Logo
  • वि.सं.: २०८३, कात्तिक १६ सोमबार

  • इ.स.: 2026 November 2,MONDAY

  • वि.सं.: २०८३, कात्तिक १६ सोमबार

  • एउटा विश्व सम्पदा क्षेत्रबाट सुरु भएको 'काठमाडौँ फिल्म फेस्टिभल' अर्को विश्व सम्पदा क्षेत्र र एम्पी थियटरमा पुगेर समापन

    कार्तिक १३, १४ र १५ गते ३ दिन फेस्टिभलका विविध कार्यक्रम

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्तिक १३ गते विश्व सम्पदा क्षेत्र बसन्तपुरबाट सम्पदा यात्रा गर्दै सुरु गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्ध र तारागाउँ नेक्स्टको एम्पीथियटरमा पुगेर कार्तिक १५ गते समापन भयो । यी ३ दिनमा नेपाली पुराना चलचित्रहरु ‘के घर के डेरा’ र ‘कुमारी’ सहित सर्ट भिडियो, नेपाली पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० वटा चलचित्र देखाइयो ।  

    समापन कार्यक्रम बौद्ध स्तुपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो । स्तुपामा पुगेका कलाकार तथा विशिष्ट व्यक्तिहरुलाई वडा नं. ६ ले मौलिक गायन र वादन तथा खादाबाट स्वागत गरेको थियो । त्यसपछि बौद्धबाट तारागाउँसम्म पैदल यात्रा गरिएको थियो । सर्जकहरुलाई काठमाडौँको जनजीवनसँग परिचित गराउनु पैदल यात्राको उद्देश्य थियो । 

    यात्रापछि तारागाउँको एमपीथियटरमा आयोजना गरिएको समापन समारोहमा बोल्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौँले रचनात्मक सहर सञ्जालमा आवद्ध हुँदाका बखत ४ वर्षभित्रमा एउटा फिल्म फेस्टिभल गर्ने प्रतिवद्धता पूरा गरेको बताउनुभयो । ‘यो शुरुवात हो । यो कार्यक्रम नेपाली चलचित्र उद्योगप्रति समर्पित कार्यक्रम हो । पहिलो कार्यक्रमबाट प्राप्त गरेको सिकाइ, सुधारका लागि प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित गर्दै लैजानेछौँ ।’

    चलचित्रमार्फत काठमाडौँका कथा विश्वभर सुनाउने र रचनात्मक उद्योगको विकासका लागि कला, साहित्य र सिर्जनाका क्षेत्रलाई एउटै बाटोमा हिँडाउने योजना सुनाउँदै उहाँले, सहयात्रामा जोड दिनुभयो । 

    कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार नीर शाहले, उच्च स्तरको महोत्सव थालनी भएको बताउँदै यसको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्धन गर्नु पर्ने बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले अहिले जे काम गरेको छ । यो काम सरकारले पहिले नै थाल्नु पर्ने थियो । तर जे होस्, ढिलै भए पनि काठमाडौँले थालनी गरेको छ । यो नै ठुलो कुरा हो ।’

    ‘समाजका कथा, अवस्थिति र परिस्थिति आम दर्शकलाई सुनाउन फिल्म नै सशक्त माध्यम हो । यसको विकासका लागि महानगरपालिकाले थालेको कामले कला, साहित्य र सिर्जनालाई बचाउन योगदान दिने निश्चित छ ।’ नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्तरमा विकास भएका प्रविधि र प्राविधिक ज्ञान प्राप्त गर्न र नेपालका अद्वितीय सम्पदाको विस्तार गर्न महानगरपालिकालाई सफल भए यसको लाभ स्वभाविक रुपमा नेपाली चलचित्र उद्योगमा पर्नेछ । त्यसैले महानगरपालिकाको कामलाई कला क्षेत्रबाट नियमित सहयोग प्राप्त हुनेछ ।’

    ‘चलचित्र उद्योगलाई आकार दिन दक्षिण एशियाली मुलुकहरुमा नेपाल प्रचुर सम्भावना भएको ठाउँ हो । यसलाई पहिचान गरौँ । आफैँभित्रको सम्भावना खोजौँ ।’ सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलरले भन्नुभयो, ‘काठमाडौँले थालेको कामबाट नेपाली चलचित्र उद्योगलाई मात्र होइन । अन्तर्राष्ट्रिय उद्योगलाई समेत लाभ मैले महसुस गरेको छु ।’ 

    चलचित्र र कला क्षेत्रबाट प्राप्त भएको सहयोगबाट फेस्टिभल सफल भएको धारणा राख्दै क्रियटिभ डाइरेक्टर एवं क्युरेटर आयूषा श्रेष्ठ, महानगरपालिकाको इतिहासमा यो महत्वपूर्ण काम सम्पन्न भएको उल्लेख गर्नुभयो । यस्तै नेपाल माउन्टरिङ् एशोसिएसनका अध्यक्ष फुर्वा गल्मो शेर्पाले, महानगरपालिकाले नेपालको साहसिक पर्यटनका कथालाई चलचित्र क्षेत्रसँग जोड्न सहयोग गर्ने अपेक्षा राख्नुभयो ।  

    समापन अवसरमा काठमाडौँ कला परिषद्का सदस्यहरु, फेस्टिभलका सल्लाहकारहरु, आयोजनामा योगदान गर्ने विभिन्न विधाका डाइरेक्टरहरु,  विभिन्न कार्यक्रममा आवद्ध साझेदारहरुलाई आभारसहित मायाको चिनो प्रदान गरिएको थियो । 

     
     

  • प्रकाशित मिति सोमबार १६ कात्तिक २०८३ ०२:१४ PM