Logo
  • वि.सं.: २०८३, असोज २७ मंगलबार

  • इ.स.: 2026 October 13,TUESDAY

  • वि.सं.: २०८३, असोज २७ मंगलबार

  • शिक्षा समितिबाट ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन’ स्वीकृत 

    स्थान, स्रोत तथा जनशक्तिको अभावलाई स्कूल-स्कूल पार्टनरसिप कार्यक्रमबाट व्यवस्थापन गर्न सकिन्छ – कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ । सोमबार कार्यवाहक एवं समितिका अध्यक्ष प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा शिक्षा समितिबाट शिफारिस भएर आएको मार्गदर्शन स्वीकृत गरेको हो । विद्यालय तहको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सिप विकासमा केन्द्रित गर्नु, सञ्चालित कार्यक्रमलाई व्यवस्थित बनाउनु मार्गदर्शनको मुख्य उद्देश्य हो । मार्गदर्शनमा कक्षागत आवश्यकताअनुसार फरक–फरक कार्यक्रम सञ्चालन, विज्ञ प्रशिक्षक परिचालन, सिकाइको नियमित अनुगमन र मूल्याङ्कन लगायत व्यवस्था छन् । 

    वैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णय गरेको छ । गएको साउन ६ गते महेन्द्र भवन शैक्षिक गुठी र काठमाडौँ महानगरपालिका बिच विद्यालयलाई आधुनिक र नमुना विद्यालयका रूपमा सञ्चालन गर्न र गुरुयोजना बनाएर विशेष विद्यालय सञ्चालन गर्न सम्झौता गरिएको थियो । 

    वैठकमा मार्गदर्शन कार्यान्वयनमा विषयमा कुरा गर्दै अध्यक्ष डंगोलले, स्कूल-स्कूल पार्टनरसिप कार्यक्रमबाट खेल मैदान, स्रोत तथा सामग्री र जनशक्ति व्यवस्थापनमा देखिएको अभाव हटाउन सकिने बताउनुभयो । ‘खेल मैदान नभएका विद्यालयका विद्यार्थीहरुलाई खेल मैदान भएको नजिकको विद्यालयमा लैजाऔँ । त्यहाँका विद्यार्थीलाई पनि प्रशिक्षण गराऔँ । यो एउटा उत्कृष्ट मोडल बन्न सक्छ ।’ उहाँले कार्यक्रमका विषयमा धारणा राख्दै भन्नुभयो, ‘कार्यक्रम थालेको पहिलो दिनमा जुन उत्साह थियो त्यो उत्साह, त्यस दिनको लक्ष्य र प्राथमिकता आज कुन स्तरमा छ? थाहा पाउनुपर्छ । यसका लागि स्वतन्त्र अध्ययनबाट मूल्याङ्कन गर्नुपर्छ ।’

    हामीले पुस्तकरहित शुक्रबारका दिनमा विद्यार्थीलाई दिएको ज्ञान, सिप र दक्षता जीवन उपयोगिताका दृष्टिले कुन स्तरमा छ? अब यसको पनि मूल्याङ्कन गर्ने बेला भएको छ । बैठकमा शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘सन्तुलित सिकाइ आजको आवश्यकता हो । कार्यक्रम तर्जुमा गर्दा यसमा ध्यान दिनुपर्नेछ ।’

    कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर, रुचि र आवश्यकताका आधारमा पुस्तकरहित शुक्रबारका कार्यक्रममा सहभागी गराउने गरिएको छ । शिक्षा विभागका प्रमुख नमराज ढकालले बैठकमा भन्नुभयो, ‘कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि ‘सिर्जनात्मक सिकाइ’, कक्षा ९ का विद्यार्थीका लागि ‘शिक्षामा सिप’, कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि खेलकुद र ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई नियमित र व्यवस्थित गर्नका लागि मार्गदर्शनमा व्यवस्था गरिएको छ । नियमित पाठ्यपुस्तकमा आधारित सिकाइभन्दा दैनिक जीवन, व्यक्तित्व विकास र सिप विकासका लागि विद्यार्थीको प्रतिभा पहिचान, व्यावहारिक क्षमता र सामाजिक व्यवहार विकासलाई व्यवस्थित गराउनु मापदण्डले अपेक्षा गरेको नतिजा हो । 

