कार्यालयहरुलाई आफ्नो परिसर सरसफाई गर्न सार्वजनिक सूचनाबाट अनुरोध 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक निकायलाई कार्यालय परिसर सफा गर्न सार्वजनिक सूचनाबाट अनुरोध गरेको छ । कार्यालयहरुले नियमित सफाइ नगरेका कारण हाताभित्र फोहोर छरिएको, पुराना सामानहरु अलपत्र भएकोले त्यसबाट सहरी सुन्दरतामा असर परेकाले सफाईका लागि आग्रह गरिएको हो, वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईको भनाइ छ । 

‘हामीले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, बिभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयहरुलाई ३५ दिनको समय दिएर सरसफाईका लागि अनुरोध गरेका छौँ । 

कार्यालय परिसरमा सफाई नगर्दा, पुराना सामान तथा उपकरण व्यवस्थापन नगर्दा सहरको सुन्दरतामा असर परेको छ ।’ राई भन्नुहुन्छ, ‘तोकिएको समयमा कार्यालयहरुले सफाई नगरे फोहोरमैला व्यवस्थापन ऐनको व्यवस्था बमोजिम जरिवाना गरेर हामी आफैँ सफाइ गर्छौँ । यसरी सफाई गर्दा लागेको खर्च सम्बन्धित कार्यालयबाटै असुल उपर गर्छौँ ।’  

फोहोर व्यवस्थापन गर्नु पर्ने हरेक व्यक्ति तथा निकायको कानुनी कर्तव्य हो । यो कर्तव्यको सबैले पालना गर्नुपर्छ । 

सम्बन्धित समाचार

Facebook Comments