वि.सं.: २०८३, साउन २८ बिहीबार
इ.स.: 2026 August 13,THRUSDAY
वि.सं.: २०८३, साउन २८ बिहीबार
सहरी योजना आयोगको ७३ औँ वैठकमा ७२ औँ वैठकको निर्णय कार्यान्वयनको समीक्षा र चालु आर्थिक वर्षका योजनाको प्राथमिकीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख एवं सहरी योजना आयोगका अध्यक्ष सुनिता डंगोलले, आयोगले निर्माण गरेका परियोजनाको सुन्दरता कागजमा मात्र नभइ कार्यान्वयनमा गएर नागरिकले महसुस गर्ने हुनु पर्ने बताउनुभएको छ । आज आयोगको ७३ औँ वैठकमा ७२ औँ वैठक र यस अघि गरिएका निर्णय तथा तयार पारिएका डीपीआर कार्यान्वयनमा विभागीय समन्वयको कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘आउँदो बैठकमा आयोग र विभागले प्रगतिको संयुक्त प्रस्तुतिकरण गर्नुहोला ।’ उहाँले भन्नुभयो, ‘सहरी जीवन्तता बढाउन दिनको व्यवस्थापन जत्तिकै रातको अवधिमा सहरलाई जागा बनाउनु पर्छ । यसका लागि के गर्ने भन्ने होइन, कसरी गर्ने भन्ने कोणबाट काम गर्नुपर्छ ।’
स्वीकृत योजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तर कायम गराउन बैठकले योजनाहरूको अनुगमनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । सहरी योजना आयोगका सदस्यको संयोजकत्वमा गठन हुने यस्ता टोलीले भौतिक निर्माण, सम्पदा पुनरुत्थान तथा सामाजिक विकासका कार्यहरूको स्थलगत निरीक्षण गर्नेछ ।
अनुगमन टोलीले प्रत्येक दिनको प्रतिवेदन श्रव्यदृश्य र डिजिटल ढाँचामा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आयोगको सचिवालयलाई बुझाउनुपर्नेछ । यसका लागि सूचना प्रविधि विभागलाई छुट्टै ‘प्रतिवेदन पोर्टल’ विकास गर्न निर्देशन दिइएको छ ।
महानगरपालिका भित्रका सरकारी तथा सार्वजनिक उद्यानहरूको दिगो व्यवस्थापन र वृक्षारोपणको मापदण्ड तयार पार्न एउटा र वृक्षरोपण तथा हरियाली प्रवर्धन मापदण्ड तर्जुमा गर्न छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय भएको छ । यी समितिहरूलाई १५ दिनभित्र उद्यान सञ्चालन कार्यविधि र हरियाली प्रवर्धन सम्बन्धी कानुनी मापदण्डको मस्यौदा पेश गर्न समय प्रदान गरिएको छ ।
यी समितिका संयोजक सहरी योजना आयोगका उपाध्यक्षले तोक्नुहुनेछ । समितिको सदस्यमा सम्बन्धित विभाग वा कार्य क्षेत्रसँग सम्बन्धित विभागका प्रमुख वा प्रतिनिधि रहनुहुनेछ ।
महानगरभित्रका सार्वजनिक शौचालयहरूको वर्तमान अवस्था, संख्या र स्थानबारे विस्तृत अध्ययन गर्न अर्काे समिति गठन गरिएको छ । समितिले सार्वजनिक निजी साझेदारीको प्रारुपमा नयाँ शौचालयका लागि सम्भावित स्थान पहिचान गर्ने र शौचालयमा हुनुपर्ने अनिवार्य सुविधाहरू समेटिएको अध्ययन प्रतिवेदन एक महिनाभित्र पेश गर्नेछ ।
विद्यालय परिसरलाई स्वच्छ र स्वस्थ्य बनाउन ‘शिक्षा विभाग’लाई सहरी योजना आयोगसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिएको छ । त्यस्तै, भूमिगत जलस्तर बढाउनका लागि महानगरभित्रका सार्वजनिक र सरकारी भवन परिसरमा ‘रिचार्ज पिट’ निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउन सार्वजनिक निर्माण विभागलाई निर्देशन दिइएको छ ।
