आजबाट काठमाडौँमा ‘नो हर्न’ अभियान सुरु

काठमाडौँ । काठमाडौँमा आजदेखि पुनः ‘नो हर्न’ अभियानलाई सुरु भएको छ । २०७४ साल बैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो । अभियान शुरुवातमा प्रभावकारी थियो । विस्तारै सवारी चालकले ‘नो हर्न’ अभियान वेवास्ता गर्न थालेपछि यसलाई फेरि थालिएको हो । 

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । पहिलो चरण (२०७४ साल) मा अभियान थाल्दै हर्न नबजाइकन पनि सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा मोटरसाइकल ¥याली गरिएको थियो । 

त्यस क्रममा बोल्दै प्रमुख शाहले, हर्नबाट सुनिने ध्वनी प्रदुषण, सडक व्यवस्थापनमा मात्र नभइ वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताउनुभयो । ‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो । पछाडिका सवारी साधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन । बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ । त्यसैले आवश्यक नभएको ठाउँमा हर्न नबजाउन हाम्रो आग्रह छ ।’’

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले, अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने बताउनुभयो । 

सवारी चालकहरुले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन् । सवारी दुर्घटना हुने अवस्था भयो, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन् । यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ । 

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुने छैन । 

अभियानलाई सफल बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरु सचेतनाका लागि १५ दिन सडकमा खटिनेछन् । 

तस्विर : विनय शाक्य

सम्बन्धित समाचार

Facebook Comments