वि.सं.: २०८२, कात्तिक ८ शनिबार
इ.स.: 2025 October 25,SATURDAY
वि.सं.: २०८२, कात्तिक ८ शनिबार
१८ हजार २९४ जना विद्यार्थी आधारभूत तहको परीक्षामा सामेल हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षा चैत ७ गतेदेखि सञ्चालन गर्दैछ । फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेको छ । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा राखेर केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई सोही विद्यालयबाटै परीक्षा दिने गरी आवश्यक व्यवस्था मिलाइएको छ । परीक्षामा सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी सहभागी हुनेछन । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु पनि समावेश हुँदैछन् ।
कारागारभित्रका जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी परीक्षा कार्यक्रम अगाडि वढाइएको हो । समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारी गरिरहेको छ ।
अटिजम भएका विद्यार्थीको परीक्षा फाराम भरिरहेका छन् । यस्ता विद्यार्थीहरुलाई सहयोगी लेखक विद्यार्थी दिन सक्ने कानुनी व्यवस्था छैन । यसरी शिक्षा ऐन र नियमावलीले नचिनेका फरक सिकाइ भएका विद्यार्थीहरुको परीक्षा सम्बन्धित विद्यालयबाटै दिलाउने व्यवस्थाका लागि समितिको आउँदो बैठकमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
‘विद्यार्थीहरुमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरुमा लगनशीलता र आत्मबल बढ्न थाल्छ । वास्तविक शैक्षिक उपलब्धिको न्यायोचित मूल्याङ्कन हुन्छ । कक्षा ९ र १० को शैक्षिक उपलब्धिका लागि प्रेरणा प्रदान हुन्छ । माध्यमिक शिक्षा उत्तीर्ण (एसइई) परीक्षामा नतिजा सुधारका लागि बानी विकास हुन्छ ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘सिकाइबाट वास्तविक र व्यवहारिक नतिजा प्रदान गर्न सरकारले तोकेको प्रणाली र मापदण्ड कार्यान्वयन गराएका छौँ । यसअनुसार कक्षा ३ सम्मका बालबालिकाहरुका लागि त्रैमासिक वा अन्तिम परीक्षा प्रणाली हटाएका छौँ ।’
निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार परीक्षाको तयारी सकिएको छ ।
परीक्षा केन्द्र तोकिएका विद्यालयमा जुन विद्यालयबाट विद्यार्थी आउँछन्, ती विद्यालयमा केन्द्र तोकिएको विद्यालयका विद्यार्थीका लागि परीक्षा केन्द्र नपर्ने गरी केन्द्र तोकिएको शिक्षा अधिकृत इन्द्र दाहालले जानकारी दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App