Logo
  • वि.सं.: २०८३, कात्तिक १९ बिहीबार

  • इ.स.: 2026 November 5,THRUSDAY

  • वि.सं.: २०८३, कात्तिक १९ बिहीबार

  • सम्यक् महादानका लागि राष्ट्रपतिबाट ग्वयदाँ (निमन्त्रणा) स्वीकार : मूल समारोह समितिबाट ग्वयदाँ प्रदान

    २०८३ माघ १ गते स्वयम्भू भुइँख्य (भुइँखेल)मा महादान आयोजना हुने

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक् महादानको ग्वयदाँ (निमन्त्रणा) स्वीकार गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आउँदो माघ १ गते स्वयम्भूको भूइँख्यः (भुइँखेल)मा आयोजना गर्ने सम्यक् महादानमा उपस्थितिका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख एवं मूल समारोह समितिका संयोजक सुनिता डंगोलले राष्ट्रपति कार्यालय पुगेर आज प्रदान गर्नु भएको ग्वयदाँ (निमन्त्रणा) राष्ट्रपतिबाट स्वीकार भएको हो । ग्वयँदाका लागि बिहान स्वयम्भूमा शास्त्रीय विधिअनुसार पूजा गरेपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको राजकीय बादन, गुँला र धिमे जस्ता सांस्कृतिक बाजागाजासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर सम्यक् महादानको निमन्त्रणा दिइएको हो । 

    निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘धर्म, संस्कार, संस्कृति र परम्परा बचाउने काममा सबै एक साथ हुनुपर्छ । सम्यक महादान जस्तो पवित्र कार्यका लागि प्रदान गर्नुभएको निमन्त्रणा सहर्ष स्वीकार गर्दछु ।’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आयोजना गर्न लागेको कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु ।’

    ग्वयँदा प्रदान गर्ने क्रममा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘सस्कार, संस्कृति, परम्परा र रीतिथिति जोगाउन अभिलेखन र लिखित दस्तावेज तयार पारेर मात्र हुँदैन । यस्ता क्रियाकलापलाई व्यवहारिक रुपमा महसुस गर्ने अवसर पनि प्रदान गर्नुपर्छ । सम्यक् महादान एउटा पुस्ताले देख्नै नपाउने अवस्थामा पुगेपछि यसलाई अहिलेको पुस्ताले देख्ने बनाउन तथा महादान सञ्चालनका विधि र प्रक्रियालाई अभिलेखन गरेर आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य राखेर सम्यक् आयोजना गर्न लागेका हौँ ।’ 

    उहाँले ग्वयदाँ (निमन्त्रणा पत्र) वाचन गर्नुभएको थियो । 

    ‘नेपालमा गणतन्त्र आएपछि राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति सहभागी हुने यो नै पहिलो सम्यक् हो ।’ त्यस अवसरमा मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले भन्नुभयो, ‘राष्ट्र प्रमुखको अनुमतिमा सम्यक् हुँदैछ भन्ने सन्देश, श्रद्धालुहरुलाई राष्ट्र प्रमुखबाट र राष्ट्र प्रमुखलाई श्रद्धालुहरुले स्वीकार गरेको सन्देशका रुपमा ग्वयदाँलाई लिने गरिएको छ ।’

    ग्वयदाँका अवसरमा पहिलो नकिं रजनी शाक्यले राष्ट्रपतिलाई आचमनी दिनुभएको थियो । प्रथम थकाली जजमान मदनकाजी शाक्यले टीका, तृतिय जजमान लोक चित्रकारले माला, तृतिय नकिं सती चित्रकारले फलफुल, चतुर्थ जजमान पूर्णकाजी ज्यापूले खादा, चतुर्थ नकिं सानुछोरी डंगोलले फलफुल, पञ्चम जजमान बुद्धकुमार मानन्धरले फुलगुच्छा, पञ्चम नकिं मन्दिरा मानन्धरले फलफुल, षष्टम जजमान राजेन्द्रकुमार शाक्य र षष्टम नकिं मलिका शाक्यले मिष्ठान्न प्रदान गर्नुभएको थियो । 

    यस्तै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र भुइँख्य रहेको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले राष्ट्रपतिलाई फलफुल र मिष्ठान्न प्रदान गर्नुभएको थियो । यसरी राष्ट्रपतिलाई प्रदान गरिएको टीका, मिष्ठान्न तथा फलफुल स्वयम्भूको प्रसादका रुपमा प्रदान गरिएको हो । 

    ग्वयदाँ (निमन्त्रणा)का लागि आज बिहान स्वयम्भू महानगरपालिकाका कार्यवाहक प्रमुख एवं सम्यक महादान मूल समारोह समितिका प्रमुख संयोजक सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडाध्यक्ष ईश्वरमान डंगोलले पूजा गर्नुभएको थियो । गुरु प्रा. डा. नरेशमान बज्राचार्यको धर्माधिकारत्वमा मूल आचार्य मञ्जुश्रीरत्न बज्राचार्य, उपाध्याय भीमरत्न बज्राचार्य, कर्माचार्य दशरत्न बज्राचार्य र सहायक गुरु बज्राचार्य र सहायक गुरुमाहरुबाट ग्वयदाँ पूजा भएको थियो । ग्वयदाँ पूजासँगै कार्यवाहक प्रमुख एवं मूल समारोह समितिका प्रमुख संयोजक डंगोलले, घण्टाघोषण (स्वयम्भूबाट सम्बन्धित सबैलाई दिइएको निमन्त्रणा बाचन) गर्नुभएको थियो । सम्यक महादानमा आउनका लागि सांस्कृतिक र प्रशासनिक रुपमा निम्तो नपुगेका सबैले स्वयम्भूबाट गरिएको घण्टाघोषणबाट आफूलाई निम्तो प्राप्त भएको मान्ने चलन छ । यसरी घोषण गरिएपछि कसैले मलाई निम्तो पुगेन भन्नु पर्दैन । यो नै सबैलाई निम्तो हो ।

    स्वयम्भूमा रहेको शान्तिपुर, बसुधरा (बसुन्धरा), महामञ्जुश्री, सम्यकमा ल्याइने भगवान् अमिताभ, बिजेश्वरी योगिनी, अबलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को विधिवत् पूजा गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजकीय बाजा तथा नायखिं, धिमे र गुँला बाजासहित मूल समारोह समिति, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु, सम्यक् महादान कार्यान्वयन समिति, उपसमिति, महानगरपालिकाका विभागीय प्रमुख सहितको टोली राष्ट्रपति भवन पुगेको थियो । 


  • प्रकाशित मिति बिहीबार १९ कात्तिक २०८३ ०६:५२ PM