वि.सं.: २०८३, भदौ २३ मंगलबार
इ.स.: 2026 September 8,TUESDAY
वि.सं.: २०८३, भदौ २३ मंगलबार
जेनजी सहिद दिवसका अवसरमा कार्यवाहक प्रमुखबाट प्रतिवद्धता व्यक्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलता मार्फत सहिदहरुको सपना पूरा गर्न काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । जेन्जी सहिद दिवसको सन्दर्भमा उहाँले, गएको वर्ष भदौ २२ र २३ गते सुशासन र भ्रष्टाचारमुक्त आचरणको मुद्दा अघि सारेर गरिएको आन्दोलन र त्यस अघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र महानगरपालिकाका तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
‘स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि विक्रम संवत् १९९७ सालदेखि गएको वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र संघर्षहरू भएका छन् । आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र संघीय शासन व्यवस्था यिनै महान आन्दोलनहरूको जगमा उभिएको उपलब्धि हो ।’ व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै डंगोलले, आन्दोलनका क्रममा घाइते हुनुभएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पित गर्नु हुने सम्पूर्ण योद्धाहरू र अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
‘काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनहरूको प्रत्यक्ष साक्षी हो । शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्छ भन्ने सन्देश काठमाडौँले सधैँ मुखरित गर्दै आएको छ । त्यसैले, काठमाडौँ महानगरपालिका सहिदका सपना र नागरिकका अपेक्षाहरू पूरा गर्न दृढ संकल्पित छ । यही मार्गदर्शनलाई आत्मसात् गर्दै हामी जनप्रतिनिधिहरू अहोरात्र सेवामा जुटिरहेका छौँ ।’ उहाँले बताउनुभएको छ ।
‘हामी सरकारी सेवालाई झन्झटमक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्याउने ‘नागरिकमैत्री शासन’ स्थापना गर्न प्रतिबद्ध छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक तथा नैसर्गिक अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी दृढताका साथ अगाडि बढिरहेका छौँ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण नै हाम्रो मूल लक्ष्य हो ।’ सहिदले देखाएको बाटो पछ््याउँदै हिँडेको बताउँदै उहाँले, स्थानीय अर्थतन्त्रको प्रवर्धन र पूर्वाधार विकास मार्फत आम नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन तथा ‘जेनजी’ आन्दोलन लगायतका विभिन्न संघर्षहरूबाट प्राप्त जनमत पूरा गर्न निरन्तर खटिएको बताउनुभयो ।
परिवर्तनको अनुभूति हुने वातावरणका विषयमा उहाँले, परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको बताउनुभएको छ ।
समृद्ध नेपालको परिकल्पना साकार पार्ने सहिदहरूको सपना उधृत गर्दै उहाँले भन्नुभयो, ‘काठमाडौँलाई न्यायपूर्ण, सुशासित र बस्न योग्य सहर बनाउने हाम्रो अभियान जारी छ । यस अभियानले राष्ट्रिय समृद्धिका लागि समेत महत्वपूर्ण योगदान पुर्याउनेमा हामी विश्वस्त छौँ । सहिदहरूले देखाउनुभएको बाटो र नागरिकले हामीमाथि गर्नुभएको भरोसा नै हाम्रो मार्गदर्शन हो । यही मार्गमा अविचलित भई हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने सहिदहरूको आत्माले चिर शान्ति पाउनेछ भन्ने हाम्रो अटल विश्वास छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App