‘प्रशिक्षार्थी’सँग ‘रोजगारदाता’ को भेट गराउन भोलि टुँडिखेलमा ‘रोजगार मेला’ को मुख्य दिन
काठमाडौँ । ‘सिप मेला’ बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौँ महानगरपालिकाले भोलि टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ । आज मेलाको तयारी र पूर्व अभ्यास सम्पन्न भएको छ ।
सहरी योजना आयोगका सदस्य एवं सिप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनी स्थल हुनेछन् । यी स्थलमा प्रशिक्षार्थीहरुले प्रशिक्षणका क्रममा सिकेको सिप र यसबाट प्राप्त भएको दक्षताबाट उत्पादन गरेका वस्तु तथा सामग्री राखिनेछन् । सामग्री उत्पादन नहुने खालका सिपमा बारेमा भिडियो डिस्प्ले र आपसी कुराकानी हुनेछ । यससँगै त्यस पेशासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरुको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ््यक्रम डिस्प्ले हुनेछ । रोजगारदाताले यो बोर्डबाट आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिन सक्नुहुनेछ । यससँगै सम्बन्धित स्थलबाट आफूलाई आवश्यक पर्ने जनशक्तिसँग सम्पर्क गर्न सक्नुहुनेछ ।
मेला विहीबार मध्यान्न १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
बैशाख १९ गतेबाट टुँडिखेल १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम सुरु गरिएको थियो । यसमध्ये स्क्रिन प्रिन्टिङ् विधामा आवेदकको संख्या न्यून भएकोले तालिम सञ्चालन गरिएन । ग्राफिक्स डिजाइनिङ्का लागि हाइ कन्फिगरेसनका कम्प्युटर आवश्यक पर्ने भएकोले यसलाई कम्प्युटर ल्याबमा प्रशिक्षण सञ्चालन गर्ने गरी टुँडिखेलमा तालिम गराइएन । यस्तै केही पेशाहरु मिश्रित कक्षा चलाएर अवधि बढाइयो । यसकारण समापन अवधिमा ९ वटा विधाका २७ पेशासँग सम्बन्धित तालिमबाट ज्येष्ठ २० गते प्रशिक्षण सकिएको हो ।
विधा, पेशा र तालिम प्राप्त गर्ने प्रशिक्षार्थीको संख्या
१५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ । तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट ६३९ जनाले प्रशिक्षण प्राप्त गर्नुभएको छ । १५ दिन अवधिको यस तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सीसीटिभी र मोवाइल मर्मत पेशा थिए । यी ४ पेशासँग सम्बन्धित तालिममध्ये पनि डिजिटल मार्केटिङ्मा २१९ ले तालिम लिनुभएको छ ।
व्युटिसियन विधामा ५८० जनाले तालिम लिनुभएको छ । यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेशाको तालिम भएको थियो । यसभित्र पनि सबैभन्दा धेरै नेल आर्टका १५१ जना प्रशिक्षार्थी हुनुहुन्छ ।
वेकरी, फास्टफुड, बारिस्ता, बार टेण्डिङ् र वेटर/वेट्रेसमा ५३१ जना प्रशिक्षित हुनुभएको छ । १५ दिन अवधिको तालिमबाट २ समूहले तालिम पाएका छन् ।
टेलरिङ् र फेसन डिजाइनिङ् पेशा समेटिएको गार्मेन्ट विधाबाट ३५५ जनाले तालिम पाउनुभएको छ । १५ दिन अवधिका यी तालिमहरुमा टेलरिङ्मा धेरै सहभागीको माग भएपछि २ वटा कक्षा सञ्चालन गरिएका थिए ।
डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन र प्लम्बिङ् पेशा समेटिएको निर्माण क्षेत्रको तालिमबाट १७९ जना प्रशिक्षित हुनुभएको छ ।
ज्योतिष र पुरोहित विधाबाट अन्तर्गत पुरोहितमा ५० जना र ज्योतिषमा ११० जना गरी १६० जना प्रशिक्षित हुनुभएको छ । अटोमोवाइल्सअन्तर्गत अटो इलेक्ट्रिकमा ५५ जना र इभी (विद्युतीय) मा ७६ जना गरी १३१ जनाले तालिम लिनुभएको छ ।
के. सी. का अनुसार मेकानिकलअन्तर्गत वेल्डिङ्मा ६० जना र एसी रेफ्रिजेरेटरमा ५६ गरी ११६ जनाले तालिम पाउनुभएको छ । आर्टस एण्ड स्कप्चर विधामा २५ जनाले तालिम पाउनुभयो ।
तालिम सकिएपछि जेठ २२ गते ‘रोजगार तथा स्वरोजगार सिपमूलक तालिम, यसको तह तथा योग्यता परीक्षण र प्रमाणिकरणका लागि कसले कस्तो नीति बनाउनुपर्ला?’ नीति संवाद कार्यक्रम आयोजना गरिएको थियो । संवादमा अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताको विषयमा छलफल गरिएको थियो । त्यस क्रममा प्रशिक्षार्थीहरुसँग पृष्ठपोषणसमेत लिइएको थियो ।