Logo
  • वि.सं.: २०८३, कात्तिक २ आइतबार​

  • इ.स.: 2026 October 18,SUNDAY

  • वि.सं.: २०८३, कात्तिक २ आइतबार​

  • राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाबाट विपद प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श केन्द्र’

    बाढीको चोटले मानसिक तथा संवेगात्मक समस्यामा परेका व्यक्तिहरु लक्षित सेवाका लागि काठमाडौँ महानगरपालिकाले केन्द्र सञ्चालनमा

    काठमाडौँ । रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ । चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको सामना गरिरहेका नागरिक लक्षित केन्द्रमा मनोविदहरुले मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गर्नुहुनेछ । 

    यो केन्द्र महानगरपालिकाको स्वास्थ्य विभागले मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा सेवा प्रारम्भ गरेको हो । 

    केन्द्रमा प्रभावित व्यक्तिहरूले आफ्ना अनुभव, भावना तथा चिन्ता व्यक्त गर्न सक्ने सुरक्षित र सहयोगी वातावरण मिलाइएको छ । यसरी व्यक्त भएका भावनाबाट मनोवैज्ञानिक प्राथमिक उपचार उपलब्ध गराउनु केन्द्र सञ्चालनको मुख्य उद्देश्य रहेको विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिनुभयो । 

    के. सी. का अनुसार बाढीबाट घाइते भएर वा अन्य कुनै प्रभाव परेर काठमाडौँका अस्पताल तथा अन्य ठाउँमा बसिरहेका व्यक्तिहरुलाई सेवा प्रदान गरिनेछ । शारीरिक उपचारपछि मानसिक स्वास्थ्य परामर्शका लागि अस्पतालहरुले विरामीहरु केन्द्रमा पठाउन सक्नेछन् । केन्द्रले मानसिक स्वास्थ्य उपचार गर्नु पर्ने व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउनेछ । 

    महानगरपालिकाले सञ्चालन गरेको विपद व्यवस्थापन हेल्प डेक्स एवं विपद सूचना केन्द्रमा आएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा केन्द्रमा पठाइनेछ ।

    विपद्बाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श तथा भावनात्मक सहयोग प्रदान गर्नु, विपद्का कारण उत्पन्न डर, चिन्ता, तनाव, दुःख तथा अन्य भावनात्मक कठिनाइसँग सामना गर्न सहयोग गर्नु, थप मानसिक स्वास्थ्य सेवाको आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा उपयुक्त रेफरल (प्रेषण) को व्यवस्था गर्नु केन्द्रको काम हो । 

    केन्द्रबाट प्रभावित समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी सचेतना र जानकारी प्रदान गरिन्छ । स्वस्थ रहन तनावको सामना गर्ने क्षमता बढाउनु तथा व्यावहारिक तनाव व्यवस्थापनका उपायहरू प्रवर्धन गर्नु परामर्शदातालाई जिम्मेवारी प्रदान गरिएको छ । 

    बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका र सम्वेदनशील समूहहरूलाई विशेष ध्यान दिइन्छ । सहयोग प्रदान गरिन्छ । 

    सेवा लिने व्यक्तिहरुको व्यक्तिगत गोपनीयता र सम्मानलाई व्यावसायिक ढङ्गले सञ्चालन गरिनेछ । यसका लागि मनोसामाजिक सहयोग सम्बन्धी सिद्धान्त तथा मापदण्डहरूको पालना गरिनेछ । 

    यसबाट विपद्पश्चात् भावनात्मक तथा मनोवैज्ञानिक कठिनाइ भोगिरहेका व्यक्ति तथा परिवारहरूलाई समयमै सहयोग प्रदान हुने विश्वाश गरिएको छ । 

  • प्रकाशित मिति बिहीबार १८ भदौ २०८३ ०२:५६ PM