मिठाई, मसलासहितका खाद्य बस्तुको बजार अनुगमन गर्ने समितिको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्व लक्षित बजार अनुगमनलाई नियमित गर्ने भएको छ । आज उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको समितिको बैठकले नियमितसँगै पर्वलक्षित विशेष अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो । अनुगमनका लागि महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको संयोजकत्वमा अनुगमन टोली गठन भएको छ । अनुगमन टोलीमा महानगरका अधिकारीहरुसँगै जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट प्रतिनिधिलाई सहभागी गराइनेछ । त्यस्तै अनुगमन हुने वडाबाट प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी रहनुहुनेछ । 

बैठकमा बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, स्वच्छ, सुपथ र सुलभ बजारमा गुणस्तरीय बस्तु प्राप्त गर्ने उपभोक्ताको हक स्थापित गराउनुलाई नतिजा मानेर काम गर्नुपर्ने बताउनुभयो । ‘यो नियमित प्रक्रिया हो । अवसर विशेष गरिने क्रियाकलाप होइन । त्यसैले तिहारपछि पनि अनुगमन नियमित चलिरहन्छ ।’ उहाँले भन्नुभयो, ‘अनुगमनबाट कोही पनि हतोत्साहित हुनुहुँदैन । स्वच्छ बजारका लागि व्यवसायिक धर्म निर्वाह गरिरहेका व्यवसायीलाई अनुगमनले फाइदा दिनुपर्छ ।’ 

त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, बजारको सन्तुलन कायम गराइ राख्न निगरानी आवश्यक पर्ने धारणा राख्नुभयो । 

बैठकले तिहारमा धेरै उपयोग हुने मिठाई, मसला, फलफुल, दूध तथा दूधजन्य, फलफुललगायत खाद्यबस्तुको विक्री वितरण तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको अनुगमन गर्ने निर्णय भएको छ । 

बैठकमा समितिका सदस्य एवं वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा ३१ का अध्यक्ष सरोज ढकाल, स्वास्थ्य, कानुन तथा मानव अधिकार विभाग, खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुखहरु, पशु चिकित्सक, पशु विकास अधिकृतसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।  
 
 

सम्बन्धित समाचार

Facebook Comments