काठमाडौँ महानगरले सबै जातजातिलाई समान व्यवहार गर्छ - उपप्रमुख डंगोल
काठमाडौँ । 'काठमाडौँ महानगरको पहिचान भनेकै मूर्त अमूर्त सांस्कृतिक सम्पदा हुन् । यी सम्पदा जोगाउन समुदाय ठूलो भूमिका छ ।' महानगरकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, 'मूर्त सम्पदासँग अमुर्त सम्पदाको सम्बन्ध अन्तरनिहित छ । यी दुवै प्रकारका सम्पदा बचाउन नेवार समुदायका गुठीगहनाको ठूलो भूमिका छ । हामी परम्परागत सबै समुदायलाई समान रुपमा व्यवहार गर्छौँ ।'
आज काठमाडौ महानगरभित्रका खड्गी समुदायका ३२ वटा गुठी र नाय खिँ बाजा खलका थकाली र गुरुहरुले आफ्ना समुदायले महानगरबाट पाउँदै आएको सहयोग नपाएको गुनासो सुनिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
महानगरबाट कुनै गुठीलाई सहयोग गरिएको कसैलाई नगरिएको गुनासोका सन्दर्भमा कुरा गर्दै उपप्रमुख डंगोलले, नेवार समुदायभित्रको सांस्कृतिक विविधता काठमाडौँको सौन्दर्य भएकोले सबै गुठी गहनालाई समान व्यवहार गर्ने बताउनुभयो । बिगतमा के भएको थियो, सुधार गर्नुपर्ने केही भए र प्रक्रियाले मिल्ने भए त्यसमा ध्यान दिने उहाँको भनाइ छ ।
काठमाडौँ महानगरले महानगरबासीको हितसँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय गरिमाका कोणबाट काम गर्नुपर्ने उपप्रमुख डंगोलको भनाइ छ ।