गुणस्तरहीन खाद्यबस्तु जफत र विक्रीमा रोक : आज कालीमाटी  क्षेत्रको अनुगमन 


काठमाडौँ । कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा धुन लागेका चामल चिउरालगायतका खाद्यबस्तु बरामद गरिएको छ । आज काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा/प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा / प्याकेट बरामद गरिएको हो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ ।

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरुमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङ्ग्रेन चामल छन् । त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।   

अनुगमनमा क्रममा ७ वटा पसलहरु हेरिएका थिए । यसमा खाद्य पसल, मिठाइ पसल हेरिएको थियो । यस क्रममा संगम स्वीटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो ।  

व्यापारीहरु उपभोक्ता अधिकारमा जिम्मेवार हुने र उपभोक्ताले बजारमा जुन अवस्थामा छ त्यही अवस्थाको सामान किन्ने होइन भन्ने हेक्का राख्नु पर्छ अनि मात्र बजार व्यवस्थापनमा सहज हुन्छ । अनुगमनका क्रममा समितिकी संयोजक एवं उपप्रमुख डंगोलले भन्नुभयो, ‘कतै थाहा नभएर त कतै लापर्वाही गरेर व्यापार गरेको देखियो । व्यापारी र उपभोक्ता दुवैलाई स्वच्छ बजार सम्बन्धी आधारभूत कानुनी ज्ञानको आवश्यकता देखियो ।’ 

स्वच्छ बजार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गर्नु पर्ने दायित्व र निकायगत समन्वयलाई प्राथमिकता दिएर काम गर्नेछ । उपप्रमुख डंगोलको भनाइ छ ।

बजारको अवस्थाका विषय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ डिभिजनका प्रमुख एवं अनुसन्धान अधिकृत डा. सन्तोष ढकाल भन्नुहुन्छ, ‘किराना पसलहरुमा व्यवस्थापन र सरसफाईमा धेरै समस्या छ । अनुगमनका क्रममा खाद्यबस्तुमा कमिला, कीरा र धुन लाग्ने समस्या धेरै पाएका छौँ । खाद्य अनुज्ञा पत्र नलिएका सामान बेच्नु नहुने कुराको ज्ञान नभएको र ज्ञान भएकाले पनि कार्यान्वयन नगरेको देखिएको छ ।’ 

वाणिज्य तथा आपूर्ति विभागका अधिकृत रामचन्द्र ढकाल भन्नुहुन्छ, ‘बजारमा हेर्नु पर्ने धेरै कुरा छन् । अहिले हामीले तयारी बस्तु हेरेका हौँ । यसको पूरा व्यवस्थापनका लागि उत्पादन क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ । यसमा काठमाडौँ महानगरपालिकालार्य गर्नु पर्ने विभागको सहयोग प्राप्त रहन्छ ।’

अनुगमनबाट व्यापारीलाई दिएको निर्देशन पालना भएको देखिँदैन । यसबाट सुधारका चिन्ह केही देखिएनन् । अनुगमनपछि उपभोक्ता उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पर्वलक्षित अनुगमनलाई अन्य समयमा निरन्तरता दिन सके थिति बस्ने सम्भावना देखाउनुभयो । 

स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौँ महानगरपालिकाले ‘काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । 

अनुगमनमा महानगरको अनुगमन तथा मुल्याङ्कन एकाई, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरुको सहभागिता थियो ।  

आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्रि नं. मा सम्पर्क गर्नोस्

महानगरका टोल फ्रि नंम्बरहरु १६६००१ ०५५११ र ११८० हुन् । यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो ।  

सम्बन्धित समाचार

Facebook Comments