उपप्रमुख र शिक्षा सल्लाहकारबाट दिवा खाजा कार्यक्रमको निरीक्षण

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र शिक्षा सल्लाहकार रेशु अर्यालले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको निरीक्षण गर्नुभएको छ । यसका लागि उहाँहरु शुक्रबार क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालय पुग्नुभएको थियो । विद्यार्थीहरुले खाजा खाने समय मध्यान्न ०१ः३० बजे विद्यालय पुगेर उहाँहरले करिब १ घण्टा समय विताउनुभयो । त्यस क्रममा उहाँहरुले दिवा खाजा पकाउने ठाउँ, खाने ठाउँका बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी विद्यार्थीहरुसँगै बसेर खाजा खानुभएको थियो । यसपछि कक्षा कोठाहरु, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, स्मार्ट सिकाइ प्रविधि, पुस्तकालय, स्यानिटरी प्याड भेन्डिङ् मेसिनको प्रयोगको अवलोकन गर्नुभएको थियो ।

दिवा खाजा तयार गर्ने जिम्मेवारी अभिभावकलाई दिनु कन्या मन्दिरको राम्रो पक्ष लाग्यो । अब खानाको गुणस्तर बढाउँदै लैजानुपर्छ । अवलोकनपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौँका स्कूलहरुलाई नमूना बनाउने क्रममा विद्यालयको विशेषताअनुसार फरक फरक प्रकृतिको बनाउनुपर्छ । दरबार हाइस्कूलको विशेषता कन्या मन्दिरसँग नमिल्न सक्छ । कन्या मन्दिर वातावरण सम्पदा नमूना विद्यालय हुन सक्छ । किनभने यो ऐतिहासिक इखा पुखुसँग जोडिएको छ । पुननिर्माणपछिको सम्पदामैत्री संरचना भएको छ ।’

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम धेरै प्रभावकारी कार्यक्रम हो । त्यस क्रममा शिक्षा सल्लाहकार अर्यालले भन्नुभयो, ‘सामुदायिक विद्यालयमा सहरका विपन्न परिवारबाट नानीबाबु अध्ययनका लागि आउँछन् । खाजाले एकातिर उनीहरुको शारीरिक विकासमा सहयोग पुगेको छ भने अर्कोतिर विद्यालय आउने वातावरण बनेको छ । यो धेरै राम्रो कार्यक्रम हो ।’

घरमा पर्याप्त खानेकुरा नभएका अभिभावकका लागि यो कार्यक्रमले ठूलो राहत दिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक घनश्याम न्यौपानेले भन्नुभयो, ‘हाम्रो विद्यालयमा आउने कतिपय विद्यार्थीहरु भोकै आउने पनि छन् ।’  

काठमाडौँ महानगरपालिकाभित्रका ८९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन छ । यी विद्यालयमा अध्ययनरत करिब ३२ हजार विद्यार्थीले दैनिक खाना खाने गरेका छन् । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी भन्नुहुन्छ, ‘सरकारले शिशुदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपैयाँ दिने गरेको छ । काठमाडौँ महानगरपालिकाले त्यसमा १० रुपैयाँ थपेर २५ रुपैयाँ बराबरको खाजा खुवाउने व्यवस्था गरेको छ । कक्षा ७ र ८ का लागि महानगरले प्रतिव्यक्ति २५ रुपैयाँ दिने गरेको छ ।’

कति विद्यार्थीले खाजा खाए? कसरी जानकारी लिनुहुन्छ? प्रश्नको उत्तरमा शिक्षा अधिकारी सुवेदीले भन्नुभयो, ‘विद्यार्थीको हाजिरी सञ्चालक समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रमाणित गरेर पठाएपछि त्यसैका आधारमा भुक्तानी हुन्छ ।’.

कन्या स्कूलले आइतबार सुख्खा रोटी र मिक्स तरकारी, सोमबार खाना, मिक्स तरकारी र दालको खुनाउने तालिका भान्छा कोठामा टाँसेको छ । मंगलबार हलुवा र मिक्स तरकारी, बुधबार भेज चाउमिन, विहीबार खीर र मिक्स अचार, शुक्रबार अण्डा—वेलंग, सिमी र पुरी खुवाउने तालिका छ ।

सम्बन्धित समाचार

Facebook Comments