Logo
  • वि.सं.: २०८३, भदौ २१ आइतबार​

  • इ.स.: 2026 September 6,SUNDAY

  • वि.सं.: २०८३, भदौ २१ आइतबार​

  • काठमाडौँको रात्रि यातायातका लागि २८ वटा बस र ६ वटा नयाँ रुट प्रस्ताव 

    अन्तर नगर यातायात सञ्जाल विकास गर्न स्थानीय तहहरुको सहभागिता सुनिश्चित गरेर सेवा थाल्नेछौँ – कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गरिने जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना तयारीमा रहेको बताउनुभएको छ । २०८३ वैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा शिफारिस कार्यदलले बुझाएको प्रतिवेदनको सारमा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

    काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो । अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य हुनुहुन्थ्यो ।  

    ३ महिनाको समीक्षा 
    प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गर्दै गरिएको थियो । यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपियाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपियाँ रहेको छ । यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ । 

    अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ । 

    रुटअनुसारको चाप हेर्दा, थानकोट एअरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार देखिन्छ । यसरी यात्रा गर्ने यात्रीमध्ये ४७ प्रतिशत यात्रीले छोटो दुरी अर्थात् ५ किलोमिटरभित्रको दुरीमा यात्रा गर्नुभएको थियो । ३२ प्रतिशत यात्री मध्यम दुरीका र २१ प्रतिशत यात्री लामो दुरीका हुनुहुन्थ्यो । छोटो दुरीका भाडा २० रुपियाँ, मध्यम दुरीको भाडा २५ रुपियाँ र लामो दुरीको भाडा ३० रुपियाँ हो । 

    अहिले ७ वटा बसबाट नागढुङ्गा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्‍याउन समितिले सिफारिस गरेको छ । प्रस्तावित नयाँ रुटहरूमा गोदावरी-बुढानीलकण्ठ, चक्रपथ (रिङरोड)मा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल बायु सेवासम्म रहेका छन् । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन ।

    वित्तीय दिगोपनाका लागि प्रिमियम भाडा र लागत साझेदारी
    रात्रिकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विधि प्रस्ताव गरेको छ । 

    रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सकिने समितिले दिएको सुझावको पहिलो विकल्प हो । 

    सेवामा हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने (भाइबीलिटी ग्याप फण्डिङ) मोडल दोस्रो प्रस्ताव हो । 

    यात्रीहरुमा वास्तविक अवस्थिति र समयतालिका हेर्न सकिने प्रविधि लगायत यात्रीहरुमा विश्वाश र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउने समितिले दिएको तेस्रो विकल्प हो । 

    प्रतिवेदनले रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्ने भनेको छ । यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ र ‘डेडिकेटेड’ बस स्टपहरूको व्यवस्था गर्न सुझाइएको छ ।

    काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा यो सेवा विस्तार गरिएमा उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले औँल्याएको छ । संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत यसको नियमन र सुशासन कायम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । 

    सुरुवाती तीन महिना (वैशाख-असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा सेवा सञ्चालन गरिएको थियो ।

    यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरेको छ । 

  • प्रकाशित मिति आइतबार​ २१ भदौ २०८३ ०४:२८ PM