वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
आपसी कार्यक्रमबाट नतिजा आउँछ, हामी साझेदारका कुरा सुन्न र सहकार्य गर्न खुला छौँ - उपप्रमुख डंगोल
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ । यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र 
फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभएको सम्झौता मंगलबार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा आदान प्रदान भयो । 
सम्झौतापछिको प्रतिक्रियामा उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ । हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ । यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ।’
गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिनुभएको थियो । उहाँहरुमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाउनुभयो । अरुबाट रोजगार र स्वरोजगारमा भएको सूचना प्राप्त भयो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनुभएको छ । सम्झौता गरेर प्रतिवद्धतालाई कार्यान्वयनमा लगिनेछ ।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि शिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।
‘अन द जब ट्रेनिङ्’ का विषयमा साझेदारसँग परामर्श वैठक 
सिपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालनमा निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्यका विषयमा परामर्श वैठक सम्पन्न भएको छ । यस कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सिप सिक्नुपर्छ । कार्यस्थलमा सिप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसिप कार्यक्रम सञ्चालन हुनेछ । 
वैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्र र साझेदार संघसंस्थाका प्रतिनिधिहरुबाट प्राप्त गुनासा र सुझावहरुको सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘सबैको प्रयत्न र सहभागिताबाट मात्र कार्यक्रममा नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि हामी सम्बद्ध क्षेत्रका कुरा सुन्न खुला छौँ । यसरी आउने प्रतिक्रियाको निचोडबाट तर्जुमा गरिने कार्यक्रम दिगो र लाभदायी हुन्छ । यसमा सहकार्य गर्न पनि हामी खुला छौँ ।’
विद्यालयको औपचारिक शिक्षामा सिपमूलक तालिमलाई स्थापित गर्दै लगेको बताउँदै उहाँले, सिपमूलक तालिमबाट वेरोजगारी घटाउने र आर्थिक क्रियाकलाप बढाउने लक्ष्य हासिल गर्ने कार्यक्रमलाई विभिन्न कोणबाट कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
‘विगतका भोगाइ र सिकाइ तथा वर्तमानको माग र आवश्यकताका आधारमा हामी कार्यक्रम कार्यान्वयन गर्दै जानेछौँ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सिपमूलक तालिम कार्यक्रम सम्पन्न गर्न मात्र होइन । यहाँबाट उत्पादन भएका जनशक्ति उद्योगको आवश्यकता पूरा गर्न सक्ने बन्न सकुन् भन्नेमा सचेत छौँ ।’
बैठकमा उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा शैक्षिक प्रतिष्ठानहरुबाट ध्यान नपुगेको गुनासो गर्नुभयो । ‘तालिम नलिएका व्यक्तिलाई काममा राखेर सिप प्रदान गर्छौँ । सिप प्राप्त गरिसकेपछि ऊ वैदेशिक रोजगारीको सपना बनाउँछ ।’ समस्या सुनाउँदै उहाँहरुले भन्नुभयो, ‘सिपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।’
छलफलमा दक्षता प्रमाणीकरण, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना, शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ््यक्रम लगायत विषय समेटिएका थिए । उहाँहरुबाट औपचारिक शिक्षासँगै तालिम सञ्चालन हुनु पर्ने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गराउनु पर्ने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्नु पर्ने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध हुनुपर्ने, तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँच हुनुपर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा दिनु पर्ने सुझाव प्राप्त भए ।
महानगरपालिकाले सिपमूलक तालिम, रोजगारी र स्वरोजगारीको अवसरका लागि गरेका प्रयत्नका विषयमा प्रस्तुतिकरण गर्दै, आयोगका सदस्य झाले भन्नुभयो, ‘तालिमका लागि पूर्वाधार बनाउने, तालिम प्राप्त व्यक्तिलाई श्रम बजार र स्वरोेजगारका अवसरको पहुँचमा पु¥याउने योजना कार्यान्वयनमा छौँ । तालिमको अपेक्षा गर्ने व्यक्तिहरुको संख्या ठूलो भएकोले संख्यात्मक आँकडाको कुरा पनि छ । हामी गुणात्मक पक्षमा उत्तिकै सजग छौँ ।’ महानगरपालिकाले कार्यक्रममार्फत तालिम र रोजगारीसँगै समावेशीकरण र सामाजिक न्यायको पक्षलाई मानकका रुपमा राखेकाले कार्यक्रम कार्यान्वयनसँगै समुदाय स्तरमा नतिजा देखिँदै जाने सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको धारणा छ । 
महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीले जानकारी दिनुभयो ।
अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गरिरहेको छ ।
गएको वर्ष सम्पन्न सिप मेला 
कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिनुभएको थियो । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।  
तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गर्नुभएको थियो । 
 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App