शैक्षिक गुणस्तर वृद्धि गर्न  ३ साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन हुनुहुन्छ । 

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताउनुभयो । ‘हामीलाई थाहा छ, गुणस्तरीय शैक्षिक क्रियाकलापका लागि गुणस्तरीय शिक्षण आवश्यक पर्छ । यसका लागि पर्याप्त पूर्वाधार र योग्य जनशक्ति आवश्यक हुन्छ । आफ्नो क्षेत्रबाट काम गरिरहेका साझेदारसँग सहकार्य गरेर हामी नतिजा निकाल्न प्रयास गर्नेछौँ ।’

विद्यालय उमेरमा सिकेका ज्ञान र सीप नै जीवनभरि स्मरणमा रहन्छन् । त्यही कालमा सिकेका सीपबाट धेरै मानिसहरुले जीवनको लक्ष्य बनाएका छन् । उपप्रमुख डंगोलले भन्नुभयो, ‘यसकारण पनि हामी विद्यालय उमेरका बालबालिकालाई जीवन चलाउन सक्ने दृष्टिकोण निर्माण गर्न सक्ने बनाउँछौँ ।’

‘काठमाडौँ महानगरपालिकाले शैक्षिक रुपान्तरण गर्न खोजिरहेको छ । यसका लागि महानगर एक्लैले काम गरेर पुग्दैन । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन, शिक्षण र सिकाईका विच के अभाव छ, थाहा पाउन हामीले त्यही क्षेत्रमा काम गर्ने संस्थाहरुसँग थालनी गरेका हौँ ।’ त्यस क्रममा महानगरका शिक्षा सल्लाहकार अर्यालले धारणा राख्नुभयो । 

कोसँग के का लागि सहकार्य?
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान
पूर्व प्राथमिक तहमा बालमनोविज्ञान अनुरुप दण्डरहित शिक्षण सहजीकरणका लागि केन्द्रीय विभागले सहजकर्ताहरु पठाउनेछ । विभागको स्नातकोत्तर तहमा बाल विकास र लैङ्गिक सामाजिकता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न सहजकर्ताका रुपमा पठाइनेछ । विभागले पठाउने ४० जना विद्यार्थीहरु महानगरको शिक्षा विभागले खटाउने विदालयमा गएर बालमैत्री शिक्षण सिकाई, शैक्षिक सामग्री निर्माण, विद्यार्थीमैत्री पोशाक, अभिभावक शिक्षा, विषयगत दृष्टिकोण (थिमेटीक अप्रोचका क्षेत्रमा सहजीकरण गर्नेछन् ।

पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई अध्ययन गराउन माथिल्लो तहकोभन्दा धेरै सीप, कौशल र क्षमता चाहिने भएकोले यस प्रकारको प्रबन्ध गरिएको शिक्षा अधिकारी सुवेदीको भनाइ छ । 

यो शैक्षिक क्रियाकलापका लागि आफैँमा अध्ययन पनि हो । सहमतिपछि प्रतिक्रिया दिदैँ प्रा. प्रधानले, महानगरपालिकासँग सहकार्य नयाँ अभ्यासको थालनी भएको उल्लेख गर्नुभयो । यसले दिगोपना प्राप्त गर्नेछ भन्नेमा ढुक्क छु, प्रधानको भनाइ थियो । 

हरित विद्यालय निर्माणका लागि वन्यजन्तु संरक्षण संघसँगको सहकार्य
विद्यालयहरुलाई हरित विद्यालयका रुपमा रुपान्तरण गर्न तथा विद्यार्थीहरुमा वातावरणीय ज्ञान दिन विद्यालयहरुमा इको क्लव निर्माण तथा सञ्चालनमा संघले सहजीकरण गर्नेछ । हरित विद्यालयका लागि वातावरण शिक्षा, विपद जोखिम व्यवस्थापन, पानी व्यवस्थापन तथा सरसफाई, जलबायु परिवर्तन न्युनीकरण, दिगो विकास, पोषण तथा भू संरक्षणलगायत कार्यक्रम सञ्चालन हुनेछन् । यसका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउन कार्ययोजना तयार पारिनेछ । 

यी क्षेत्रमा क्षमता विकास गर्न तालिम, कार्यशाला, गोष्ठीलगायत कार्यक्रम सञ्चालन हुनेछन् । 
‘हामी वातावरण विज्ञान र जीव विज्ञानका बैज्ञानिकहरुले बुझेको कुरा सामान्य भाषामा जनसाधारण तथा साना साना बालबालिकालाई सिकाउन चाहन्छौँ । यसले मात्र वातावरण संरक्षणमा दिगो फाइदा दिन सक्छ ।’ सहमतिपछि संघका निर्देश योञ्जको प्रतिक्रिया थियो । 

खेल्दै सिक्दै गर्ने शिक्षण विधिका लागि कारखानासँग सहकार्य 
शिक्षा विभागले उपलब्ध गराएका ५ वटा विद्यालयमध्ये एउटालाई हब विद्यालय मानेर इञ्जिनियरिङ् विधामा आधारित खेलमैत्री शिक्षण सिकाइ थालनी गरिनेछ । छनौटमा भएका विद्यालयहरुलाई रोवोटिक्स किट उपलब्ध गराइनेछ । शिक्षकहरुलाई रोवोटिक्सका विविध विषयमा जानकारी गराउन तथा ज्ञान आदान प्रदान गर्न डिजिटल प्लेटफर्म निर्माण गरिनेछ । यसमा गणित, इञ्जिनियरिङ् र टेक्नोलोजीका विषय अध्ययन हुनेछन् । 
हामीले यस अघि पनि प्रयास गरिरहेका छौँ । अहिले महानगरसँग औपचारिक सहकार्य सुरु भएको छ । यसबाट हामी शैक्षिक क्षेत्रको सुधारमा झन मजवुत भएका छौँ । सहमतिपछि कारखानाका निर्देशक मानन्धरको भनाइ छ ।        

 

सम्बन्धित समाचार

Facebook Comments