वि.सं.: २०८३, भदौ २९ सोमबार
इ.स.: 2026 September 14,MONDAY
वि.सं.: २०८३, भदौ २९ सोमबार
योजनासँग नागरिकलाई जोड्न र साझेदारबाट कार्यान्वयन हुन सक्ने काममा साझेदारको स्रोत, सिप र प्रविधि परिचालन गर्न विज्ञहरुको सुझाव
काठमाडौँ । आयोग, सचिवालयसहित काठमाडौँ महानगरपालिकाका १७ वटा एकाइबाट चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने तथा दूरगामी महत्वका ५९ वटा योजना बैठकमा पेश गर्नुभएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज सहरी योजना आयोगका पदाधिकारी, विज्ञ र विभागका प्रमुखहरुका बिचमा राखिएको बैठकमा विभागीय प्रमुखहरुले नियमित प्रकृतिका भन्दा नविन प्रकारका र नीतिगत तथा संरचनागत रुपमा दिगो प्रभाव राख्ने खालका कार्यक्रम पेश गर्नुभएको हो ।
यसरी बैठकमा राखिएका योजनाको विश्लेषण गर्दै कार्यवाहक प्रमुख डंगोलले, जनसाधारणको दैनिकी, सहरी सुरक्षा, सहजता र जीवन्तता, मूर्त अमूर्त सांस्कृतिक सम्पदा तथा रैथाने सिप, शिल्प र कला, रोजगार तथा स्वरोजगारमूलक तालिम, सार्वजनिक सम्पत्तिमा पहुँच अभिवृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । उहाँले विभागबाट पेश भएका प्राथमिक योजनाका अतिरिक्त, ‘सडक बत्ती जडान, सुन्धारामा प्राकृतिक पानीको स्रोत तथा निकासको व्यवस्था, श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण, भूमिगत पानी पुनःभरण, पुर्ण मापदण्ड पूरा भएको पहुँचयुक्त सडक (कम्प्लिट सेट अफ रोड) को नमूना निर्माण लगायतका कामलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको हो । त्यस क्रममा उहाँले, साउन महिनाभित्र वार्षिक कार्ययोजना स्वीकृत गराउन र प्राथमिकतामा राखिएका योजना अर्थपूर्ण कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले, विभागहरुबाट प्राथमिकता निर्धारण गरिएका कार्यक्रमलाई आन्तरिक तथा आपसी समन्वय र सामुहिक निर्णयबाट प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । ‘निश्चित समयभित्र नतिजा देखिने गरी कार्यक्रम कार्यान्वयन हुनेछन् ।’ अर्यालले कार्यान्वयन प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महानगरपालिकाको योजनाबद्ध र सन्तुलित विकासका लागि सहरी योजना आयोगले आवधिक योजना तर्जुमा गरिरहेको आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले जानकारी दिनुभयो ।
विभागहरुले पेश गरेका प्राथमिक योजना विभागहरुबाट वैठकमा पेश भएका योजनामा पूर्वाधार विकास, सूचना तथा सञ्चार प्रविधि, सामाजिक समावेशीकरण र नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने ‘स्मार्ट’, ‘आर्थिक’, ‘सामाजिक’ र ‘मानवीय’ योजना छन् ।
महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै यस वर्ष ‘महानगर अस्पताल’ भवन निर्माणको प्रक्रिया थाल्ने भएको छ । महानगरवासीका लागि निःशुल्क तथा सहुलियत डायलासिस सेवा सञ्चालन गर्ने योजना प्राथमिकतामा छ । शिक्षातर्फ सामुदायिक विद्यालयका सबै कक्षाकोठामा डिजिटल बोर्ड जडान गरिने भएको छ । ‘स्वनीगु विश्वविद्यालय’ स्थापनाको तयारीलाई पनि प्राथमिकतामा राखिएको छ । सहायताको विशेष आवश्यकता भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना विगत कार्यक्रमभन्दा फरक र मानवीयतामा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
