Logo
  • वि.सं.: २०८३, असोज ३० शुक्रबार​

  • इ.स.: 2026 October 16, FRIDAY

  • वि.सं.: २०८३, असोज ३० शुक्रबार​

  • काठमाडौँ महानगरपालिकाबाट बाइक एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

    'एम्बुलेन्स पुग्नु अघिको जोखिम घटाउन तालिम प्राप्त मेडिकल टीमका लागि बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ' - कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स प्रयोगमा ल्याएको छ । यी एम्बुलेन्स सञ्चालन गर्न नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौँ प्लाजाबाट सेवा प्रारम्भ गर्नुभएको हो । 

    ‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्‍याउन यो सेवा थालेका हौँ ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन् । यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय)’ मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पु¥याउन यसप्रकारको सेवा थालेका हौँ ।’ 

    एम्बलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नु, अवस्थालाई थप बिग्रिन नदिनु एम्बुलेन्समा जाने इएमटी (इमर्जेन्सी मेडिकल टीम) को काम हुनेछ । विरामीलाई यति गर्दा गर्दै एम्बुलेन्स आउनेछ । त्यसपछि थप उपचारका लागि अस्पताल लगिनेछ । 

    यो एम्बुलेन्सको विकल्प होइन । यसले बिरामी बोक्ने पनि होइन । तर, बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीलाई घटना स्थल वा विरामी भएको स्थलमा पुग्न छिटो साधन हो । डंगोलले, बाइक एम्बुलेन्स सञ्चालनमा आएपछि घरमै वा घटना स्थलमै हुने मृत्युको दर घटाउन मद्दत पुग्ने अपेक्षा गर्नुभयो । 

    एम्बुलेन्स सेवा लिनका लागि १०२ नं. मा फोन गर्नुपर्छ । बाइक एम्बुलेन्स इएमटीले सञ्चालन गर्नुहुनेछ । उहाँसँग ‘रेड ब्याग’ हुनेछ । रेड ब्याग भनेको, प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने सबै खालका एकसरो सामान, साधन तथा उपकरण भएको झोला हो । 

    त्यस क्रममा बोल्दै नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले भन्नुभयो, ‘आकस्मिक स्वास्थ्य सेवाका लागि काठमाडौँ महानगरपालिकाको लगानीबाट मानिसहरुले जीवन प्राप्त गरिरहेको धारणा राख्नुभयो ।’ बाइक एम्बुलेन्स प्रयोगका बिषयमा उहाँले भन्नुभयो, ‘यसको प्रयोग र लाभलाई घटनाको विवरण र तथ्यमा राखेर महानगरपालिकालाई प्रदान गर्नेछौँ ।’

    ‘यो कार्यवाहक प्रमुखको अर्गानिक सोच हो । यसबाट नागरिकलाई प्रत्यक्ष लाभ हुनेछ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. ले भन्नुभयो, ‘परीक्षण अवधिको समीक्षापछि यसको विकास र विस्तारको योजना बनाइनेछ ।’

    बाइक एम्बुलेन्स सञ्चालनका लागि आज नै द्विपक्षीय सम्झौता भएको छ । 

  • प्रकाशित मिति शुक्रबार​ ३० असोज २०८३ ०४:५३ PM