वि.सं.: २०८३, भदौ २२ सोमबार
इ.स.: 2026 September 7,MONDAY
वि.सं.: २०८३, भदौ २२ सोमबार
वडाले असोज १७ गते क्यान्सर शिविर आयोजना गर्ने : कार्यवाहक प्रमुखको रोहवरमा अस्पतालसँग सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निःशुल्क स्वास्थ्य जाँच गराउने भएको छ । स्वास्थ्य जाँच शिविर आयोजना गर्न वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा आज वडाध्यक्ष योगेश खड्गी र अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडाको महत्वपूर्ण कार्यक्रम थालिएको छ । यसलाई बढाउँदै हामी क्यान्सरमुक्त महानगरको लक्ष्यमा पुग्नेछौँ ।’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ । हामीले यस अघि गरेका अभियानबाट पनि यो अवस्थामा पुग्ने सम्भावना देखिएको छ ।’
‘हामीले विभिन्न अभियान र कार्यक्रममार्फत वडाबासीलाई रोग लाग्नु अगाडि नै सतर्कता अपनाउन प्रोत्साहित गरिरहेका छौँ । खासगरी भित्री वडाका स्थानीयहरु रोग लाग्नु पूर्व जाँच गर्न जाने गर्नुहुन्न । यसकारण उहाँहरुलाई घरमै पुगेर सेवा लिन लागेका हौँ । कोही पनि वडाबासीले क्यान्सर लागेर धेरै पैसा खर्च गर्नु नपरोस् । पारिवारिक समस्या भोग्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’ वडाध्यक्ष खड्गीले भन्नुभयो, ‘आँगनमै भएको शिविरबाट धेरै महिलाहरुले लाभ लिनुहुनेमा आशावादी छौँ ।’
‘वडाको यो तत्परता सराहनीय छ । यस्ता कार्यक्रमले विशेषज्ञ अस्पतालहरुमा विरामीको चाप कम हुन्छ । र जो सेवा लिन जानुभएको छ । उहाँले राम्रो सेवा पाउनुहुनेछ ।’ अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले भन्नुभयो, ‘परीक्षणका क्रममा कसैलाई खराबी देखियो भने उपचार गराउन सकियोस् । समस्या देखाएर मात्र हुँदैन । समाधान पनि दिनु पर्छ भन्नेमा सचेत भएर काम गर्नेछौँ ।’
शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि अत्याधुनिक एचपीभी डीएनए परीक्षण गरिनेछ । यसका साथै स्तन क्यान्सर र अन्य स्त्री रोगहरूको पनि प्रारम्भिक जाँच गरिनेछ ।
प्रारम्भिक जाँचका क्रममा कुनै जटिल समस्या देखिएमा वा डाक्टरको सल्लाह बमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती कर्मचारी अस्पतालमा क्यान्सर हुनु पूर्वको परिवर्तन थाहा पाउने परीक्षण भीआइए र कोल्पोस्कोपी, बायोप्सी र तल्लो पेटको भिडियो एक्सरे (एब्डोमिन युएसजी) तथा स्तनमा समस्या देखिए स्तनको अल्ट्रासाउण्ड र मेमोग्राम गराइनेछ ।
अस्पतालले परीक्षणको नतिजा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनेछ । रिपोर्टको आधारमा आवश्यक उपचारको परामर्श समेत दिनेछ ।
काठमाडौँ महानगरपालिकाले यस प्रकारका शारीरिक समस्यालाई जटिल हुन नदिन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । समय समस्या थाहा नपाउँदा रोग जटिल बन्दै गएको वर्तमान सन्दर्भमा यस्ता कार्यक्रमले जनस्तरमा प्रत्यक्ष लाभ दिने अपेक्षा गर्न सकिन्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App