वि.सं.: २०८३, असोज २८ बुधबार
इ.स.: 2026 October 14,WEDNESDAY
वि.सं.: २०८३, असोज २८ बुधबार
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखको प्रमुख संयोजकत्वमा मूल समारोह समिति र कार्यान्वयन समितिसँगै १३ वटा उपसमिति गठन
काठमाडौँ । सम्यक् महादान मूल समारोह समितिले ५ वटा उपसमितिका संयोजक र सदस्यहरुका बिचमा तयारी बैठक गरेको छ । आज महानगरपालिकाको कार्यपालिका बैठक कक्षमा उपसमितिका सदस्यहरुका बिचमा परिचय, यस सम्पन्न काम, अब तत्काल गर्नु पर्ने काम, महादान हुने दिनसम्म गर्नु पर्ने काम र त्यसपछिका दायित्वका विषयमा उपसमितिका संयोजक तथा सदस्यहरुको भूमिकाका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो ।
बैठकमा बोल्दै मूल समारोह समितिका प्रमुख संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महत्वपूर्ण काम गर्न लागिएको बताउँदै कामलाई सफलतापूर्वक सम्पन्न गर्न रातदिन काम गर्नु पर्ने भएको बताउनुभयो । ‘हामीसँग समय कम छ । रातदिन काम गरौँ । पर्वका नियमित तालिका अर्को वर्ष पनि आउँछन् । तर, महादानको तयारी अर्को वर्ष गर्नुपर्दैन । यसकारण यस वर्ष महादानका लागि जुटौँ ।’ उहाँले भन्नुभयो, ‘यसमा कसैलाई छुटाउने वा नियत छैन । यदि कसैलाई आफू छुटेको महसुस हुन्छ भने सचिवालयमा सम्पर्क राखेर आफ्नो भूमिका बताइदिन पनि अनुरोध छ ।’ डंगोलले सहभागिता र अपनत्वको विषय उठाउँदै भन्नुभयो, ‘महानगरपालिकाले निश्चित मात्र बजेट विनियोजन गरेको छ । यसले पुग्दैन हामीलाई थाहा छ । महानगरपालिकाको बजेट आधारभूत कामका लागि हो । यसबाहेक महादानलाई जीवन्त बनाउन र यसको मौलिक स्वरुप कायम राख्न दाताहरुको महत्वपूर्ण भूमिका हुन्छ । दान प्रदान गर्नाले नै परम्परा जीवन्त बन्छ । म यसका लागि पनि आग्रह गर्न चाहन्छु ।’
सम्यक् महादानलाई कार्यक्रमका रुपमा मात्र हेरेका छैनौँ । यसबाट सम्यक् गर्ने विधि र प्रक्रियालाई दस्तावेजीकरण पनि गर्दैछौँ । पुस्ताका लागि यो महत्वपूर्ण हुनेछ । डंगोलको भनाइ थियो ।
त्यस क्रममा मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले, हराउन लागेको, अहिलेको पुस्ताले बिर्सनै लागेको परम्परा काठमाडौँ महानगरपालिकाको नेतृत्वमा आयोजना लागेकोले यसमा सबै एक साथ लाग्नु पर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पनि थोरै समयमा धेरै काम गर्नु पर्ने अवस्था औँल्याउँदै सबै मिलेपछि कम समयमा पनि सफल कार्यक्रम आयोजना गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।
‘हामीले ५ वटा उपसमिति गठन गरिसकेका छौँ । अरु उपसमितिहरुलाई पनि पूर्णता दिनेछौँ ।’ प्रा. डा. बज्राचार्यले बताउनुभयो ।
‘अहिले संस्कार, संस्कृति र परम्पराको कुरा गर्दा कतिपय चलनको दायित्व भएका व्यक्ति तथा समूहको भूमिका ‘चाहिन्छ र?’ भन्ने अवस्थामा पुगेको छ । तर, यो ‘चाहिन्छ र? होइन, जसरी पनि चाहिन्छ भन्ने बनाउनु पर्छ ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘सम्यक् पैसा भएर मात्र पनि गर्न सकिने संस्कार होइन । यहाँ त पैसाभन्दा महत्वपूर्ण कुरा भनेको सम्बन्धित समुदायको सुनिश्चित सहभागिता हो । यसका लागि हामी खुला छौँ । हामीले कसैलाई छोडेर अगाडि जान चाहेका छैनौँ । यदि कोही छुट्नु भएको छ भने जानेर छुटाइएको होइन । छुटेकालाई सँगै लिएर जान्छौँ ।’
सम्यक् हेर्ने उपत्यकाबासीको रहर पुरा हुँदै गरेको बताउँदै वडा नं. १५ अर्थात् महादान आयोजना हुने स्थल रहेको वडाका अध्यक्ष ईश्वरमान डंगोलले, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्पराको पुस्तान्तरण नै महादान आयोजनाको उद्देश्य रहेको बताउनुभयो ।
‘हामी सम्पूर्ण तयारी गर्दै माघ १ को व्यग्र प्रतिक्षामा छौँ ।’ डंगोलले भन्नुभयो, ‘लोप हुन लागेका परम्परा उजागर गर्नु पर्ने दायित्वमा दत्तचित्तले काम गरिरहेका छौँ ।’
सम्यक् महादानका संयोजक प्रा. डा. बज्राचार्यका अनुसार नेपाल मण्डलमा सम्यक महादान २ प्रकारले गर्ने गरिएको पाइन्छ । एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ । यसलाई ऐच्छिक सम्यक् भनियो । अर्को गुठीबाट गर्ने गरिएको सम्यक् हो । जसलाई गुठी सम्यक् भनियो । काठमाडौँमा गुठी सम्यक् ३ भिन्नाभिन्नै खलकले हरेक ४ वर्षमा समूहले गर्ने गर्थे । पछि यी ३ वटै समूह मिलेर हरेक १२ वर्षमा १ चोटी गर्दै आएका थिए । अहिले गुठी सम्यक् नभएको २२ वर्ष भयो । ऐच्छिक सम्यक् नभएको २५ वर्ष भयो । यी दुवै सम्यक् लामो समयसम्म नभएकोले महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत यस वर्षको सम्यक् आयोजना गर्न लागेको हो ।
