Logo
  • वि.सं.: २०८२, पुस १८ शुक्रबार​

  • इ.स.: 2026 January 2, FRIDAY

  • वि.सं.: २०८२, पुस १८ शुक्रबार​

  • वडा ८ मा एक्स-रे सेवा सुरु : १५० रुपियाँमा सेवा प्राप्त गर्न सकिने 

    उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतबाट संयुक्त उद्घाटन 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ मा आजदेखि एक्स–रे सेवा प्रारम्भ भएको छ । जयबागेश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले संयुक्त रुपमा सेवा प्रारम्भ गर्नुभएको हो ।  कक्षमा करिब ३२ लाख रुपियाँ लागतमा खरिद गरिएको अत्याधुनिक मेसिन छ । 

    सेवा प्रारम्भ गर्दै उपप्रमुख डंगोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताउनुभयो । ‘माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि बञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ ।’

    त्यस क्रममा वडाध्यक्ष एवं समितिका संयोजक संगतले, एक्स-रे सेवा सुरु गरेर वडाले प्रदान गर्ने स्वास्थ्य सेवामा एक खुड्किलो माथि उक्लिएको महसुस भएको धारणा राख्नुभयो । ‘सार्वजनिक स्वास्थ्य सेवालाई सबल र गुणस्तरीय बनाउँछौँ । यो हाम्रो दृढता हो ।’ संगतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना सुनाउनुभयो । उहाँका अनुसार महानगरपालिकाबाट सञ्चालन भएको एक्स-रे सेवा प्रदान गर्ने, यो पहिलो वडा हो । 

    रामघाट प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत ३ जना मेडिकल अधिकृतबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘एक्से-रे सेवा हरेक दिन सञ्चालन हुनेछ भने भिडियो एक्स-रे सेवा हरेक शुक्रबार सञ्चालन हुनेछ ।’ 

    विभागको भण्डार (स्टोर) शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स-रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ । 

    सेवा प्रारम्भ गरेपछि उपप्रमुख डंगोल, वडाध्यक्ष संगतसहित अधिकारीहरुले रामघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाको निरीक्षण गर्नुभएको थियो । यस क्रममा स्वास्थ्यकर्मीहरुले सेवा सञ्चालन गर्ने पूर्वाधार साँघुरो हुन थालेको बताउँदै नयाँ भवन निर्माणको आवश्यकता देखाउनुभएको थियो ।  

     


     

  • प्रकाशित मिति शुक्रबार​ १८ पुस २०८२ ०६:३३ PM