प्रमुख प्रशासकीय अधिकृत अधिकारी र बिभागीय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्पन्न 

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले आज उपप्रमुख सुनिता डंगोलको रोहवरमा बिभाग, महाशाखा र शाखा प्रमुखहरुसँग कार्य सम्पादन करार गर्नुभएको छ । गएको असार महिनामा सम्पन्न, महानगरको एघारौँ नगर सभाबाट स्वीकृत वार्षिक नीतिलाई कार्यान्वयन गर्न मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदामा तयार पारिएको कार्ययोजना पूरा गर्ने प्रतिवद्धतासहित सम्झौता भएको हो । 

यसअनुसार बिभागीय प्रमुखहरुले महानगरले लिएका नीति, विनियोजित बजेट र स्वीकृत कार्यक्रमलाई कार्यायोजनामा उल्लेख गरिएको समय सीमाभित्र पूरा गरिसक्नु पर्नेछ ।  

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘काम सम्पन्न गर्न समय तोकेर तयार गरिएको कार्यायोजनाबाट म उत्साहित छु । यो असल अभ्यासको शुरुवात् हो । प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारीले पदबहाली गरेपछि प्रशासनिक सुधारमा राम्रा कामको थालनी भएको छ । कार्य सम्पादन सम्झौता यसको एउटा उदाहरण हो ।’ उहाँले भन्नुभयो, ‘मासिक समीक्षा अर्को उदाहरणीय काम हो । यसले आन्तरिक समन्वयलाई बलियो बनाउँछ । काम सम्पन्न गर्न स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुन्छ ।’  

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागहरुले तत्काल सम्बोधन गर्नुपर्ने कामका विषयमा प्रस्तुतिकरण गर्दै कामको सूची प्रस्तुत गर्नुभएको थियो । यी काम किन अधुरा भए? अगाडि बढ्न नसक्नुका कारण के हुन्? काम हुन कसले के गर्नुपर्छ? या तपाई आफैँले तत्काल गर्न सक्नुहुन्छ? समस्या केही भए पहिचान गरेर समाधान गर्नुप¥यो भन्ने उद्देश्यले यी विषय उठान गरिएका हुन् । अधिकारीले उठाउनुभएका विषयमा सडकमा सौर्य बत्ती बाल्ने, हाइमास्ट बत्ती बाल्ने, बालाजु र रत्नपार्कको व्यवस्थापनमा देखिएको कमजोरी सुधार गर्ने, सफाईकर्मीको स्वास्थ्य वीमा गर्ने, बालाजु पार्कमा रहेको हलको व्यवस्थापन गर्ने, सार्वजनिक निजी साझेदारी एकाईमार्फत सम्झौता भएका ठेक्काको अध्ययन गर्नेलगायत छन् । त्यस्तै जिन्सी निरीक्षण र लिलाम, सामुदायिक कुकुरको बन्ध्याकरण, काठमाडौँ प्लाजा भाडामा लिने विषय, समस्याग्रस्त सहकारी व्यवस्थापन, योजनाहरुको अनुगमन गर्ने योजना बनाउने, मनोहरा जग्गा विकास कार्यक्रमभित्र रहेका विकसित जग्गा फिर्ता गर्ने, तर्जुमा गर्नुपर्ने कानूनको प्रक्रिया, नदी किनाराका अनधिकृत संरचना हटाउने, कार्यालयको सरसफाई र स्वच्छता जस्ता विषय समावेश थिए । ती कार्यक्रमसँग सम्बन्धित विभागको नाम उल्लेख गर्दै उहाँले कामको प्रकृति अनुसार तत्काल गर्नुपर्ने, समन्वय गर्नुपर्ने, सहयोग लिनुपर्ने, सहभागी गराउनु पर्ने काम बर्गीकरण गरेर सोहीअनुसार कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  

विषय प्रस्तुतिपछि उहाँले भन्नुभयो, ‘मैले विभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गरिसकेको छु । नीतिअनुसारको कार्यक्रम छ । त्यसका लागि चाहिने बजेटको व्यवस्था गरिएको छ । अबको आवश्यकता भनेको कार्यक्रम कार्यान्वयनको हो । यसमा जिम्मेवार भएर काम गरौँ ।’ 

सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा अधिकारीले भदौ २२ गते बहाली गर्नुभएको हो । त्यसपछिको १ महिनापछि उहाँले कार्यसम्पादन करार गर्नुभएको हो ।  

करारमा उल्लेख गरिएका अनुगमन सूचकका आधारमा लक्षित कार्यक्रमको प्रगति तत्काल थाहा पाउन सकिने र समयमा नै सुधार गर्न सकिने सम्भावना रहन्छ ।  

मासिक समीक्षा
आज नै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्ययोजनामा उल्लेख भएका असोजभित्र सम्पन्न गर्नुपर्ने र कार्तिकमा हुँदै गर्नुपर्ने कामका विषयमा विभागीय प्रमुखहरुसँग जानकारी लिनुभएको छ । त्यस क्रममा प्रगति हुन नसकेका कार्यक्रम किन रोकिए वा अगाडि बढ्न सकेनन् कारण सोध्नुभएको थियो । 

 

 

सम्बन्धित समाचार

Facebook Comments