सम्यक् सञ्चालन तथा व्यवस्थापन लगायतका कामका नीतिगत काम गर्न असोज ८ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ, काठमाडौँका अध्यक्ष शुभकाजी शाक्य, उराय् समाज, काठमाडौँका सदस्य डा. सुमनकमल तुलाधर सहसंयोजक हुनुहुन्छ । मूलश्री महाविहार काठमाडौँका समज्वल बज्राचार्य मूल समारोह समितिका सदस्य सचिव हुनुहुन्छ ।
यस्तै कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ । समितिको उपाध्यक्षमा प्रा. डा. नरेशमान बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता
नविन मानन्धर, विषयगत समितिका संयोजकहरुमा ईश्वरमान डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेशकुमार श्रेष्ठ, राजेन्द्र मानन्धर, मचाराजा महर्जन, विनोद कुमार राजभण्डारी, राजेश डंगोल, योगेश खड्गी हुनुहुन्छ । यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, महानगरपालिकाका प्रशासन विभाग, वित्त विभाग, स्वास्थ्य विभाग, वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलका प्रमुख सदस्य हुनुहुन्छ । समितिमा शाक्य महाविहार संघ काठमाडौँका अध्यक्ष शाक्य, उराय् समाज काठमाडौँका सदस्य डा. तुलाधर, मूलश्री महाविहारबाट बज्राचार्य, मञ्जुश्रीरत्न बज्राचार्य, संघरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य सदस्य हुनुहुन्छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने यस समितिमा प्रमुखले ९ जना सदस्य तोक्नुहुनेछ ।
कार्यान्वयन समिति मातहतमा रहेर क्षेत्रगत काम गर्नका लागि १३ वटा उपसमिति गठन भएका छन् । यसमा मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा ४४ सदस्यीय पुजा, दान, दाता उपसमिति गठन भएको छ । संघरत्न शाक्यको संयोजकत्वमा १५ सदस्यीय देवता निमन्त्रण उपसमिति, अमीरमान शाक्यको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक उपसमिति, डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा १० सदस्यीय अभिलेखन तथा प्रकाशन उपसमिति गठन भएको छ ।
यसै गरी महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख रामप्रसाद सापकोटाको संयोजकत्वमा ७ सदस्यीय स्थान व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
सम्यक् भोजन व्यवस्थापन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, यातायात तथा ढुवानी उपसमिति, स्वास्थ्य उपसमिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, सुरक्षा उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमितिमा संयोजक तथा सदस्य तोक्न बाँकी छ ।
मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । महादान पछिल्लो पटक २०६१ सालमा आयोजना गरिएको थियो ।
बौद्धहरुले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रुपमा समावेश हुन्छ । नेपालमा दान अभ्यासका लागि नियमित बार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महा सम्यक् दानहरु पर्वकै रुपमा मनाइँदै आएका छन् । साथै यी दानहरु नीजि तजविजमा ऐच्छिक रुपमा समर्थवान् श्रद्धालु व्यक्तिहरुले आयोजना गर्ने गरेको विगत अभ्यास हो ।
यी विभिन्न प्रकारका दान चर्याहरु मध्ये ‘सम्यक् महादान’ सबभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध (देवमूर्तिहरु) लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरहरुका देव, देवीहरुलाई निमन्त्रणा गरी विराजमान गराउनु पर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दान दक्षिणा चढाउनु पर्ने, राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नु पर्ने, साथै आएजति संघ अर्थात् नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु, चैलक भिक्षुहरु सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी बस्तुहरु पूर्ण तयारीका साथ दान अर्पण गर्नु पर्छ ।
यो परम्परालाई निरन्तरता दिन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौँ उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको सम्यक् महादान जस्तो मानवीय, करुणामयी र व्यापक जनएकता गराउने सम्यक् महादान सञ्चालन गर्ने कार्यक्रम पारित गरेको छ । यसले काठमाडौँ महानगरवासी र उपत्यकाका अन्य बौद्धमार्गी नेवार समुदायलाई एकीकृत र सामुहिक कल्याणकारी कार्यमा सहभागिता मात्र गराउँदैन, मानव जाती र समग्र चराचर जगतको कल्याणको कामना गर्ने पवित्र भावनालाई समेत संस्थागत गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App