वि.सं.: २०८३, असोज १२ सोमबार
इ.स.: 2026 September 28,MONDAY
वि.सं.: २०८३, असोज १२ सोमबार
असोज ८ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखको प्रमुख संयोजकत्वमा मूल समारोह समिति र कार्यान्वयन समितिसँगै १३ वटा उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय स्थापना भएको छ । महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काम गर्ने, सरोकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ ।

‘नेपाल मण्डलमा सम्यक महादान २ प्रकारले गर्ने गरिेको पाइन्छ । एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ । यसलाई ऐच्छिक सम्यक् भनियो । अर्को गुठीबाट गर्ने गरिएको सम्यक् हो । जसलाई गुठी सम्यक् भनियो । काठमाडौँमा गुठी सम्यक् ३ भिन्नाभिन्नै खलकले हरेक ४ वर्षमा समूहले गर्ने गर्थे । पछि यी ३ वटै समूह मिलेर हरेक १२ वर्षमा १ चोटी गर्दै आएका थिए ।’ समितिका संयोजक नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्य भन्नुहुन्छ, ‘गुठी सम्यक् नभएको २२ वर्ष भयो । ऐच्छिक सम्यक् नभएको २५ वर्ष भयो । यी दुवै सम्यक् लामो समयसम्म नभएकोले महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत यस वर्षको सम्यक् आयोजना गर्न लागेको हो ।’
यो सम्यक् सञ्चालन तथा व्यवस्थापन लगायतका कामका नीतिगत काम गर्न असोज ८ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ, काठमाडौँका अध्यक्ष शुभकाजी शाक्य, उराय् समाज, काठमाडौँका सदस्य डा. सुमनकमल तुलाधर सहसंयोजक हुनुहुन्छ । मूलश्री महाविहार काठमाडौँका समज्वल बज्राचार्य मूल समारोह समितिका सदस्य सचिव हुनुहुन्छ ।
कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ । समितिको उपाध्यक्षमा प्रा. डा. नरेशमान बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरुमा ईश्वरमान डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेशकुमार श्रेष्ठ, राजेन्द्र मानन्धर, मचाराजा महर्जन, विनोद कुमार राजभण्डारी, राजेश डंगोल, योगेश खड्गी हुनुहुन्छ । यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, महानगरपालिकाका प्रशासन विभाग, वित्त विभाग, स्वास्थ्य विभाग, वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलका प्रमुख सदस्य हुनुहुन्छ । समितिमा शाक्य महाविहार संघ काठमाडौँका अध्यक्ष शाक्य, उराय् समाज काठमाडौँका सदस्य डा. तुलाधर, मूलश्री महाविहारबाट बज्राचार्य, मञ्जुश्रीरत्न बज्राचार्य, संघरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य सदस्य हुनुहुन्छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने यस समितिमा प्रमुखले ९ जना सदस्य तोक्नुहुनेछ ।
कार्यान्वयन समिति मातहतमा रहेर क्षेत्रगत काम गर्नका लागि १३ वटा उपसमिति गठन भएका छन् । यसमा मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा पुजा, दान, दाता उपसमिति गठन भएको छ । संघरत्न शाक्यको संयोजकत्वमा देवता निमन्त्रण उपसमिति, डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा अभिलेखीकरण तथा प्रकाशन उपसमिति गठन भएको छ ।
अन्य उपसमितिहरुमा सम्यक् भोजन व्यवस्थापन उपसमिति, स्थान व्यवस्थापन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, यातायात तथा ढुवानी उपसमिति, सांस्कृतिक उपसमिति, स्वास्थ्य उपसमिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, सुरक्षा उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति छन् । यी उपसमितिका संयोजकहरु तोक्न बाँकी छ ।
मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । महादान २०६१ साल पछि काठमाडौँमा मनाउन सकिएको छैन ।
बौद्धहरुले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रुपमा समावेश हुन्छ । नेपालमा दान अभ्यासका लागि नियमित बार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महा सम्यक् दानहरु पर्व कै रुपमा मनाइँदै आएका छन् । साथै यी दानहरु नीजि तजविजमा ऐच्छिक रुपमा समर्थवान् श्रद्धालु व्यक्तिहरुले आयोजना गर्ने गरेको विगत अभ्यास हो ।
यी विभिन्न प्रकारका दान चर्याहरु मध्ये ‘सम्यक् महादान’ सबभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध (देवमूर्तिहरु) लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरहरुका देव, देवीहरुलाई निमन्त्रणा गरी विराजमान गराउनु पर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दान दक्षिणा चढाउनु पर्ने, राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नु पर्ने, साथै आएजति संघ अर्थात् नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु, चैलक भिक्षुहरु सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी बस्तुहरु पूर्ण तयारीका साथ दान अर्पण गर्नु पर्छ ।
यो परम्परालाई निरन्तरता दिन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौँ उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको सम्यक् महादान जस्तो मानवीय, करुणामयी र व्यापक जनएकता गराउने सम्यक् महादान सञ्चालन गर्ने कार्यक्रम पारित गरेको छ । यसले काठमाडौँ महानगरवासी र उपत्यकाका अन्य बौद्धमार्गी नेवार समुदायलाई एकीकृत र सामुहिक कल्याणकारी कार्यमा सहभागिता मात्र गराउँदैन, मानव जाती र समग्र चराचर जगतको कल्याणको कामना गर्ने पवित्र भावनालाई समेत संस्थागत गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App