शताब्दी पुरुष जोशीको अन्तिम श्रद्धाञ्जलीमा प्रमुख शाह र उपप्रमुख डंगोल सहभागी
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव सरीरमा अन्तिम श्रद्धाञ्जली दिनु भएको छ । ललितपुर महानगरको प्राङ्गणमा गरिएको श्रद्धाञ्जलीपछि शव यात्रामा प्रमुख शाह सहभागी हुनुभएको थियो । त्यसपछि किस्ट कलेजमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । यस्तै उपप्रमुख डंगोलले महानगरको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जली दिएर सान्त्वानाका लागि पारिवारिक भेटका लागि जानुभएको थियो ।
विगत ३ हप्तादेखि उपचाररत जोशीको असोज ३० गते आइतबार अस्पतालमै मृत्यु भएको थियो । जोशीले मृत्युपर्यन्त सरीर दान गर्ने इच्छा पत्रमा हस्ताक्षर गर्नुभएकोले परिवारले उहाँको सरीर किस्ट अस्पताललाई प्रदान गरेको छ । जोशीसँगै उहाँकी धर्मपत्नी राधादेवी जोशीले पनि शेषपछि अध्ययनका लागि सरीर दान गर्ने इच्छा पत्रमा हस्ताक्षर गर्नुभएको थियो । १ सय बर्ष उमेर पूरा भएका व्यक्तिको सरीरको अध्ययनका लागि सरीर दान गरिएको हो ।
जोशीका छोराहरु डा. पूर्णराज र अनुराजले उहाँको जन्म कुण्डली शंखमुलस्थित बागमती नदी किनारामा लगेर जलाउनुभएको थियो ।
तस्विर : विनय शाक्य