Logo
  • वि.सं.: २०८३, कात्तिक १५ आइतबार​

  • इ.स.: 2026 November 1,SUNDAY

  • वि.सं.: २०८३, कात्तिक १५ आइतबार​

  • जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

    नेपाल पानोरामा अन्तर्गत प्रदर्शित ९ वटा फिल्म हरेकलाई १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार

    काठमाडौँ । जीवन सुनुवारले निर्देशन गर्नुभएको ‘भकुण्डे भूत’ शीर्षकको  भिडियोले सर्ट भिडियो च्यालेञ्जको अवार्ड प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत आव्हान गरेको ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को भिडियोले अवार्ड जितेको हो । यस च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए ।

    च्यालेञ्जमा अनुभव श्रेष्ठले निर्देशन गर्नुभएको द सोल अफ गुठि ले दोस्रो स्थान र सौगात सापकोटाले निर्देशन गर्नुभएको झीँगु छेँः (मेरो घर) ले तेस्रो स्थान प्राप्त गरेको छ । 

    काठमाडौँ फिल्म फेस्टिभलका लागि सर्ट भिडियो च्यालेञ्ज अन्तर्गत शैलेश हमालको ‘ह्याप्पिनेस’, धृटिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करण ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द विगेस्ट फेस्टिभल अफ काठमाडौँ’ सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ् बुढाथोकीको ‘विहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याद टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ गरी ११ वटा सर्ट भिडियो छनोट भएका भएका थिए । 

    निर्णायकबाट छानिएका सर्ट भिडियोहरुको प्रदर्शन गर्दै आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अवार्ड समारोहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका भिडियो निर्माता, निर्देशकहरु क्रमशः १ लाख ५० हजार रुपियाँ, १ लाख रुपियाँ र ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार र अवार्ड प्रदान गर्नुभएको हो । अवार्ड कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रवक्ता नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित कार्यपालिका सदस्यहरुले खादा र उपहार प्रदान गर्दै प्रोत्साहन गर्नुभएको थियो । 

    समारोहमा नेपाल पानोरामाबाट छानिएका ९ वटा लघु चलचित्र हरेकलाई १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 

    त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, युवा पुस्तालाई संस्कार, संस्कृति र परम्परा चिनाउन यस प्रकारको च्यालेञ्ज आयोजना गरिएको बताउनुभयो । ‘युवाहरुलाई काठमाडौँको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सुगन्ध महसुस गराउने हाम्रो उद्देश्य हो । युवाहरुको सहभागिताले हाम्रो उद्देश्य सफल बनाएको छ ।’ उहाँको भनाइ थियो । 

    प्रवक्ता मानन्धरले, सिर्जनात्मक र नवप्रवर्तनका कार्यक्रमलाई फिल्मसँग जोडेर निरन्तरता दिइने बताउनुभयो । ‘हामीले आयोजना गरेको कार्यक्रममा चलचित्र क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिले हामीलाई पनि प्रोत्साहित गरेको छ ।’ प्रवक्ता मानन्धरको भनाइ थियो । 

    महानगरपालिकाले अगाडि बढाएको कार्यक्रम कला क्षेत्रका लागि सुखद शुरुवात हो । यो कार्यक्रममा कला क्षेत्र जोडिँदै जानेछ । जोड्दै लैजानु पर्छ । कार्यक्रममा अभिनेता विजय बरालले भनाइ राख्नुभयो । त्यस क्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले, कला क्षेत्रको विकासमा युवाहरुको सहभागिता बढाउन काठमाडौँ महानगरपालिकाले थालेका कार्यक्रमलाई निरन्तरता दिँदै जानु पर्ने अपेक्षा राख्नुभयो । 

    फेस्टिभलका लागि नेपाल पानोरामा शीर्षकमा खुला वृत्तचित्र (डकुमेन्ट्री), कथात्मक (फिक्सन), एनिमेसन, प्रयोगात्मक ३० मिनेटसम्मका भिडियो सिर्जना आव्हान गरिएको थियो । यसबाट ७५ वटा भिडियो प्राप्त भएका थिए । प्राप्त भएका लघु चलचित्रहरुको छनोटका लागि चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक दिनेश डी. सी., चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता, पटकथा लेखक सम्पदा मल्ल र ‘फिल्म क्रिटिक्स सोसाइटी अफ नेपाल’ लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना निर्णायक हुनुहुन्थ्यो ।

    सर्ट भिडियो च्यालेन्जका लागि चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार तथा सम्पदा संरक्षणकर्मी रीजा जोशी निर्णायक हुनुहुन्थ्यो । 

    नेपाल पानोरामा अन्तर्गत सरिता शाहको ‘मनकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डोर्स आर स्टिल क्लोज्ड’, पूर बहादुर गुरुङ्को ‘अ लेटर इन वीन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका थिए । यी लघु चलचित्रहरु फेस्टिभलमा प्रदर्शन गरिएका छन् । 

    नेपाली पुराना चलचित्रहरुको सम्मानमा फेस्टिभल अन्तर्गत १९७० र ८० को दशकमा निर्माण भएका नेपाली रङ्गीन नेपाली कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनी गरिएको छ । 

    यस्तै इन्टरनेशनल पानोरमा अन्तर्गत जय नेपालमा चलचित्र प्रदर्शन गरिएका छन् । लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अष्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अष्ट्रेलियन चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशत चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोवर्ट पावेल’, मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ प्रदर्शन गरिएका हुन् । 

    यस्तै जाङहाङ जुन निर्देशित कोरियन चलचित्र ‘द किङस वार्डेन’, रीमा दास निर्देशित सिंगापुर-इन्डिया चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित चलचित्र ‘नो गुड मेन’, फ्रान्सिस फर्ड कोपोला निर्देशित अमेरिकन चलचित्र ‘गड फादर’ प्रदर्शन गरिएका छन् । यस्तै जापानको यामागाता (युनेस्को क्रियटिभ सिटी अफ फ्लिम) बाट आएका लघु चलचित्र भ्यू पिपुल, भ्यू सिटीज प्रदर्शन भएको छ ।


    फेस्टिभलका विभिन्न कार्यक्रममध्ये ‘एलिफेन्ट्स इन द फग’ को विशेष प्रदर्शन र चलचित्र टोलीसँग चलचित्र अध्ययन गर्ने विद्यार्थी र पेशाकर्मीका बिचमा अन्तरसंवाद गरिएको छ । प्यानल डिस्कसन र सांघाइ विश्वविद्यालयका विशिष्ट प्राध्यापक मार्को मुलरको मास्टर क्लास पनि सकिएको छ । 

  • प्रकाशित मिति आइतबार​ १५ कात्तिक २०८३ ०४:०४ PM