Logo

एकीकृत डिजिटल सुशासन प्रणाली सञ्चालन गर्न कर्मचारीलाई तालिम 

एकीकृत डिजिटल सुशासन प्रणाली सञ्चालन गर्न कर्मचारीलाई तालिम 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले ‘एकीकृत डिजिटल सुशासन प्रणाली’ सञ्चालन गर्न कर्मचारीका लागि तालिम सुरु गरेको छ । यस क्रममा आज राष्ट्रिय सभागृहस्थित कम्प्युटर प्रयोगशालामा अभिमुखीकरण सम्पन्न गरियो । 

तालिममा सबै वडाबाट कर्मचारी र जनप्रतिनिधिलाई क्रमागत रुपमा सहभागी गराइनेछ । आज सहायक स्तर चौथो तहदेखि अधिकृत स्तरसम्मका, कम्प्युटर अपरेटर, कम्प्युटर अधिकृत, कम्प्युटर टेक्निसियनलाई सहभागी गराइएको थियो ।  

कार्यक्रम थालनी गर्दै विभागका प्रमुख नमराज ढकालले, शिफारिससहितका सेवालाई घरबाटै लिने गरी विद्युतीय शासनका अभ्यासलाई कार्यान्वयन चरणमा लगिएको बताउनुभयो । ‘सर्भर, इन्टरनेट र इन्ट्रानेट अरुमा निर्भर हुँदा केही समस्या छ । यसलाई सुधार गर्ने प्रयास भइरहेको छ ।’ विभागीय प्रमुख ढकालले भन्नुभयो, ‘एउटा मात्र सेवा प्रदायकसँग इन्टरनेटको भर गर्दा सेवा रोकिने अवस्था आयो । त्यसैले अहिले वैकल्पिक इन्टरनेट जडान गर्दैछौँ । ३२ वटा वडामध्ये १६ वटा वडामा यो सेवा जडान भइसकेको छ ।’

सहायक निर्देशक सुधा शाक्यकाअनुसार वडाबाट प्रदान गरिने १७२ वटा शिफारिस छन् । यसको विवरण सफ्टवेयरमा राखिसकेपछि सम्बन्धित कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइनेछ । यसमा उहाँहरुले अभ्यास गर्नुहुनेछ ।

अभ्यासका क्रममा केही समस्या परे, परामर्शदाताको कल सेन्टरमा फोन गरेर सिक्न सक्ने व्यवस्था गरिएको छ । 

यसपछि वडा सचिव र त्यसपछि वडाध्यक्षहरुलाई तालिममा सहभागी गराइनेछ । तालिममा डिजिटल सिक्नेचर, दर्ता चलानी, शिफारिस सञ्चालन सम्बन्धी अभ्यास गराइनेछ ।  

यो प्रणाली सञ्चालनमा आएपछि विद्युतीय सुशासनमा देखिने परिवर्तन आउँछ । आजको कार्यक्रममा परामर्शदाता स्मार्ट पालिकाका सह संस्थापक राजेन्द्र माण्डव्यको भनाइ थियो । स्थानीय सरकारलाई अब विद्युतीय शासनमा रुपान्तरित हुनुको विकल्प छैन । यसमा आफूलाई अभ्यस्त गराउनुपर्छ । माण्डव्यको जोड थियो । 

प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले सर्जमिन गर्नुपर्ने शिफारिसबाहेक अन्य शिफारिस लिन वडामा आउनै पर्दैन । 

 

  • प्रकाशित मिति: बिहीबार ६ असोज २०७९ १४:३२