कक्षा १० का विद्यार्थी भन्छन् - छुटेका अवसर ११ र १२ कक्षामा पूरा गर्छौँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले भनेका छन्, ‘पढाइसँगै खेलमा केही गर्न सकिनेमा आत्मविश्वाश बढ्न थाल्यो । कक्षा १० भएकाले अभ्यास गर्ने अवसर कम छ । यो अवसर कक्षा ११ र १२ मा पूरा गर्नेछौँ ।’ राष्ट्रिय अन्तरराष्ट्रिय खेलका प्रतिस्पर्धामा टेलिभिजनका स्क्रिनमा देखेका, पत्रपत्रिकामा समाचारमा पढिएका प्रशिक्षक र खेलाडीहरु आफूलाई खेलमा प्रोत्साहन गर्न, खेल र शिक्षाको सम्बन्ध बुझाउन, खेलका फाइदा देखाउन र खेल्ने सिप सिकाउन आफ्नै खेल मैदानमा आएपछिको अवसरबाट लोभिँदै विद्यार्थीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा दशैँ तिहार विच छुट्टीको समयमा कक्षा १० का विद्यार्थीहरुको नतिजा सुधारका लागि सिकाइमा प्रोत्साहन गर्न विविध कार्यक्रम गरिरहेको छ । यसमध्ये खेल विधा एउटा हो ।
आज विद्यालयहरुमा खेलका राष्ट्रिय प्रशिक्षक र खेलाडीहरु गएर विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभयो । यस्तै सम्बन्धित खेलका आधारभूत विषयमा सिप प्रदान गर्नुभयो ।
यस क्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन एवं नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा र डल्लुमा रहेको गीतामाता विद्यालयमा गएर विद्यार्थीहरुलाई खेलसँगै अध्ययनका लागि प्रोत्साहन गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई भन्नुभयो, ‘खेलबाट समूहगत कार्यको राम्रो अभ्यास गर्न पाइन्छ । तनाव व्यवस्थापन कसरी गर्ने भन्ने खेल क्षेत्रबाट सिक्न सकिन्छ । शैक्षिक उपलब्धि हासिल गर्न खेलको यो पक्ष विद्यार्थीमा जरुरी छ ।’ गीतामाता स्कूलमा उहाँसँगै नेपाली महिला क्रिकेट टिमकी क्याप्टेन इन्दु वर्मा पनि जानु भएको थियो ।
महेन्द्र माध्यमिक विद्यालय बौद्धमा प्रशिक्षका लागि जानुभएका क्रिकेटका राष्ट्रिय खेलाडी खुशी डंगोलले, विद्यालयहरुमा क्रिकेट प्रशिक्षणका लागि पूर्वाधार बनाएर ८ या ९ वर्ष उमेर समूहदेखि प्रशिक्षण गराउन थाल्ने हो भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा खेल्न सक्ने खेलाडी उत्पादन हुने बताउनुभयो ।
आज विभिन्न विद्यालयहरुमा भलिबल, क्रिकेट, कराँते, फुटबल, टेवुल टेनिस, बास्केटबल खेल खेलाइएका छन् । भलिबलमा द इन्टरनेशनल भलिवल फेडेरेसनका प्रशिक्षकहरु रुकेश शाही, सुरेनसिंह ठकुरी, राजन तामाङ्, सन्तोष सुनुवार, शान्ति गुरुङ्सहित राष्ट्रिय खेलाडीहरु सुदर्शन जमरकट्टेल, विवेक घिमिरे र जयन्ती जोशीले प्रशिक्षण गराउनु भएको छ ।
फेस्टिभल क्याम्पमा क्रिकेट सिकाउन महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा राष्ट्रिय खेलाडी खुशी डंगोलको पहिलो कक्षा लिएपछि विद्यार्थीहरुले अनुभूति राख्दै सुनाए, ‘तल्लो तहका भाइबहिनीहरुका लागि राम्रो अवसर आएका छन् । पहिले त पढे पढ । नपढे पनि पढ । भनेजस्तै हुन्थ्यो । अब त पढ पनि अरु क्षेत्रका सिप र ज्ञान पनि सिक भन्ने वातावरण बनेको छ ।’
क्याम्पका कक्षाअन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुन्छन् । यी कक्षाहरु अन्तरक्रियात्मक, क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित छन् । ३ बजेपछि कम्तीमा १ घण्टा इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
तस्विर : अमृत पाण्डे