२८ औँ महानगर दिवस सप्ताहव्यापी रुपमा मनाइने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ स्थापना दिवस मनाउने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यस सम्बन्धी जानकारी दिनुभएको हो । भेटघाटमा प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । 

०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएपछि हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । वि.सं. १९७६ पुष २ गते स्थापना गरिएको सफाइ अड्डाको विकसित संस्थागत संरचना नै अहिलेको महानगरपालिका हो ।

यस बर्षका सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर २३ गते विहान विशेष सरसफाई र दिउँसो महसुस यात्रा हुनेछ । अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरुको रुची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरु लागि चित्रकला र निवन्ध लेखन, शिक्षक स्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरुका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछन् ।  

परम्परागत गुरुहरुको सम्मान, मेयर ११ र प्रमुख प्रशाकसीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुनेछन् । कलाहरुको प्रवर्धन गर्न मंसिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्विर प्रदर्शनी हुनेछ । महिला उद्यमशीलतालाई प्रबर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला हुनेछ । 

दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलाक्षीदेखि बसन्तपुर, जयबागेश्वरी, हाँडीगाउँ, स्वयम्भू, बसन्तपुरलगायतका ठाउँमा कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रममा आमनागरिक, सरोकारवाला तथा विकास साझेदार, विद्यालयका विद्यार्थी र शिक्षक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको छ । 

सम्मानतर्फ परम्परागत बाजा गुरुहरुको सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा गौरव पदक वितरण, करदाता सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, कर्मचारी सम्मान, साधना अग्रणी महिला पुरस्कार, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रम छन् । 

महानगर दिवस मनाउन प्रमुख शाहको अध्यक्षतामा, उपप्रमुखसहित १८७ सदस्यीय मुल समारोह समिति गठन भएको छ । कार्तिक २९ गते बसेको महानगरको १० औँ कार्यपालिका बैठकले मुल समारोह समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हुनुहुन्छ । 

कामलाई व्यवस्थित गर्न १० वटा उपसमिति गठन गरिएका छन् । उपसमितिको सदस्य सचिवको काम सम्बन्धित विभागका प्रमुखहरुलाई दिइएको छ । 

प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरको संयोजकत्वमा जनप्रतिनिधि, पत्रकार तथा समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मान तथा पुरस्कार छनौट उपसमिति, प्रचार प्रसार एवं प्रतिवेदन उपसमिति र कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति गरी ३ वटा उपसमिति छन् । 

कर्मचारी पुरस्कार तथा सम्मान उपसमितिको संयोजक प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, सांस्कृतिक तथा सम्पदा उपसमितिको संयोजक वडा ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, अतिथि सत्कार तथा निमन्त्रणा उपसमितिको संयोजक वडा ११ का अध्यक्ष एवं भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार हुनुहुन्छ । खेलकुद तथा इभेन्ट सञ्चालन उपसमितिको संयोजक वडा १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी., सरसफाई तथा साजसज्जा उपसमितिको संयोजकमा वडा १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकुष्ण महर्जन हुनुहुन्छ । राजस्व पुरस्कार तथा सम्मान उपसमितिका संयोजक वडा १६ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल हुनुहुन्छ । स्वास्थ्य उपसमितिमा वडा ३० का अध्यक्ष दलबहादुर कार्र्की हुनुहुन्छ ।     

पत्रकार भेटघाटमा प्रवक्ता मानन्धरले, दिवस विशेष आयोजना गरिने यी कार्यक्रमसँगै महानगरका प्राथमिक कामका बारेमा जानकारी गराउनुभयो । गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य, प्रतिस्पर्धी र व्यवहारिक शिक्षा, मूर्त अमूर्त सम्पदाको सन्तुलित विकास, संरक्षण र प्रवर्धनका क्षेत्रमा काम गरिरहेका छौँ । सहरी विकासका लागि काम गर्ने सरकारी कार्यालयहरुमा छरिएर रहेको योजना, स्रोत र कार्यक्रमलाई समेटेर एकीकृत पूर्वाधार विकासको प्रयास थालिएको छ । उहाँको भनाइ थियो । 

 

सम्बन्धित समाचार

Facebook Comments