Logo
  • वि.सं.: २०८३, भदौ १९ शुक्रबार​

  • इ.स.: 2026 September 4, FRIDAY

  • वि.सं.: २०८३, भदौ १९ शुक्रबार​

  • २ लाख ६० हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिँदा ओपीडीहरुबाट सेवा लिनेको संख्या करिब १ लाख ५७ हजार 

    स्वास्थ्य सेवामा महानगरबासीको मन जित्दै महानगरपालिका 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा १ लाख ५६ हजार ६९६ जना सेवाग्राहीलाई ओपीडीमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । यो संख्या अघिल्लो बर्ष (आ. व. २०८१/०८२) मा ९९ हजार ९७ जना र आ. व. २०८०/०८१ मा ५५ हजार ८६६ जना थियो । स्वास्थ्य विभागले आ. व. २०८२/०८३ वार्षिक समीक्षा गर्दै यो तथ्याङ्क देखाएको हो । यो वर्ष महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरघरमा पुगेर १ लाख ४४ हजार २१६ जनालाई सेवा प्रदान गर्नुभयो । महानगरपालिकाबाट स्वास्थ्य सेवा लिनेको संख्या २ लाख ६० हजार जना रहेको छ । 

    सेवा लिन आउने सेवाग्राहीहरुको अवस्था हेर्दा सहर क्रमशः नसर्ने खालका रोगहरुको समस्यातिर लागि रहेको देखाउँछ । गएको वर्ष सेवा लिन आउनेमध्ये ४० हजार ३८६ जना उच्च रक्तचाप, २२ हजार ५०१ मधुमेह, ४ हजार ४०७ जना दम, १ हजार २५७ जना क्रोनिक किड्नी डिजिजका विरामीलाई सेवा दिइएको छ । यस वर्ष मानसिक स्वास्थ्य समस्या भएका १ हजार २४ जनालाई सेवा प्रदान गरियो । यसमा एन्जाइटी भएका ४२५ जना र आत्महानी तथा मृत्युवरणको सोच राखेका या कुनै न कुनै समयमा यसको प्रयास गरेका ११६ जना व्यक्तिलाई सेवा प्रदान गरियो । यी सबै समस्या नसर्ने खालका र जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्या हुन् । 

    सर्ने खालका समस्या हेर्दा, यस वर्ष ११२ जनामा मात्र डेङ्गी देखियो । जुन, अघिल्लो बर्ष कम हो । क्षयरोग नियन्त्रणतर्फ ७६९ जना नयाँ बिरामी पहिचान गरिएकोमा उपचार सफल हुने दर ९६ प्रतिशत रह्यो । 

    सम्पन्न आ. व. को नीति, रणनीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा पछि बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले भन्नुभयो, ‘हामीले असल अभ्यास स्थापित गर्नुपर्छ । यो अभ्यास सबै स्थानीय तहका लागि अनुसरण योग्य हुनुपर्छ ।’ नागरिकसँग प्रत्यक्ष जोेडिएको स्वास्थ्य सेवामा प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै निरोगात्मक तथा प्रवर्धनात्मक स्वास्थ्य सेवालाई बढाउँदै लैजानुपर्छ, अर्यालले आगामी दिनमा केन्द्रित हुनुपर्ने कामको बाटो देखाउनुभयो । 

    काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवासँग सम्बन्धित तथ्यांकले जिल्ला तहका कार्यक्रम तर्जुमा तथा अवस्था आंकलनमा सहयोग गर्छ । समीक्षामा जनस्वास्थ्य प्रशासक एवं स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेले, महानगरपालिकाको विस्तारित स्वास्थ्य सेवाले ठुला अस्पतालहरुमा चाप कम हुँदै गएको बताउनुभयो । 

    स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. का अनुसार विभागअन्तर्गत स्वास्थ्य प्रवर्धन केन्द्र, अक्युपङ्चर सेवा, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्र, रामघाट प्राथमिक स्वास्थ्य केन्द्रसहित ३५ सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । यी केन्द्रहरुमध्ये खोप कार्यक्रम, सुरक्षित मातृत्व, पोषण कार्यक्रम, प्रयोगशाला र फिजियोथेरापी ३२ वटा केन्द्रमा उपलब्ध छन् । १० वटामा स्वास्थ्य बिमा कार्यक्रम र २२ वटामा क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालनमा छन् । सुरक्षित गर्भपतन सेवा ६ वटामा उपलब्ध छ । २ वटामा आयुर्वेद तथा वैकल्पिक उपचार, ३ वटामा भिडियो एक्सरे, ७ वटामा एक्सरे सेवा उपलब्ध छ । 

