ऐन र कार्यविधि संशोधनसहितका निर्णय गर्दै काठमाडौँ महानगरको ५ औँ कार्यपालिका बैठक सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । आज काठमाडौँ महानगरको सभा कक्षमा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशोधन गरिएको हो ।

यसअघि १ हजार बर्गफिटको अपार्टमेन्ट हुनेले २ हजार ३४४ रुपैयाँ तिर्नुपर्ने थियो । त्यहीबराबरको व्यक्तिगत घर हुनेले १ हजार १५० तिर्नु पर्ने भएपछि यसमा समानता ल्याउन अपार्टमेन्टमा बस्नेले १ हजार ११८ रुपैयाँ तिर्नुपर्ने गरी संशोधन गरिएको छ । यसलाई २ हजार बर्गफिट र ३ हजार बर्गफिटमा बर्गीकरण गरेर दर कायम गरिएको छ । राजस्व छुट सम्बन्धी मापदण्डअनुसार सरकारी, कुटनीतिक, गुठी तथा धार्मिक संघ संस्थाका नाममा रहे सम्पत्ति कर तिर्नु नपर्ने व्यवस्था छ । तर, यदि त्यस्ता संघ संस्थाले व्यापारिक प्रयोजनमा काम गरेको भए प्रयोजनको अनुपातमा कर लिने व्यवस्था गरिएको छ । बैठकमा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीलाई संशोधन सम्बन्धी प्रस्ताव पेश गर्न समय दिइएको थियो । 

बैठकमा महानगरका प्रमुख शाहले, महानगरभित्र दैनिक उत्पादन हुने ६ सय मेट्रिक टन फोहोर आफैँ व्यवस्थापन गर्न खोजिएको जानकारी दिनुभयो । ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यस विधिमा लिचेट आउँदैन । सबै फोहोरलाई मल बनाउन सकिन्छ । यसबाट देशमा भएको मलको समस्यालाई ८ देखि १० प्रतिशतसम्म योगदान गर्न सकिन्छ । यो मल खेतीमा उत्पादन बढाउन लाभदायक हुन्छ ।’

बैठकमा उपप्रमुख सुनिता डंगोलले, महानगरले जनतासँगका सञ्चालन गर्ने कार्यक्रमका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो । जात्रा पर्वसँग सम्बन्धित कार्यक्रममा चालु आर्थिक बर्षमा विनियोजन भएको रकम माग भइ आएको तर प्राप्त नभएको विषयमाथि धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । ‘जात्रा पर्व सञ्चालनका लागि महानगर दिने अनुदान रकम लिनका लागि पूर्व स्वीकृति लिनुपर्ने कुरा आएको छ । यदि स्वीकृति नलिई गर्न हुँदैनथ्यो, यसैकारण पैसा दिन मिल्दैन भने उहाँहरुलाई स्पष्ट भनिदिनुपर्छ । कुरा नबुझेर कार्यालयमा धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । त्यो दायित्व हाम्रै हो । सबै सेवाग्राहीले नीति, कानुन र प्रक्रिया जानेको हुँदैन । उहाँहरुलाई बुझाउने काम पनि हाम्रै हो ।’

वैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालले, सेवा करारमा प्राविधिक कर्मचारी लिनका लागि प्रदेश लोक सेवा आयोगसँग कुरा गर्ने बताउनुभयो । कर्मचारी अभाव भएर वडाको सेवा प्रवाहमा समस्या भएको कार्यपालिका सदस्यहरुबाट गुनासो आएपछि उहाँले यस्तो बताउनुभएको हो । 

बैठकले विकास सहायता कार्यविधि, २०७९ संशोधनसहित पारित गरेको छ । सामाजिक विकास समितिबाट हुने संशोधनलाई स्वीकार गर्ने गरी कार्यविधि स्वीकृत भएको हो । यो कार्यविधि बैठकमा पेश गर्नका लागि प्रमुख शाहले, सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारीलाई समय दिनुभएको थियो । 

बैठकले कल सेन्टर सञ्चालन कार्यविधि २०७९ तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । यसैगरी लिलाम समितिको प्रतिवेदन पारित गरेको छ । यो प्रतिवेदन पेश गर्न समितिका संयोजक बिमला कोइरालालाई समय दिइएको थियो ।

ठूला योजना तथा आयोजना कार्यान्वयनका गर्दा वातावरणसँगको सम्बन्धको संक्षिप्त तथा प्रारम्भिक अध्ययन गर्नका लागि विज्ञ समिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिका वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ बमोजिम समिति गठन गरिएको हो । समितिले महानगरको क्षेत्राधिकारभित्र पर्ने कार्यक्रम तथा आयोजनाको प्राविधिक तथा कानुनी पक्ष सम्बन्धी अध्ययन तथा शिफारिस गर्नेछ । 

सार्वजनिक निर्माण विभागका प्रमुख संयोजक, आयोजना तथा कार्यक्रम सम्बन्धी क्षेत्रको विषय विज्ञ, कानुनी तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु सदस्य रहनुहुनेछ । समितिको सदस्य सचिवमा वातावरण विभागका प्रमुख रहनुहुनेछ । 

वैठकले वडा ४ मा सीसीटिभी क्यामरा जडान गर्न रकम निकासा दिने, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका गठन गर्ने, नन्दी माध्यमिक विद्यालयको हीरक जयन्ती मनाउन आर्थिक सहयोग गर्नेलगायत निर्णय गरेको छ । 

बैठकले स्वास्थ्य संस्था दर्ता, नविकरण तथा स्तरोन्नति अनुगमन समितिको संयोजकमा वडा १९ का अध्यक्ष राजेश श्रेष्ठलाई तोकेको छ । 

बैठकमा कार्यपालिका सदस्यहरु हीरालाल तण्डुकार, बीरेन्द्र प्रजापति, राजेन्द्रकुमार श्रेष्ठ, सरोज ढकाल, ईश्वरमान डंगोल, नविन मानन्धर, बालकृष्ण महर्जन, मीना सिंह, महेश नेपाली, चिनीकाजी महर्जन, दलबहादुर कार्की, विमल हाडा, आशामान संगतले वडास्तरीय सेवा प्रवाह र पूर्वाधार विकासका सन्दर्भमा धारणा राख्नुभएको थियो । 

कार्यपालिका सदस्यहरुले उठाउनु भएका जिज्ञासा तथा समस्याका विषयमा विभागगत धारणा राख्न प्रमुख शाहले विभागीय प्रमुखहरुलाई समय दिनुभएको थियो । त्यस क्रममा निर्देशकहरु महेश काफ्ले, बसन्त आचार्य, राम थापा, बलराम त्रिपाठी, बुद्धरत्न मानन्धरले स्पष्ट पार्नुभएको थियो ।
 

सम्बन्धित समाचार

Facebook Comments