वि.सं.: २०८३, असोज ९ शुक्रबार
इ.स.: 2026 September 25, FRIDAY
वि.सं.: २०८३, असोज ९ शुक्रबार
विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट येँया (इन्द्रजात्रा) अवलोकन
काठमाडौँ । येँया (इन्द्रजात्रा) का धार्मिक, सांस्कतिक तथा सामाजिक क्रियाकलापमध्ये जीवित देवीदेवताको रथयात्रा आजबाट सुरु भएको छ । बसन्तपुर कुमारी घर अगाडिबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गरेर यात्रा सुरु गरिएको हो । जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित विशिष्ट पदाधिकारी वसन्तपुर पुग्नुभएको थियो । यस्तै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सभामुख डोलप्रसाद (डिपी) अर्याल, उपसभामुख रुबीकुमारी ठाकुर, गृहमन्त्री सुदन गुरुङ्, उर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शोविता गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) सहित पदाधिकारी वसन्तपुर पुग्नुभएको थियो ।
जात्रामा सहभागी सबै महिला मन्त्रीहरुले हाकुपटासी लगाउनुभएको थियो ।
उहाँहरुलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि र विभागीय प्रमुखहरुले जुद्ध शालिक अगाडि स्वागत गर्नुभएको थियो । स्वागत गरेपछि उहाँहरु हिँडेर गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
उहाँहरुलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि र विभागीय प्रमुखहरुले जुद्ध शालिक अगाडि स्वागत गर्नुभएको थियो । स्वागत गरेपछि उहाँहरु हिँडेर गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट येँया (इन्द्रजात्रा) अवलोकन गर्नुभएको थियो ।
जात्रा अवलोकनका लागि महानगरपालिकाले उपत्यकाका स्थानीय तहबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आमन्त्रण गरिएको थियो । उहाँहरुसहित कुटनीतिक क्षेत्रका पदाधिकारी, आमन्त्रित पाहुना, महानगरपालिकाका नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरुलाई माजु देगः मा राखेर जात्रा अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो ।
यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितियाका दिन मानन्धर समुदायका गुठियारहरु यःसिं लिन बन प्रस्थान गरेका थिए । त्यसै दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन भएको थियो । यसिंलाई २९ गते भोटाहिटी ल्याइयो । आश्विन ३ गते (ञलाथ्व कायाअष्टमी) का दिन विहान ८ बजेर ५ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइयो । यसैदिनदेखि किलाघःमा दिःप्याखं (देवी नाच) सुरु भयो ।
एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए । असोज ७ गते विहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) गरिएको थियो ।
त्यस दिन नेवार समुदायका मानिसहरुले दिवंगतहरुको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाएका थिए । यसै दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याइएको थियो । त्यसपछि तलेजु भवानी मन्दिरको मुल द्वारमा लगेर लसकुस (स्वागत) गरेर निम्तो दिइएको थियो । एकादशीका दिन सरकारतर्फबाट श्री गणेश र श्री भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो ।
आज रथयात्राको पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइँदैछ ।
रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ । दाँगीलाई इन्द्र देवताकी आमाका रूपमा मानिने गरिएको छ । वर्षभरिमा दिवंगत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको
नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ । नागार्जुन नगरपालिकाको इन्द्र सरोवरमा दाँगी जाने श्रद्धालुहरुका लागि यस वर्षदेखि महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालन गर्दैछ । यो सेवा परोपकार पुलबाट सुरु हुनेछ ।
भोलि माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।
आश्विन १३ गते मंगलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदँै नगर परिक्रमा गराउने चलन छ । इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीहरूको सहभागिताले निरन्तरता पाउँदै आएको छ । वितेका १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ ।
यस दिन राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा रहेको छ ।
नानीचाया रथयात्राका लागि भने वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलागः, भेडासी, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ ।
रथयात्रा हुने मार्गमा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछन् । रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरव पनि सहभागी हुने परम्परा रहेको छ ।
देवी नाच, महाकाली नाच, दश अवतार प्रदर्शन जात्राका महत्वपूर्ण क्रियाकलाप हुन् ।
जात्रालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएका छन् । जात्रा व्यवस्थापन, सुरक्षा, स्वयंसेवा तथा अन्य व्यवस्थापनमा स्थानीय समुदाय र क्लब–संस्थाको समेत भूमिका रहनेछ ।
इन्द्रजात्राका क्रममा हनुमानढोकाको श्री श्वेत भैरवको मुखबाट श्रीको प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि रहिआएको छ । त्यस्तै, जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन् ।






तस्विर : प्रदीपराज वन्त
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App