वि.सं.: २०८३, कात्तिक १५ शनिबार
इ.स.: 2026 October 31,SATURDAY
वि.सं.: २०८३, कात्तिक १५ शनिबार
हामीले देखेका फेस्टिभलमध्येकै यो नौलो प्रयोग हो – कलाकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ आफूले यस अघि सहभागिता जनाएका सबै फेस्टिभलमध्येकै नौलो भएको सहभागी कलाकारहरुले प्रतिक्रिया दिनुभएको छ । कार्तिक १३ गते वसन्तपुरमा सम्पदा पद यात्राबाट प्रारम्भ भएको फेस्टिभलको शुभारम्भ कार्यक्रममा सहभागी कलाकारहरुले डवली, चोक, मन्दिरका सिँढीमा प्रदर्शन गरिएका गायन, वादन तथा नृत्य हेरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँहरुले मौलिक सांस्कृतिक क्रियाकलाप हेर्नु मात्र भएन । आफैँले नाचेर, गाएर सहभागी हुनुभयो ।
सम्पदा यात्रापछि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्ने वक्ता कलाकारहरुले पनि फेस्टिभललाई ‘विशिष्ट पहिचानसहित सुरु भएको यात्रा’का रुपमा र यात्रा प्रारम्भको नेतृत्व गर्ने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखलाई ‘नायक’का रुपमा चर्चा गर्नुभयो ।
वक्ताहरुको धारणा र सहभागीहरुको प्रतिक्रिया सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँका टोल, गल्ली र वस्तीलाई अन्तराष्ट्रिय क्षेत्रसँग जोड्न चलचित्र क्षेत्रमार्फत निरन्तर काम गरिरहने बताउनुभयो । ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन । यसले कुनै बिषय, बस्तु, पात्र वा अवस्थाका बारेमा मानिसको सोचमा गहिरो दृष्टिकोण निर्माण गराउँछ । यसकारण चलचित्रलाई एउटा कोणबाट मात्र हेर्न हुँदैन । यही मान्यतालाई रचनात्मक उद्योगसँग जोडेर हामीले फेस्टिभल थालेका हौँ ।’
समृद्धिको मापन सूचकका विषयमा कुरा गर्दै उहाँले, ‘अग्ला भवन, चिल्ला सडकले मात्र समृद्धिको उचाइ पुग्दैन । यसका लागि स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण र पुस्तान्तरण हुनुपर्छ । हामी क्रियटिभ सिटिजका कार्यक्रम अन्तर्गत यही विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।
‘फेस्टिभल आयोजना गर्न काठमाडौँ महानगरपालिकाको सिङ्गो परिवार जुटेको छ । युनेस्को क्रियटिभ सिटिज नेटवर्कको सदस्यता प्राप्त गर्नदेखि फेस्टिभल आयोजना गर्न नगर सभाबाट कार्यक्रम पारित गर्ने नगर सभा सदस्य र कार्यपालिकाबाट निर्णय गर्ने कार्यपालिका सदस्यको संयुक्त प्रयास हो ।’ उद्घाटन समारोहमा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाको सांस्कृतिक सहर, समृद्ध महानगर बनाउने लक्ष्यमा फेस्टिभलले टेवा दिनेछ ।’
उद्घाटन सत्रको शुरुवात् सम्पदा यात्रा र खुला सांस्कृतिक कार्यक्रमबाट गरिएको थियो । जुद्ध शालिक क्षेत्र आमन्त्रित अतिथिलाई मौलिक टीका लगाएर स्वागत गरिएको थियो । त्यसपछि टोलीलाई वसन्तपुर डवलीतर्फ लगिएको थियो । त्यहाँ गुरुजुको पल्टनले सांस्कृतिक वादन प्रस्तुत गरेको थियो । त्यसपछि अगाडि बढेको यात्रा कुमारी घरमा जीवित देवी कुमारीको दर्शनका लागि बढ्यो । श्रीकुमारीको दर्शनपछि गद्दी बैठक अगाडिको नारायण मन्दिरको सिँढीमा गणेश चर्या, माजु देगः मन्दिरका सिँढी परम्परागत नृत्य, शिवपार्वती डवलीमा सांस्कृतिक अर्केष्ट्रा, श्वेत भैरव अगाडि नारायण मन्दिर प्राङ्गणमा अष्टमातृका चर्या नृत्य प्रदर्शन गरिएको थियो । यसैगरी कागेश्वरी मन्दिरको ठिक अर्कोपट्टि अतिथितर्फ फर्किएर सशस्त्र प्रहरी बलले बादन प्रस्तुत गरेको थियो । सम्पदा पद यात्रामा रहनुभएका अतिथिहरुले यी नृत्य, गायन तथा वादनमा आफूलाई समाहित गर्नुभएको थियो ।
