Logo
  • वि.सं.: २०८३, भदौ ११ बिहीबार

  • इ.स.: 2026 August 27,THRUSDAY

  • वि.सं.: २०८३, भदौ ११ बिहीबार

  • अस्पतालमा भेटिएका परिवार गुमाएका व्यक्ति र घाइतेको पुनःस्थापना गराउन अधिकारीहरुलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन 

    बाढीका घाइते र परिवार तथा सम्पत्ति गुमाएका परिवारको आवश्यकता बुझ्न कार्यवाहक प्रमुख डंगोल, अस्पतालहरुमा 

    काठमाडौँ । बाढीजन्य विपदका कारण घाइते भएर काठमाडौँका अस्पतालहरुमा उपचार गराइरहेका घाइते व्यक्ति तथा परिवार र सम्पत्ति गुमाएका व्यक्तिहरुको पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइते र आफन्त वेपत्ता भएका परिवारका सदस्यहरुको अवस्था र विरामीका आफन्तहरुको आवश्यकता बुझ्न शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर पीडामा रहेका व्यक्तिहरुसँग कुराकानी गरिसकेपछि यस्तो निर्देशन दिनुभएको हो । उहाँ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी., महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीसहित अस्पताल पुग्नुभएको थियो । 

    ‘अहिले राष्ट्रिय संकट परेको छ । यसबेला संकटमा परेका व्यक्तिहरुको जीवन बचाउने, घाइतेको उद्धार, राहतको काम भइरहेको छ । परिवार र आफन्त गुमाएका व्यक्तिहरुका लागि हामी सहारा प्रदान गर्छौँ ।’ परिवार सबै वेपत्ता भएकी, आफू पनि घाइते अवस्थामा रहेकी बालिकासँग कुरा गरिसकेपछि अधिकारीहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘विपदले सबै गुमाएका व्यक्तिका लागि पुनःस्थापनाको काम तत्काल अगाडि बढाउनू ।’

    अस्पताल पुगेका बेला उहाँले रेड जोनमा भएका विरामी, आइसीयुमा उपचाररत विरामीको अवस्था निरीक्षण गर्दै उपचार विधि, सामान, साधन तथा उपकरणको उपलब्धता लगायत विषयमा जानकारी लिनुभएको थियो । त्यस क्रममा उहाँलाई  उपनिर्देशक डा. पवनराज चालिसे, उपनिर्देशक डा. गोपाल सेढाईँ र गुनासो अधिकारी विपिन उपाध्यायले अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । 

    अस्पतालले नियमित सेवालाई सुचारु राखेर विपदजन्य घटना व्यवस्थापन गरिरहेको अस्पतालका उपनिर्देशक डा. चालिसेले जानकारी दिनुभयो । अनपेक्षित मात्राको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त औषधि हुँदैन । यसकारण महानगरपालिकाले औषधि सहयोग गर्नुपर्ने अवस्था छ । उहाँको भनाइ थियो ।  

    उहाँको कुरा सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, आवश्यक परेको कुरा निर्धक्क भन्न आग्रह गर्नुभयो । हामी एकसाथ भएर काम गर्नेछौँ । यहाँहरु निर्धक्क हुनुहोला । उहाँको भनाइ थियो । 

    कार्यवाहक प्रमुख डंगोलले, अस्पताल बाहिर वेपत्ता परिवारका नाम टिपाउने कक्षमा भइरहेको कामको निरीक्षण गर्दै वेपत्ता व्यक्तिका परिवार र आफन्तसँग कुराकानी गर्नुभएको थियो । 

    यता ट्रमा सेन्टरमा भएका विरामीका विषयमा कार्यकारी निर्देशक डा. रुद्र मरासिनीले जानकारी गराउनुभएको थियो । 

  • प्रकाशित मिति बिहीबार ११ भदौ २०८३ ०८:४९ PM