Logo

निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन उपप्रमुख डंगोलको निर्देशन

निर्माण प्रक्रियाको अनुगमनसँगै निर्माण सामग्रीको गुणस्तर मापन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरुको प्रदुषण जाँच गराउन निर्देशन दिनुभएको छ । महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पूर्वी क्षेत्रको वडा नं. ७ चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारी साधनले धुँवा फालेको देखेपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला ।’ उहाँले निर्माण पक्षलाई निर्देशन दिनुभयो ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसरी सञ्चालन भएको योजनाको अनुगमनका क्रममा गणेश मार्गको अनुगमनका क्रममा उहाँले, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र विभागका प्रमुख सुरज शाक्यसँग प्राविधिक पक्षमा र स्थानीयबासीसँग सामाजिक प्रभावका विषयमा जानकारी लिनुभएको थियो । यसरी स्थानीयसँग कुराकानी गर्दा उहाँहरुले महानगरपालिकाले गरिरहेको कामबाट आफूहरु सन्तुष्ट भएको बताउनुभयो । ‘अहिलेको नेतृत्वले गरेका काम हामीले अनुभूति गरेका छौँ । हाम्रै लागि काम गर्दै हुनुहुन्छ भन्ने लागेको छ ।’ उहाँहरुको प्रतिक्रिया थियो ।

सडक कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण र तापक्रम मापनको अवलोकन गर्नुभएको थियो । यस कार्यमा लेइङ् गर्दाको तापक्रम न्यूनतम १४० डिग्री सेन्टिग्रेड हुनुपर्छ । यस्तै रोलिङ् गर्दा कम्तीमा ९० डिग्री सेन्टिग्रेड हुनुपर्छ । यस विषयमा जानकारी लिँदै उपप्रमुखले सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यलाई निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिनुभयो । 

महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । कार्यक्रमअन्तर्गत वडा नं. ६, ९ र ३२ मा काम भइरहेको छ । करिब ३ सय मिटर ढल निर्माण अहिलेको प्रगति हो, सार्वजनिक निर्माण विभागले जनाएको छ ।  

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु-आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । 

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल-युएसजी-आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।

पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यसको खरिद प्रक्रिया टुङ्गिन बाँकी छ । 

सडकसँग सम्बन्धित अर्को पनि परियोजना छ । यस परियोजनाले मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्छ । यसका लागि  महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आव्हान गरेको थियो । यसमा छानिएको गणेश एण्ड गंगा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भयो । करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो । यसअन्तर्गत अहिलेसम्म करिब १२ किलोमिटर मार्गको स्तरोन्नति र मर्मत भएको छ । 


 

  • प्रकाशित मिति: बिहीबार १८ पुस २०८१ १९:१२