Logo

काठमाडौँका फुटपाथ मानव आवतजावतबाहेकका सबै क्रियाकलापका लागि निषेधित 

काठमाडौँका फुटपाथ मानव आवतजावतबाहेकका सबै क्रियाकलापका लागि निषेधित 

काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले फुटपाथ मानवीय आवतजावतबाहेक अरु क्रियाकलापका लागि निषेधित क्षेत्र भएको दोहोर्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘महानगरले दिगो सहरी व्यवस्थापनका लागि लिएका नीति कार्यान्वयन गर्छ । अहिले पैदल यात्री हिँड्ने सडकमा व्यापार खुकुलो गर्ने विषय निराधार हो । हामी हाम्रा कार्यक्रम एकनाशले सञ्चालन गर्छौँ ।’ 

चालु आर्थिक बर्षको पूर्वाधार नीतिअन्तर्गत पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ भन्ने व्यवस्था कार्यान्वयन भइरहेको छ । पर्व वा अन्य विशेष कारण यो कार्यक्रम आंशिक रुपमा स्थगित हुने वा लचिलो हुँदैन ।’ फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता नविन मानन्धरले प्रेस विज्ञप्तिमार्फत महानगरको कार्यक्रमका बारेमा स्पष्ट पार्नुभएको छ । 

प्रेस विज्ञप्तिको पूर्ण पाठ 

प्रेस विज्ञप्ति 

असोज १३, २०७९
काठमाडौँ 

फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । 

सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पुर्याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौँ । । 

आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ । 

यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ । 

अन्त्यमा, सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा दोहोर्याउन चाहन्छौँ । 

धन्यवाद

नविन मानन्धर
प्रवक्ता
काठमाडौँ महानगरपालिका  

 

 

  • प्रकाशित मिति: बिहीबार १३ असोज २०७९ १४:३४