अपाङ्गताको अवस्था बुझ्न उपप्रमुख डंगोल नागरिकका घरमा 

काठमाडौं । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले अपाङ्ता भएका व्यक्तिको घरमा पुगेर अवस्था बुझ्नु भएको छ । अपाङ्ग परिचय पत्र वितरण समन्वय समितिकी संयोजकका रुपमा उहाँले आज वडा ३१ ठूलो खरिबोटको एक परिवारकोमा पुगेर अवस्थाका विषयमा जानकारी लिनुभएको हो ।  

‘हामीले महानगरमा सेवा लिन आउनेलाई चुस्त सेवा दिनुपर्छ, आउन नसक्ने सेवाग्राहीको घरमै सेवा पुर्याउनु पर्छ । यसमा हामी सचेत छौँ । त्यही क्रममा आज एक परिवारको घरमा गएका हौँ ।’ उपप्रमुख एवं समितिकी संयोजक डंगोलले भन्नुभयो, ‘सामाजिक सुरक्षा लिनु पर्ने समूहका व्यक्तिहरुलाई अरुले कुनै न कुनै रुपमा सहयोग गर्नुपर्छ । अति अशक्त व्यक्तिहरु त झन सहाराविना जीवन चलाउनै सक्नुहुन्न । यस्ता व्यक्तिहरुको सुरक्षा र संरक्षणमा अभिभावकत्व प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी हामी पूर्ण रुपमा पूरा गर्छौँ ।’

उपप्रमुखले भेट्नु भएका अति अशक्त पुरुष विगत ३ बर्षअघिसम्म इलेक्ट्रिसियनका रुपमा काम गरिरहनुभएको थियो । सुरुमा चिकित्सकले नशा च्यापिएको बताएका थिए । उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार भएन । क्रमश विग्रँदै गयो । यसअघिका ३ बर्ष उहाँ ओछ्यानमै हुनुहुन्छ । परिवारका सदस्यले यस्तो अवस्था बुझ्न उपप्रमुख घरमै पुग्दा अभिभावक आएको महसुस भएको अनुभूति सुनाउनुभयो । 

उपप्रमुख डंगोलको संयोजकत्वमा रहेको समितिमा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारी सदस्य सचिव हुनुहुन्छ । समितिको सदस्यमा अपाङ्गता भएका व्यक्तिहरुको हकहित र सुरक्षाका क्षेत्रमा काम गर्ने संघ संस्थाबाट ३ जना सदस्य हुनुहुन्छ । त्यस्तै सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्येबाट १ जना, कार्यपालिका सदस्यमध्येबाट १ जना महिला सदस्य, प्रहरी प्रमुख १ जना, चिकित्सक १ जना सदस्य हुनुहुन्छ । 

विभागका प्रमुख एवं समितिका सदस्य सचिव अधिकारीकाअनुसार महानगर क्षेत्रमा पूर्ण अपाङ्गता भएका (रातो परिचय पत्र प्राप्त गर्ने) ५७२ जना व्यक्ति हुनुहुन्छ । उहाँहरुलाई सरकारले मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउँछ । यस रकममा महानगरले १ हजार रुपैयाँ थपेर मासिक ५ हजार रुपैयाँ प्रदान गर्छ । 

यस्तै ५३२ जना अति अशक्त (नीलो) पत्र पाउने) व्यक्ति हुनुहुन्छ । उहाँहरुले सरकारबाट मासिक २६६० रुपैयाँ प्राप्त गर्नुहुन्छ । 

अपाङ्गता भएकामध्ये अशक्त व्यक्तिलाई पहेँलो र सामान्य अशक्त व्यक्तिलाई सेतो रङ्गको परिचय पत्र प्रदान गर्ने गरिएको छ । यस प्रकारको परिचय पत्र प्राप्त गर्नेलाई रकम दिने गरिएको छ्रैन । उहाँहरुलाई सरकारबाट विशेष सुविधा प्राप्त हुन्छ । महानगरमा यस्ता व्यक्तिहरुको संख्या एकिन छैन । सामाजिक विकास विभागले तथ्याङ्क संकलनको काम थालनी गर्ने योजना बनाएको छ ।  

सरकारको सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिका पर्छन् । यस्ता व्यक्तिहरुको आफ्नो स्थायी ठेगाना भएको वडामा गएर नाम दर्ता तथा नविकरण हरेक बर्षको पुस मसान्तभित्र गराउनुपर्छ । 

सामाजिक सुरक्षा ऐन, २०७५ तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि, २०७५ बमोजिम रीत र योग्यता पुगेका यस्ता व्यक्तिलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुने व्यवस्था छ ।
 

सम्बन्धित समाचार

Facebook Comments