सहर सुरक्षित र आधुनिक सहर बनाउन एआई (कृतिम बौद्धिकता) प्रविधिमा आधारित सीसीटीभी जडान हुनेछन् । सूचना तथा सञ्चार प्रविधिलाई महत्व दिँदै आफ्नै ‘डाटा सेन्टर’ स्थापना गर्ने योजना प्राथमिकतामा छ ।
भवन निर्माण इजाजत र नक्सापास प्रक्रियालाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग आबद्ध गराउने योजना छ । यसले नक्सा पास, नक्सा पास हस्तान्तरण लगायत प्रक्रियालाई सहज र बैज्ञानिक बनाउने उद्देश्य राखिएको छ ।
सामाजिक विकास अन्तर्गत महानगरले फरक पहिचान भएका लैङ्गिक तथा अल्पसंख्यक व्यक्तिहरूका लागि सहायता कक्ष स्थापना गर्ने, युवाहरूलाई स्वरोजगार बनाउन ‘युवा तथा स्वरोजगार केन्द्र’मार्फत सहुलियत कर्जा उपलब्ध गराउने, रोजगार तथा अन्य काममा जानु पर्ने अभिभावकहरूलाई लक्षित गरी ‘शिशु सेवा केन्द्र’ र ‘केयर ब्लक’ स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा छन् ।
रचनात्मक उद्योगको विकास र सांस्कृतिक पर्यटनलाई बढाउन काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुनेछ । म्हेपी अजिमा, नन्दी केशर भवन जस्ता ऐतिहासिक संरचनाहरूको पुनःनिर्माण हुनेछ । इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूमा विदेशी पाहुनाहरूलाई आमन्त्रण गरी काठमाडौँको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
धेरै समयदेखि चुनौतीको रूपमा रहेको फोहर व्यवस्थापनलाई वैज्ञानिक पद्धतिबाट समाधान गर्ने, ल्याण्डफिल साइटमा फोहरको भार घटाउने काम प्राथमिकतामा छ ।
महानगरभित्र लामो समयदेखि रहेको ‘स्ववासी’हरुको जग्गामा स्वामित्व सम्बन्धी समस्या समाधानका लागि सहजीकरण गर्ने र न्याय सम्पादनलाई छिटो छरितो बनाउन इ–इजलासलाई अद्यावधिक गरिनेछ । निष्क्रिय रहेका सहकारीहरूको व्यवस्थापन र ऋण असुलीमा कडाइ गर्दै वित्तीय सुशासन कायम गर्ने काम प्राथमिक कामका रुपमा अगाडि बढाइएको छ ।
यसरी प्राथमिकता निर्धारण गरिएका कार्यक्रममा साझेदारको स्रोत, सिप तथा प्रविधि उपयोग हुन सक्ने अवस्थामा महानगरपालिकाले त्यो अवसरलाई उपयोग गर्नु पर्ने विज्ञहरुको सुझाव छ । यसले विकास र व्यवस्थापनमा स्थानीय अपनत्व बढाउने उहाँहरुको तर्क छ । यस्तै अर्को विभागसँग सम्बन्ध राख्ने कार्यक्रममा आपसी समन्वयबाट कार्यक्रम सञ्चालन गर्दा मितव्ययिता र दक्षता अभिवृद्धि हुने, तुलना योग्य र एकीकृत नतिजा प्राप्त हुने उहाँहरुको सुझाव छ ।
विभागहरुले पेश गरेका यी प्राथमिक कार्यक्रमसँगै नियमित र अन्य महत्वपूर्ण कार्यक्रमलाई समान महत्वका साथ अगाडि लगिने योजना छ । यसरी क्षेत्रगत प्राथमिकता निर्धारण गरेर कार्यक्रम अगाडि बढाएपछि तुलना योग्य नतिजा प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App