    ‘सिर्जनात्मक सिकाइ’ अन्तर्गत अबाकस, स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित), कोडिङ तथा कृतिम बौद्धिकता, योग र ध्यान, गायन, वाद्यवादन, नृत्य, भित्तेचित्र र हस्तकला विषय राखिएको छ । यी विषयमा विद्यार्थीको रुचि र क्षमताअनुसार उपसमूह गठन गरी उनीहरूमा रहेको प्रतिभा उजागर गर्ने र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने मार्गदर्शनमा उल्लेख छ ।

    परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार कक्षा ९ का विद्यार्थीका लागि भने व्यावसायिक तथा रोजगारमूलक सिप विकासमा जोड दिइएको छ । ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत ब्युटिसियन तथा हेयर स्टाइल, पाककला, हाउस वायरिङ तथा इलेक्ट्रिकल र स्केचिङ तथा स्कल्प्चर विधा समावेश छन् । यी विधामा प्रत्यक्ष अभ्यास गराएर विद्यार्थीलाई आधारभूत श्रम, व्यावहारिक दक्षता र उद्यमशीलतासँग परिचित गराउने महानगरपालिकाको लक्ष्य छ । यसले विद्यालय तहदेखि नै विद्यार्थीलाई भविष्यको रोजगारी र आत्मनिर्भरताका लागि आवश्यक सिप सिक्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    ‘रचनात्मक विद्यालय’ कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते गरी ५ वटा र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय क्रिकेट र फुटबल गरी ७ वटा खेलको प्रशिक्षण तथा प्रतिस्पर्धा गराइनेछ ।  आफ्नै विद्यालयमा खेल मैदान नभएका विद्यालयले नजिकका खुला स्थानमा निःशुल्क खेल सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । ‘सुन्दर विद्यालय’ कार्यक्रम अन्तर्गत विद्यार्थीको सहभागितामा शौचालय तथा कक्षाकोठा सरसफाइ, फोहरमैला व्यवस्थापन, विद्यालय परिसरको सजावट, वृक्षरोपण, हरियाली प्रवर्धन र वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । यसका लागि विद्यालयहरुले हरेक शुक्रबार ३० मिनेट अनिवार्य रूपमा समय विभाजन गर्नुपर्नेछ । 

    कार्यक्रमलाई औपचारिकतामा सीमित हुन नदिन मापदण्डमा समयावधि, प्रशिक्षकको योग्यता र विद्यालयको जिम्मेवारीसमेत निर्धारण गरिएको छ । ‘सुन्दर विद्यालय’ अन्तर्गतको बालबालिका तथा वातावरण (वावा)उपसमूहबाहेक अन्य उपसमूहको सिकाइ अवधि ७५ घण्टा प्रशिक्षकको प्रत्यक्ष सहजीकरण र २५ घण्टाको परियोजना कार्य गरी कुल १ सय घण्टाको हुनेछ । 

    विद्यालयहरुले यस्ता कार्यक्रम हरेक शुक्रबार ३ घण्टा सञ्चालन गर्नुपर्नेछ । सिर्जनात्मक सिकाइ, शिक्षामा सिप र खेलकुदका उपसमूहका गतिविधि एक शैक्षिक सत्रमा २५ शुक्रबार सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

    विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सम्बन्धित विधामा डिप्लोमा उत्तीर्ण वा कम्तीमा पाँच वर्षको अनुभव भएका बाह्य विज्ञलाई सिर्जनात्मक सिकाइका प्रशिक्षकका रूपमा छनोट गर्न सकिनेछ । कक्षा ९ को ‘शिक्षामा सिप’ कार्यक्रमका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण प्रशिक्षक र डिप्लोमा उत्तीर्ण सहायक प्रशिक्षकको व्यवस्था गर्नु पने व्यवस्था गरिएको छ । आवश्यक योग्यता भएका जनशक्ति उपलब्ध नभएमा तोकिएको अनुभव भएका व्यक्तिलाई परिचालन गर्न सकिनेछ । स्टिम तथा बालबालिका र वातावरण सम्बन्धी कार्यक्रम भने अनुभवी र तालिम प्राप्त फोकल शिक्षकबाट सञ्चालन हुनेछ ।