    ६ हजार ९२२ जनालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरियो । ३ हजार जनालाई ज्येष्ठ नागरिकलाई न्युमोनिया विरुद्धको खोप प्रदान गरियो । ७० वर्ष उमेर पूरा भएका ४ हजार ३६२ जना ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा स्वास्थ्य अवस्थाको सर्वेक्षण गरियो । 

    जनस्वास्थ्य निरीक्षक नन्दकिशोर मण्डलका अनुसार एचपीभी खोप अभियान अन्तर्गत ८८.८६ प्रतिशत लक्ष्य हासिल गर्दै ७ हजार ५१४ किशोरीलाई खोप प्रदान गरियो । १० प्रतिशत निःशुल्क उपचार कार्यक्रम अन्तर्गत १०४ जनालाई सुविधा प्रदान गरियो । कडा खालका ८ वटा रोगको उपचारका लागि ६१९ जनालाई उपचार सिफारिस प्रदान गरियो । रक्तदान कार्यक्रमबाट १० हजार ६९५ पिन्ट रगत 
    संकलन गरियो । २ हजार ९४१ पिन्ट रगत र रक्ततत्व महानगरबासीलाई निःशुल्क उपलब्ध गराइयो । 

    सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार ५२७ विद्यार्थीको आँखा जाँच  गरियो । आँखा जाँचिएकामध्ये १ हजार ३ जनालाई निःशुल्क चश्मा वितरण गरियो । विद्यालयमा अध्ययनरत १४ हजार विद्यार्थीमा जन्मजात मुटु रोग र बाथ मुटु रोगको परीक्षण गरियो । यसमा २६६ जनाको इको गर्दा ६ जनालाई थप उपचारका लागि रिफर गर्नु पर्ने अवस्था भेटियो । सामुदायिक विद्यालयमा अध्ययनरत ६ हजार ७७० जनामा रक्तअल्पता स्क्रिनिङ् गर्दा ७५० जनामा रक्तअल्पता देखिएको छ । यसरी रक्त अल्पता देखिएका छात्राहरुलाई  खानपान र जीवनशैली सुधार गर्न परामर्श र औषधि प्रदान गरिएको थियो । 

    वीर अस्पतालसँगको सहकार्यमा २ हजार ९७५ जना महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दा ९० जनामा प्रारम्भिक समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा ७३७ जना महानगरबासीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरियो । 

    विभिन्न अवसर विशेष स्वास्थ्य परीक्षण कार्यक्रमबाट ८ हजार ९९० जनालाई सेवा प्रदान गरियो । 

    विभागले आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट कार्यक्रम सञ्चालन गर्छ । यस वर्ष आन्तरिक स्रोतबाट ८३ करोड ५४ लाख ५० हजार ७ सय रुपियाँ विनियोजित थियो । यसमा ४२ करोड ९२ लाख २४ हजार ५०१ रुपियाँ खर्च भएको छ । नेपाल सरकारबाट प्राप्त १० करोड ४० लाख ६३ हजार २ सय रुपियाँमध्ये ९ करोड २३ लाख ५४ हजार ३२३ रुपियाँ र बागमती प्रदेश सरकारबाट प्राप्त २ करोड १९ लाख रुपियाँमध्ये २ करोड ७ लाख ७८ हजार २५६ रुपियाँ खर्च भएको छ ।  ७८.९४ प्रतिशत भौतिक प्रगति र ५६.४१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । 

    यसलाई प्रतिशतमा हेर्दा आन्तरिकतर्फ ५१.३८ प्रतिशत वित्तीय र ७८.५० प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारको सशर्त अनुदानतर्फ ८८.७५ प्रतिशत वित्तीय र ७५ प्रतिशत भौतिक प्रगति र प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९४.८८ प्रतिशत वित्तीय र ८३.३३ प्रतिशत भौतिक प्रगति भएको छ । 

    समीक्षा कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो । 

  • प्रकाशित मिति शुक्रबार​ १९ भदौ २०८३ ०४:४७ PM