नर्भिक अस्पतालले गरेको जग्गा अतिक्रमण हटाउन समय थप

काठमाडौँ । नर्भिक अस्पतालले अतिक्रमण गरेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाउन प्राविधिक समितिले अध्ययन गर्ने भएको छ । थापाथलीमा रहेको कित्ता नं. २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गाको पश्चिमतर्फको जग्गामा अस्पतालले टहरा निर्माण गरेको छ । यी संरचना हटाउन हिजो (साउन २३ गते दिउँसो २ बजे) महानगरले २४ घण्टे समय दिएर पत्र टाँस गरेको थियो । आज २ बजे २४ घण्टा पुगेपछि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँ अस्पताल पुग्नुभएको थियो । प्रमुख पुगेपछि अस्पताल प्रशासनले सरकारसँग सम्झौता भएको भन्दै कागजपत्र देखाएको थियो । 

त्यस क्रममा प्रमुख शाहले जग्गामा निर्माण भएका गैरकानुनी संरचना हटाएर सहयोग गर्न अस्पताललाई आग्रह गर्नुभएको थियो । 

‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी स्पष्ट छौँ । सडकमा होस् वा महलमा होस, कानुनको पालना बराबर किसिमले हुनु पर्छ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृत रुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्युनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ ।’ 

इञ्जिनियरिङ् अध्ययनका लागि महानगरका स्ट्रक्चरल इञ्जिनियर र अस्पतालका मेडिकल इञ्जिनियरको समिति गठन हुनेछ । 

महानगरले २४ घण्टे सूचनामा जग्गा लिजमा लिने सम्बन्धमा सरकारसँग भएको सम्झौता विपरीत र नक्सा स्वीकृत नगरी टहरा निर्माण गरेकोले भत्काउन भनेको थियो । अस्पतालमा पत्र टाँस्दै महानगरले प्राविधिकबाट जग्गा नापेर चिनो समेत लगाएको थियो । 

कि. नं. २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गामा अस्पतालबाट गैरकानुनी संरचना निर्माण 

 

सम्बन्धित समाचार

Facebook Comments