चाडपर्वका समयमा बस्तु तथा मूल्यको स्वच्छता कायम गराउनु हाम्रो दायित्व हो — उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजार पर्व लक्षित अनुगमन गर्ने भएको छ । बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछन् । 

बैठकमा बोल्दै उपप्रमुख डंगोलले, पर्वंमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अबाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व रहेको बताउनुभयो । ‘सूचकका आधारमा अनुगमन गरौँ । पूर्वाधार निर्माण, महानगरमा दर्ता हुने उजुरी तथा गुनासोसँग सम्बन्धित विषय महानगरले गर्नु पर्ने अनुगमनका क्षेत्रहरु धेरै छन् ।’ उपप्रमुख डंगोलले अहिलेको अनुगमनका विषयमा भन्नुभयो, ‘अहिले हामी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजारलगायतका क्षेत्रमा केन्द्रीत हुनुपर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, जनताको दैनि जीविकासँग सम्बन्धित क्षेत्रमा सरोकारवाला निकायसँगको समन्वयमा अनगुमन गर्नुपर्नेमा जोड दिनुभयो । ‘अनुगमनको जिम्मेवारी प्राप्त गरेका निकाय आफू एक्लै सबै क्षेत्रमा पुग्न सम्भव हुँदेन । त्यसैले क्षेत्र निर्धारण र विभाजन गरेर अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ ।’ अधिकारीको जोड थियो । त्यस क्रममा वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक महेश भट्टराईले, स्थानीय बजार व्यवस्थापनका लागि महानगरको नेतृत्वमा हुने कामलाई विभागले सहयोग गर्ने धारणा राख्नुभयो । 

बैठकमा सहभागी वडाध्यक्ष राजेन्द्र मानन्धरले अनुगमनले खाद्यबस्तुमा हुने मिसावट र चर्को मूल्य रोक्न सक्नु पर्ने बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका नगरपालिकाको अधिकारको वुदाँ नं. (ञ) स्थानीय वजार व्यवस्थापन सम्बन्धी व्यवस्था छ । वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्वन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने वजार तथा हाट वजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा दिइएको छ । 

काठमाडौँ महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । 

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ । 

 

 

 

 

 

सम्बन्धित समाचार

Facebook Comments