Logo
  • वि.सं.: २०८२, कात्तिक २३ आइतबार​

  • इ.स.: 2025 November 9,SUNDAY

  • वि.सं.: २०८२, कात्तिक २३ आइतबार​

  • सेवाको ज्ञान, सिप र अनुभव, निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 

    महानगरपालिकाले सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकका लागि अभिमुखीकरण 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरुले सेवा निवृत्त जीवनमा सेवा कालको ज्ञान, सिप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिनुभएको छ । आज महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उहाँहरुले यसरी खुशी व्यक्त गर्नुभएको हो । 

    उहाँहरुसँगको परिचयात्मक कार्यक्रममा सिल्भर भोलेन्टिएर परिचालन व्यवस्थापन समितिका संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, महानगरपालिकाको सन्तुलित विकासका लागि दक्ष र अनुभवी व्यक्तिहरुको ज्ञान, सिप र क्षमताले महसुस हुने नतिजा दिने अपेक्षा गर्नुभयो । समितिका सदस्य एवं कार्यपालिका सदस्य वीरेन्द्र प्रजापतीले, प्रशासनिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रगत अनुभवले दिगो विकासमा योगदान हुने अपेक्षा गर्नुभयो । 

    आयोगका सदस्य डा. सुरज काफ्ले र सुमन प्रधानले, विकासमा अनुभवको गुणात्मक महत्वमा जोड दिँदै विकासलाई महसुस गराउने ठाउँमा योगदान पुग्ने आशा राख्नुभयो । शारीरिक तथा मानसिक रूपमा सक्षम सेवा निवृत्त ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक सेवा कार्यमा परिचालन गर्ने महानगरपालिकाको कार्यक्रमले अनुकरण योग्य रहेको बताउनुभयो । 

    कार्यक्रमका लागि छानिनु भएका व्यक्तित्वहरुको विषयगत समूह निर्माण गरिनेछ । कार्यक्रम सञ्चालनका विषयमा आयोगका सहायक विज्ञ सुदिप ढकालले जानकारी दिँदै, समूहका संयोजकहरूले मासिक बैठक गरेर सम्पन्न काम तथा आगामी कार्यक्रमका बारेमा समूहमा जानकारी दिनुपर्ने, असल अभ्यास र सिकाइहरू प्रत्येक ३ महिनामा एक पटक सम्बन्धित समूहविच आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । यस्तै सहायक विज्ञ पुरुषोत्तम महतले योजना कार्यान्वयनलाई अनुभवले सहज बनाउने धारणा राख्नुभयो । 

    सहायक विज्ञ विवेक वास्तोलाका अनुसार महानगरपालिकाले सार्वजनिक सूचना आव्हान गरेपछि ११९ जना आवेदकले आवेदन दिनुभएको थियो । उहाँहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिनुभएको छ । यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिक लगायत क्षेत्रका व्यक्तित्व हुनुहुन्छ ।

    स्वयमसेवकका योग्यता 
    काठमाडौँ महानगरपालिका सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको छ । जस अनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैर आवासीय नेपाली, प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयमसेवा गर्न पाउनुहुन्छ । यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ । सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ । १ वर्ष अबधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ । शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ । स्वयमसेवा गर्न पूर्ण रूपले तत्पर र इच्छुक हुनुपर्छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन् । 

    कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र 
    भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ । यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट १ जना महिलासहित २ जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ । समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ । 

    महानगरपालिकाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन् । यससँगै सामाजिक सेवा प्रदान गर्ने संघसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य हुन् । यो काममा सहयोग पुर्‍याउन सरकारी, गैरसरकारी तथा निजी संस्थामा लामो समय काम गरी सेवा निवृत्त भएका वा कुनै विषयमा दक्षता हासिल गरेका ज्येष्ठ नागरिकहरूले आर्जन गरेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप हो । 

  • प्रकाशित मिति आइतबार​ २३ कात्तिक २०८२ ०३:०९ PM