त्यस्तै मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा जानकारी गराइएको थियो ।  

महानगरले आमन्त्रण गरेका पाहुनाहरुलाई भोलि भक्तपुर, पाटन र काठमाडौँको हाँडीगाउँ क्षेत्रको भ्रमण अवलोकन गराउने छ । यसैगरी आइतबार स्वयम्भू र कीर्तिपुरको भ्रमण अवलोकन हुनेछ । त्यसै दिन साँझ महानगरले उहाँहरुलाई विदाइ गर्नेछ ।  

 

सम्बन्धित समाचार

Facebook Comments