गणेश चर्या, बज्रकला कुञ्जले, माजु देगःको परम्परागत नृत्य नेपा डान्स एकेडमीले, शिवपार्वती डवलीको अर्केष्ट्रा कुटुम्ब, नेपाल प्रहरी, स्थानीय बाजा खलले प्रस्तुत गरेका थिए । अष्टमातृका यूएनएक्सको प्रस्तुति थियो ।
औपचारिक कार्यक्रमको अन्त्यमा मुनासा नेपाको प्रस्तुति र आर्मय नकर्मीको निर्देशनमा हसाना (सन्देश) नामक नाटक प्रदर्शन गरिएको थियो । यस्तै नेपाः डान्स एकेडेमीले कर्कुल्ला र सातै प्रदेशका आदिबासी जनजातिका भेषभुषा तथा नृत्य समावेश गरेर प्रस्तुति गरेको थियो ।
औपचारिक कार्यक्रमका वक्ताहरुको धारणा
‘सिनेमा नै एउटा यस्तो माध्यम हो । जसले सरकार र सम्बद्ध क्षेत्रसँग सिधै अन्तरसंवाद गराउँछ । यसकारण सिनेमा रचनात्मक उद्योगमा पनि शक्तिशाली माध्यम हो । यो सैद्धान्तिक कुरालाई काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रमा सर्वसाधारणको आवतजावतसँगै घुलमिल गर्दै जसरी फेस्टिभल शुभारम्भ गरेको छ । यो उत्साहजनक छ । यस क्षेत्रले कलाकार, प्राविधिक, सर्जक, डिजाइनर, बजार व्यवस्थापक जस्ता विभिन्न पेशाकर्मीलाई जोड्न सक्छ । यसरी एउटा कार्यक्रमबाट अनेक पेशा र क्षेत्रलाई जोड्ने काम थालनी गरेको काठमाडौँ महानगरपालिकाले रचनात्मक क्रियाकलापलाई थप र विस्तार गर्दै जाने अपेक्षा गरेको छु ।’ - जाको डु टोइट, प्रमुख, युनेस्को काठमाडौँ
‘भारतीय चलचित्र उद्योगमा विगत ५० वर्षदेखि आवद्ध छु । यस अवधिमा म सहभागी भएका सबै फेस्टिभलभन्दा यो मौलिक र सांस्कृतिक स्वादको छ । प्रारम्भ अति नै सुन्दर छ । यससँगै फेस्टिभललाई कसरी दिगो बनाउने चुनौती पनि छ । तर, म विश्वाश गर्छु । महानगरपालिकाले यसलाई निरन्तरता दिनेछ ।’ - सवाना आजमी, भारतीय चलचित्र अभिनेत्री
‘यो यङ् फिल्म फेस्टिभल हो । किनभने यसका आयोजक सबै युवा देख्छु । सांस्कृतिक जीवन र हिमालय क्षेत्र भएको चलचित्र निर्माणको नयाँ आयाम जोड्ने लक्ष्य पनि नयाँ देखेको छु । नेपालको राजधानी सहर काठमाडौँ महानगरपालिका फेस्टिभल सुरु गर्नु पनि नयाँ कुरा हो । यो फेस्टिभलले क्रियटिभ उद्योगका लागि दक्षिण एशियाली मुलुक र विश्वभर नयाँ सन्देश प्रवाह गर्नेछ ।’ - विशिष्ट प्राध्यापक मार्काे मुलर, सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टर
‘चलचित्र बडा पावरफुल हुन्छ । यसबाट धेरै सन्देश दिनुपर्छ । कथानक चलचित्र अलि ढिला हुन्छ । सिरियलहरुबाट चाँडै नै सूचना र शिक्षा दिन सकिन्छ । अब यतातिर पनि महानगरपालिकाले ध्यान दिनुपर्छ । २०४३ सालमा सवाना आजमी काठमाडौँमा आउनुभएको थियो । एउटा अवार्ड कार्यक्रममा उहाँको हातबाट मैले वेष्ट कमेडियन अवार्ड थापेको थिएँ । आज महानगरपालिकाले त्यो बेला अवार्ड दिने र लिने दुवैलाई एउटै मञ्चमा ल्यायो । म आभारी छु ।’ - वरिष्ठ अभिनेता, मदनकृष्ण श्रेष्ठ
प्रकृतिको अनुपम उपहारलेयुक्त भएको, पूर्खाहरुको कला, प्राचीनकालदेखि चल्दै आएका संस्कृति चलचित्र निर्माण र छायाङ्कनका लागि सिङ्गो स्टूडियो हो । यस स्टूडियोमा संसारले बुझ्ने भाषाका रुपमा प्रयोग भएको चलचित्र निर्माण गर्न सक्यौँ भने, ऐतिहासिक काम हुनेछ । यसले नेपाललाई विश्वमा चिनाउनेछ । यो कामका लागि काठमाडौँ महानगरपालिकाले थालेको यो कामले बलियो जग बसाउने विश्वाश लिएको छु ।’ - वरिष्ठ अभिनेता, हरिवंश आचार्य
‘यो फेस्टिभलको महत्वपूर्ण पक्ष भनेको यससँग सम्बन्धित डाइरेक्टरहरु सबै महिला छौँ । कार्यवाहक प्रमुख पनि महिला हुनुहुन्छ । यसलाई यसरी भनौ, यो फेस्टिभल महिला नेतृत्वबाट सम्पन्न हुँदैछ ।’ – आयूषा श्रेष्ठ, क्रियटिभ डाइरेक्टर
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App