बैठकमा आयोगका उपाध्यक्षले अहिले सम्पादन भइरहेका कामका विषयमा जानकारी दिँदै चालु आर्थिक वर्षका लागि स्वीकृत योजना मध्ये १३१ वटाको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको जानकारी दिनुभयो । जसमध्ये १८ वटाको तयार भइसकेका छन् ।
आयोगले ‘वसन्तपुरदेखि ठमेल’ सम्मको क्षेत्रलाई समेटेर ‘सहरी सुधार योजना’ अघि बढाएको छ । यस अन्तर्गत ठमेलका मुख्य चोकहरू नर्सिङ चोक, जे.पी.चोक, क्वबहा डबली र थहितीको सौन्दर्य अभिवृद्धि गरिनेछ । एआई प्रविधिको प्रयोग गरी तयार पारिएको डिजाइन अनुसार सडकमा कलात्मक बुट्टाहरू, व्यवस्थित ढल र पर्यटकीय आकर्षण बढाइनेछ । योजनामा सडक बत्ती र पोल, ढुङ्गा र काठबाट बनेका सार्वजनिक कुर्सीहरु, फूल रोप्ने गमलाहरू र अपाङ्गतामैत्री डिजाइन समावेश छन् । ठमेल क्षेत्रमा बढ्दो पार्किङ समस्या समाधान गर्न २५० वटा सवारी साधन अटाउने पार्किङ स्थल पहिचान गरी अनलाइन बुकिङ योजना अगाडि बढाएको छ ।
सांस्कृतिक पहिचान जोगाउन आयोगले सङ्कटा मन्दिरको जीर्णोद्धार, श्रीगणेश र श्रीभैरव द्यःछें (वसन्तपुर) निर्माण, मणिसिंह महाविहार द्यःछेँ, वटु फल्चा जस्ता ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण र अभिलेखीकरण गरिरहेको छ । यस्तै स्वयम्भूदेखि डल्लु पुलसम्मका घरहरुको मोहडा ‘फसाड’ सुधार गरी पुरानै स्वरूपमा फर्काउने योजना अन्तर्गत पहिलो चरणमा ७० वटा घरहरुको नक्साङ्कनको काम भइरहेको छ ।
आयोगले महानगरपालिका भित्रका ८३ वटा सामुदायिक विद्यालयहरूमा फोहरमैला व्यवस्थापन र सरसफाइको ‘बेसलाइन सर्भे’ सम्पन्न गरेको छ । छात्राको स्वास्थ्यलाई ध्यानमा राखी ज्ञानोदय, जनकल्याण, र गीता माता लगायतका विद्यालयहरूमा सेनेटरी प्याड विसर्जन गर्ने मेसिन जडानको सूची तयार पारिएको छ । साथै, विद्यालयहरूमा जमिनमुनि पानी पुनःभरणका लागि ‘रिचार्ज पिट’ निर्माण गर्ने योजनालाई तीन चरणमा कार्यान्वयन गरिँदैछ ।
महानगरपालिकाको सेवालाई प्रविधिमैत्री बनाउन ‘जीआईएस’मा आधारित घरधुरी प्रोफाइल, एआईमा आधारित कल सेन्टर र एकीकृत ड्यासबोर्ड निर्माणको योजना कार्यान्वयन तयारी भइरहेको छ । परामर्शदाताले चलाइरहेका सफ्टवेयरहरूलाई महानगरको आफ्नै प्रणालीमा ‘माइग्रेसन’ गरिरहेको छ ।
महानगरभित्र हाल रहेका १५० वटा शौचालयहरूको अवस्था अध्ययन गरी प्रयोगविहीन अवस्थामा रहेकालाई ‘स्मार्ट ट्वाइलेट’मा रूपान्तरण गर्न सिफारिस गरिएको छ । यसैगरी, बीपी पार्कमा १८० जना क्षमताको ‘एम्पीथियटर’ (खुला प्रदर्शन स्थल), बालाजु बाइसधारा पार्कको पुनरुत्थान आयोगको प्राथमिकतामा रहेका छन् ।
आयोगले, बञ्चरेडाँडामा लिचेट प्रशोधन प्लान्ट डिजाइन गरिरहेको छ । वायु गुणस्तर व्यवस्थापन योजना, ‘एक वडा एक उत्पादन’ प्रवर्धनका लागि प्रदर्शनी तथा विक्री कक्ष निर्माण गर्ने, र महानगर अनुसन्धान फेलोसिप जस्ता कार्यक्रमहरू प्राथमिक योजनाका रुपमा अगाडि बढाएको छ ।
सहरी योजना आयोगका उपाध्यक्ष तथा विज्ञ सदस्यहरूले वैठकमा कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App