उपप्रमुख डंगोलबाट देवी नाच देवता घरको अनुगमन
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले दी प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को अनुगमन गर्नुभएको छ । आज सार्वजनिक निर्माण विभागका प्रमुख राम थापा, योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यसहित उहाँ निरीक्षणका लागि पुग्नुभएको थियो । त्यस क्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा सदस्य हेराशोभा डंगोल र गुठीयारहरु सहभागी हुनुहुन्थ्यो ।
देव घर महानगरपालिकाको वडा नं. १८ बिज्यापुननी, किलागलमा छ ।
निरीक्षणका क्रममा उहाँले निर्माण शैली, यसको प्राविधिक पक्ष, तलाहरुको उपयोगजस्ता विषयमा जानकारी लिनुभएको थियो ।
अनुगमनका क्रममा नाचका नायो, कजि र गुरुसहित गुठियारहरुको एउटै माग थियो । देव घर पुननिर्माण गर्न थालेको धेरै भयो । अहिलेकै गतिमा काम गर्दा निर्माण सकिँदैन । देव घर निर्माण सम्पन्नताका लागि महानगरले थप सहयोग गर्नुपर्छ ।
गुठीयारहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, कानुनले दिएको अधिकारभित्र रहेर सहयोग गरिने बताउनुभयो ।
परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेकोले यस्ता सम्पत्तिको सुरक्षामा आफ्नो लक्ष्य स्पष्ट भएको उपप्रमुख डंगोलको भनाइ थियो ।
मठ मन्दिर पुननिर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दररेट र बजारको भाउ नमिलेर समयमा काम हुन सकेन । देवी नाच देवघरका गुठीयार नरेन्द्र महर्जनको भनाइ थियो । ‘कुमारीको प्रतीकका रुपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन । बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ पाइँदैन । यस्ता समस्याका कारण सम्पदाको मौलिकता कायम गराउन कठिन भयो ।’ गुठीयारहरुले कानुनी व्यवस्थासँग पुननिर्माणको बेमेलका प्रसङ्ग सुनाउनुभएको थियो ।
त्यस क्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, देवघर पुननिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिनेृ बताउनुभयो । समयमा निर्माण सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । महर्जनको भनाइ थियो ।
देवघरका कजि नातिकाजी महर्जनले भवन निर्माण सम्पन्न भएपछि देवी नाचसँग सम्बन्धित सांस्कृतिक र सामाजिक काम गर्न धेरै सहज हुने धारणा राख्नुभयो ।
६ करोड रुपैयाँ लागत अनुमान र योजना गरेर देव घर पुननिर्माण थालिएको हो । महानगरले यसका लागि पहिलो बर्ष १ करोड रुपैयाँ र क्रमागत योजनाअन्तर्गत दोस्रो बर्ष १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
भवन ७ तलाको छ । देवी नाचमा ७ जना देवगण हुने भएकोले भवनलाई ७ तले बनाइने भएको हो ।
यस बर्ष इन्द्रजात्राका अवसरमा भोलिबाट नाच प्रदर्शन सुरु हुँदैछ ।
आजै बालाजु पार्कको अनुगमन
देवी नाच देवघरको अनुगमन पछि उपप्रमुख डंगोल वडा नं. १६ मा रहेको बालाजु बाइसधारा पार्कको अनुगमनमा जानुभएको थियो ।
त्यस क्रममा पार्कका प्रमुख दामोदर लामाले, पार्कको वर्तमान अवस्था र पुननिर्माणको प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।