वि.सं.: २०८२, असोज ८ बुधबार
इ.स.: 2025 September 24,WEDNESDAY
वि.सं.: २०८२, असोज ८ बुधबार
प्रदर्शनकारीको अवरोध र सुरक्षाको चुनौतीका बाबजुद दमकल टोलीद्वारा सक्रिय प्रतिक्रिया
काठमाडौं - भाद्र २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ६० स्थानमा भएका आगलागी घटनाहरू नियन्त्रण गर्न महानगरपालिकाले पूर्ण रूपमा दमकल परिचालन गरेको बताएको छ । महानगरको विपद् व्यवस्थापन विभागका अनुसार महानगरसँग उपलब्ध ५ वटै दमकल खटिएका थिए, जसले आन्दोलनका कारण उत्पन्न आगलागीबाट थप क्षति रोक्न महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, आन्दोलनकारीहरूको जुलुस, सडक अवरोध र ढुङ्गामुढा जस्ता क्रियाकलापका कारण दमकलहरू तत्काल घटनास्थल पुग्न नसकेको विभागले स्पष्ट पारेको छ।
महानगरपालिका प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक प्रमुख राजुनाथ पाण्डे भन्नुभयो, “हामीले विभिन्न ठाउँमा, महानगर क्षेत्रभित्र मात्र होइन बाहिर पनि रहेका आगलागी घटनाहरू निभाउन प्रयत्न गरेका थियौं। चौबीस गते बेलुकासम्म विभिन्न ठाउँमा भएको आगजनीमा दमकल पठाउन खोज्दा हाम्रो दमकल सेन्टर न्युरोड, बालाजु र रामिटी बहुवोटमा रहेको थियो। साँझदेखि नै प्रायोगिकबाट सर्वोच्च अदालत, सिंहदरबार लगायतका महत्वपूर्ण ठाउँहरूको आगजनी जोगाउन प्रयत्न गरेका थियौं। तर तत्कालीन अवस्थामा जुलुस, आन्दोलनका कारण सडकमा आन्दोलन जारी भएकाले दमकल निस्कन सकेन। न्युरोडबाट निस्कन खोज्दा त्यहाँ नै आगजनी भइरहेको थियो, दमकलको गेट अगाडि गाडीहरू जलिरहेका थिए। नेपाली सेनासँग समन्वय गरे पनि तत्काल सम्भव भएन।”
हजारौँ प्रदर्शनकारीहरू आन्दोलनमा उत्रिएकाले र दमकलमा कार्यरत कर्मचारीहरूको सुरक्षाको दृष्टिकोणले पनि समयमा घटनास्थलमा पुग्न नसकिएको पाण्डेले बताउनु भयो ।
पाण्डेले थप्नुभयो, “सचिवालयबाट पटक-पटक फोन आएर दमकल किन निस्किएन? किन पुगेन? भनेर निर्देशन आयो। तर दमकल जान सक्ने अवस्थामा, सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौं। बौद्धबाट निस्कन खोज्दा चाबेलमा दमकलमाथि ढुङ्गामुढा हुने प्रयास भयो, नेपाली सेनाको गाडीमा पनि ढुङ्गामुढा भयो। हामी रेडि अवस्थामै थियौं। पहिलो ८:३० बजे सिंहदरबारमा दुईवटा दमकल लिएर ८:३० देखि ९:४५ सम्म निभाएको अवस्था छ। त्यसपछि १०:०० बजे नेपाली सेनाले सुरक्षाको जिम्मा लिइसकेपछि समन्वय गरेर मात्र अगाडि बढ्ने ’प्रायोरिटी’ का साथ परिचालन गरेका थियौं। रातभरि नै दमकलहरू खटिए, भोलिपल्ट पनि एउटै ठाउँमा दशौं चोटि गएर निभाएका छौं।”
