वि.सं.: २०८२, असोज २३ बिहीबार
इ.स.: 2025 October 9,THRUSDAY
वि.सं.: २०८२, असोज २३ बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्याक्सिनेसन) गर्न इच्छुक संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ ।
इच्छुक संस्थाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन पेस गर्नुपर्ने जनाएको छ । महानगरले बन्ध्याकरण तथा खोप भ्याक्सिनेसनको दर प्रति गोटा २ हजार ५ सय रुपैयाँ तोकेको छ ।
आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी अघिल्लो अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारी साधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्था सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।
यस्ता संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट गरिने र छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा नियमित अनुगमन गरिनेछ ।
महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ५५ सय कुकुर र बिरालोको बन्ध्याकरण गरिएको र १६ हजार वटामा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यस्तै आर्थिक वर्ष ०८१/०८२ मा ६ सय ७० बन्ध्याकरण र १६ हजार ५ सय ६९ रेबिजविरुद्धको खोप भ्याक्सिनेसन गरिएको खनालले जानकारी दिनुभयो ।