Logo
  • वि.सं.: २०८३, भदौ २९ सोमबार

  • इ.स.: 2026 September 14,MONDAY

  • वि.सं.: २०८३, भदौ २९ सोमबार

  • गौरीघाट गुह्येश्वरी सडक खण्ड मौलिक स्वरुपमा पुनःस्थापना हुँदै : ढुङ्गा छाप्ने काम सुरु 

    'प्राचीन महत्वका क्षेत्रमा रहेका कालोपत्र हटाएर ढुङ्गा छाप्न थालेका हौँ '- वडाध्यक्ष, संगत 

    काठमाडौँ । काठमाडौँको गौरीघाट पुलदेखि गुह्येश्वरीसम्म करिब १ हजार ७ सय वर्गमिटर सडकमा ढुङ्गा छाप्ने काम थालिएको छ । महानगरपालिकाको वडा नं. ८ ले करिब ८७ लाख लागतमा पहिलो चरणको काम थालेको हो । दोस्रो चरणमा करिब १ हजार १ सय वर्गमिटर क्षेत्रफलमा ढुङ्गा छाप्न करिब ९० लाख रुपियाँको खरिद प्रक्रिया अगाडि बढेको छ । 

    निर्माण कार्यको थालनी गर्दै वडा नं. ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, पुरातात्विक महत्वका सम्पदा भएका क्षेत्रमा यस अघि कालोपत्रे गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधि अनुसार पुनःस्थापना थालेको बताउनुभयो । ‘पशुपति क्षेत्र, जयवागेश्वरी, नवाली टोल, गुह्येश्वरी जस्ता प्राचीन महत्वका स्थानहरु हाम्रो वडाका प्रचलित ठाउँ हुन् । यी क्षेत्रको ऐतिहासिकता र पुरातात्विक महत्वका स्थानहरुमा विकास गरिएका आधुनिक संरचनाको साटो मौलिक स्वरुप पुनःस्थापना अभियानलाई गन्तव्यमा लैजाँदैछौँ ।’ संगतले भन्नुभयो, ‘सेतोढोकादेखि जयबागेश्वरीसम्म, जय बागेश्वरीदेखि पशुपतिको ढोकासम्म, नवाली टोलका सहायक गल्लीहरु, तिलगंगा देउला टोलभित्रका सबै सडक र गल्लीमा ढुङ्गा छाप्ने काम सकेका छौँ ।’ उहाँले भन्नुभयो, ‘जय बागेश्वरीदेखि उमाकुण्ड र आसपासका गल्लीहरुमा काम सुरु हुँदैछ । दशैँ लगत्तै जयबागेश्वरीदेखि  भुवनेश्वरीसम्मको सडकमा ढुङ्गा छाप्ने काम गरिनेछ ।’ 

    गल्लीमा ढुङगा छापेर मौलिक स्वरुपमा पुनःस्थापना गर्ने कार्यका लागि मात्र वडाभित्र करिब साढे ४ करोड रुपियाँ खर्च भएको संगतको भनाइ छ ।
    गौरीघाट गुह्येश्वरी मार्गमा कालो रङ्गका, ४ इञ्च मोटाइका ढुङ्गा छापिनेछ । ढुङ्गाको तहभन्दा तल करिब ४ इञ्चको चुना ढलान राखिनेछ । यसरी गरिने काममा आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछैन । ढुङ्गा, स्टोन डस्ट, चुनालगायत सामग्रीको प्रयोग हुनेछ । 

    करिब साढे ३ सय मिटर लामो सडकको औसतमा ३ मिटर चौडाइमा ढुङ्गा छापिनेछ । यो सडकको केही खण्डमा दुवै साइडमा पर्खाल छ । यस क्षेत्रबाहेक अन्य क्षेत्रमा ढुङ्गा विछ्याउनेसँगै ल्याण्डस्केपिङ्, क्रस ढल निर्माण लगायतका काम हुनेछन् । 

    गुह्येश्वरी मन्दिरसम्मको काम सकिएपछि त्यसभन्दा अगाडि बस्तीतर्फको सडक स्तरोन्नति हुनेछ । निर्माण कार्यका लागि २०८३ असार ९ गते निर्माण पक्ष एट्रिक कम्पनीसँग सम्झौता गरेको हो । यसको निर्माण अवधि २०८३ मंसिर २९ गते सम्म हो । 

  • प्रकाशित मिति मंगलबार १६ भदौ २०८३ ०६:५० PM