    मार्गदर्शनले कार्यक्रमको व्यवस्थापन, आर्थिक पारदर्शिता र नतिजाप्रतिको जवाफदेहितालाई पनि प्राथमिकता दिएको छ । विद्यालयले शैक्षिक सत्र सुरु भएको एक महिनाभित्र विद्यार्थीको रुचि र आवश्यकताका आधारमा सामान्यतः ४० जनासम्म रहने गरी उपसमूह गठन गरी शिक्षा विभागमा विवरण पठाउनुपर्नेछ । विद्यार्थीलाई बालबालिका तथा वातावरण (वावा) उपसमूहबाहेक अन्य उपसमूहमा दोहोरो सदस्यता दिन पाइने छैन । प्रशिक्षकको हाजिरी, प्रशिक्षणको अवधि, सिकाइ सामग्रीको खरिद, खर्चको विवरण र फोकल शिक्षकको प्रतिवेदन अभिलेखीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले विधाअनुसार अनुदानको सिमा पनि तोकेको छ । सिर्जनात्मक सिकाइका प्रत्येक उपसमूहका लागि महानगरपालिकाले अधिकतम ८७ हजार ५ सय रुपियाँ उपलब्ध गराउनेछ । शिक्षामा सिप कार्यक्रमका लागि विधाअनुसार करिब एक लाख ९ हजार ७५० रुपियाँदेखि २ लाख १५ हजार ७५० रुपियाँसम्म र खेलकुदका प्रत्येक विधाका लागि सहायक प्रशिक्षकबाहेक अधिकतम एक लाख १८ हजार २५० रुपियाँ अनुदान दिइनेछ । विद्यालयले प्रारम्भिक लागतको ५० प्रतिशत रकम पेश्कीका रूपमा पाउने र कार्यक्रम सम्पन्न भएपछि आवश्यक कागजात तथा खर्च विवरणका आधारमा बाँकी रकम निकासा हुने व्यवस्था मार्गदर्शनमा उल्लेख छ ।

    कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापक, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा महानगरपालिकाका पदाधिकारीबाट नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ । शिक्षा विभागले आवश्यकताअनुसार अनुगमन टोली गठन गर्न सक्नेछ । प्रधानाध्यापकले प्रशिक्षक छनोट, सम्झौता, कार्यक्रमको गुणस्तर, वित्तीय उत्तरदायित्व र प्रतिवेदनको जिम्मेवारी लिनुपर्नेछ भने फोकल शिक्षकले दैनिक गतिविधिको विवरण राखी कार्यक्रमको समग्र प्रतिवेदन पेस गर्नुपर्नेछ । आवश्यकताअनुसार कार्यक्रमअन्तर्गतका विधामा प्रतिस्पर्धा तथा प्रदर्शनी आयोजना गर्न सकिने मार्गदर्शनमा व्यवस्था छ । 

    पुस्तकरहित शुक्रबारलाई विद्यार्थीले नियमित कक्षाकोठाबाहिर रुचिअनुसार सिक्ने, अभ्यास गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा विकास गर्ने मार्गदर्शनको मूल मर्म हो । सिपमूलक अभ्यास, परियोजना कार्य, खेलकुद र वातावरण संरक्षणलाई एउटै कार्यक्रम संरचनामा समेटिएको यस व्यवस्थाको प्रभावकारिता भने विद्यालयले यसको कार्यान्वयनमा देखाउने सक्रियता, प्रशिक्षकको गुणस्तर र सिकाइ उपलब्धिको नियमित मूल्याङ्कनमा निर्भर हुनेछ । 

    मार्गदर्शनले कार्यक्रम सञ्चालनलाई व्यवस्थित र नतिजामुखी बनाउनेछ । वैठकमा समितिका सदस्यहरु एवं विद्यालयका प्रधानाध्यापकहरु हेरम्बराज कँडेल र राजेन्द्र अधिकारीले, कार्यक्रमको नतिजालाई अनुदानमा जोड्दै लैजानु पर्ने बताउनुभयो । 

  • प्रकाशित मिति मंगलबार २७ असोज २०८३ ०८:२२ AM