विभागबाट प्राप्त विवरणअनुसार साउन २३ गतेदेखि नै दमकल टोलीहरू सक्रिय थिए। साउन २३ मा मात्रै संसद भवन अगाडि, एम्बुलेन्समा, सुन्धारा मोडमा, शान्तिनगरको बिजुलीको पोलमा जस्ता स्थानहरूमा आगलागी निभाउन ११ घण्टाभन्दा बढी समयसम्म दमकल सञ्चालन गरिएको थियो। साउन २४ मा विशालबजारको जनसेवा प्रहरी वृत्त तथा हिमालय बैंकमा, नयाँ बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा, सिंहदरबार परिसरभित्र लगायतका क्षेत्रहरूमा तत्काल प्रतिक्रिया दिइएको थियो। यीमध्ये धेरैजसो आन्दोलनकारीहरूले बाल्न थालेका टायर, फोहोर र अन्य सामग्रीका आगलागी थिए। दमकल टोलीहरूले बिहान ११ बजेदेखि राति ८ बजेसम्मका विभिन्न समयमा न्यूरोड, बालाजु, रामहिटी जस्ता स्थानहरूबाट सवारी साधनहरू प्रयोग गरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।
साउन २३ र २४ गतेका लागि मात्रै ३० भन्दा बढी आगलागीका घटनामा दमकल पुगेका थिए। यसबाहेक महानगर क्षेत्रबाहिर भागबगिनी, हिल्टन होटेल लगायतका स्थानहरूमा पनि दमकल परिचालन गरिएको थियो। पाण्डेले भन्नुभयो, ‘सर्वोच्च अदालतमा कर्मचारी साथीहरूले सम्पर्क गरेका थिए। हाम्रो ‘इमर्जेन्सी केएमसी इमर्जेन्सी रेस्पोन्सु ह्वाट्सएप ग्रुप, जुद्धपावर नियन्त्रण र कन्ट्रोल रुममा फोन सम्पर्कको आधारमा सूचना प्राप्त भएपछि व्यापक रूपमा दमकल परिचालन गरेका थियौं। न्युरोडमा जनसेवक प्रहरी र हिमालय बैंकमा आगजनी सुरु भइसकेको अवस्थामा स्थानीय गुनासो अनुसार त्यहाँ निभाएर मात्र अगाडि बढेका थियौं।”
महानगरपालिकाले पानीको अभाव पनि नहोस् भनेर विशेष व्यवस्था गरेको थियो। पाण्डेले भन्नुभयो भन्नुभयो, “आन्दोलनका कारण शहरमा व्यापक आगलागीको जोखिम थियो। हामीले सबै स्रोतसाधन परिचालन गरी क्षतिलाई न्यून राख्न सफल भयौं। यसमा फायर डिभिजनका कर्मचारीहरूको अथक प्रयास महत्वपूर्ण रह्यो। विभिन्न व्यक्तिहरू, कम्पनीहरूबाट बालाजु र स्वयम्भू क्षेत्रबाट व्यक्तिगत तथा महानगरको एप्रोचमा पानी ट्यांकरहरू अनुरोध गरेर सयौं ट्यांकर सहयोग लिएका थियौं। दमकलमा पानी सकिएपछि त्यहीँ फिलिङ गर्ने व्यवस्था पनि गरेका थियौं। महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो। नेपाली सेनासँग पनि पटकपटक समन्वय भइरहेको थियो, जसमा गणेश ठाकुर सर र आर्मीका खरखा साहेबसँग सम्पर्क गरेर दमकल सुरक्षित रूपमा पठाएका थियौं।”
पाण्डेले थप्नुभयो, “यसमा कोही भ्रममा नपर्न म अनुरोध गर्छु। हामीले सुरक्षाको पर्खाइमा गरेका थियौं, तर कुनै ढिलाइ गरेका छैनौं।” आन्दोलनपश्चात महानगर सरसफाइमा जुटेको जोशीले जानकारी दिनुभयो। भदौ २५ गतेदेखि नै ३७४ टिपर फोहोर संकलन गरिएको छ, जसले शहरलाई चाँडै सामान्य अवस्थामा फर्काउन सहयोग गरेको छ।
महानगरले यो घटनाबाट सिकेर विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउने योजना बनाएको छ। यस प्रयासमा नेपाली सेना, प्रहरी र स्थानीयहरूको सहयोग महत्वपूर्ण रहेको विभागले जनाएको छ ।