वि.सं.: २०८३, साउन २९ शुक्रबार
इ.स.: 2026 August 14, FRIDAY
वि.सं.: २०८३, साउन २९ शुक्रबार
होस्टललाई स्तरीकरण गरेर शुल्कसँग आवद्ध गर्नु : राम्रोलाई प्रोत्साहित गर्नुपर्छ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन भएका होस्टेलमध्ये अनुगमनबाट मापदण्ड अनुरुप सञ्चालनमा देखिएका १८३ वटा होस्टेललाई शिक्षा विभागबाट दर्ता गर्ने निर्णय भएको छ । बिहीबार कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा छलफल गर्दै, यसअघि अनुगमन गरिएका होस्टलहरुका हकमा शिक्षा विभागबाट र अनुगमन हुन बाँकी होस्टलका हकमा वडाबाट अनुगमन गरेर वडामै दर्ता गरिने निर्णय भएको छ ।
शिक्षा विभागले गएको वैशाख १४ गतेदेखि ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन गरेको थियो । मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित ३ सय पूर्णाङ्कमा सूचक राखेर अनुगमन गरिएको थियो । यसमा कम्तीमा १२० अङ्क प्राप्त गर्ने होस्टेललाई मात्र दर्ता प्रक्रियामा लगिनेछ । बाँकीलाई सुधारको मौका दिइनेछ । शिक्षा अधिकृतहरुको संयोजकत्वमा गठन भएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट, योजना तथा अनुगमन एकाइका प्रतिनिधि सदस्य हुनुहुन्थ्यो ।
बैठकमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले राम्रालाई प्रोत्साहन हुने र मध्यमलाई राम्रो गर्छु भन्ने वातावरण सिर्जना गर्नु पर्ने बताउँदै स्तरीकरण गर्दै शुल्कसँग जोड्न सकिने बताउनुभयो । ‘निश्चित मापदण्ड पूरा नगरी सञ्चालन अनुमति दिन सकिँदैन । किनभने, यो ठाउँ सुरक्षा, व्यवस्था र मानवीय गलत आचरणसँग जोडिन सक्ने विगत अनुभव छ । निश्चित मापदण्ड पूरा भएपछि त्यस माथिका होस्टललाई पनि स्तरीकरण गर्नुपर्छ ।’
बैठकमा छात्रावास (होस्टल) सञ्चालनलाई थप व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन र अनुगमन सूचकलाई थप सरल बनाउने विषयका छलफल भएको थियो । शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार, विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र सुविधालाई उच्च प्राथमिकतामा राखेर १० वटा विषयलाई अनिवार्य सर्तका रूपमा लागू गर्ने निर्णय भएको छ ।
न्यूनतम मापदण्डमा प्रत्येक १० जना विद्यार्थी बराबर कम्तिमा एउटा शौचालय हुनुपर्नेछ । एकै जना सञ्चालकले एकै ठाउँमा छात्र र छात्राका लागि होस्टल सञ्चालन गर्न पाउनेछैनन् । छुट्टाछुट्टै सञ्चालन गर्दा भवनहरूबिच कम्तिमा २ सय मिटरको दूरी कायम हुनुपर्नेछ । सुरक्षाका दृष्टिकोणले कोठा र शौचालयबाहेकका सार्वजनिक भागहरूमा सीसीटीभी जडान, अग्नि नियन्त्रण उपकरण र आपतकालीन बाहिर निस्कने ठाउँको प्रबन्धलाई अनिवार्य गरिएको छ ।
भान्सा र शौचालयको दूरी टाढा हुनुपर्ने, चौबीसै घण्टा पानी र बिजुलीको वैकल्पिक व्यवस्था हुनुपर्ने तथा कुनै पनि अवस्थामा बालश्रमिक राख्न नपाइने सर्तलाई अनिवार्य गरिएको छ । यसले होस्टलको वातावरणलाई थप सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।
होस्टल व्यवसायी संघ संस्थाका प्रतिनिधिहरुले दर्ता बिना सञ्चालन भएका होस्टेलका कारण दर्ता भएर सञ्चालन हुने होस्टेललाई अप्ठ्यारो बनाएको धारणा राख्नुभयो । दर्ता नहुने कसैप्रति पनि उत्तरदायी हुनुहुन्न । कतिपय ठाउँ त मादक पदार्थ खाने र लागू औषध दुव्र्यसनको अखडा भएको देखिन्छ । यसकारण राम्रो गर्छु भन्ने होस्टल पनि बदनाम भए । उहाँहरुले धारणा राख्दै भन्नुभयो, ‘जसले पनि र दर्ता नगरी पनि होस्टल सञ्चालन गर्न पाउनु पर्छ भन्नेमा हामी पनि छैनौँ ।’ यहाँहरुका अनुसार काठमाडौँ उपत्यकाभित्र १५ हजार भन्दा धेरै होस्टल सञ्चालित छन् ।
बैठकमा होस्टलभित्रका विकृति र सहरी व्यवस्थापनमा यसको प्रभावका विषयमा पनि छलफल भएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App